८ वैशाख २०८१ शनिबार
अर्थ

चिनियाँ स्याउ आयात घट्यो

रसुवा -  रसुवागढी नाकाबाट पछिल्लो समय चिनियाँ स्याउको आयात घटेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो। नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै जाँदा चीनबाट स्याउ आयात भने बढ्दै गएको छ।

भूकम्पपछि रसुवागढी नाका मात्र सञ्चालन हुँदा सबै आयात यहीबाट हुँदै आएको थियो। अहिले तातोपानीबाट पनि सामान आयात तथा निर्यात हुन थालेपछि रसुवागढीमा आयात तथा निर्यातमा केही कमि आएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा करिब ९० करोड मूल्य बराबरको स्याउ आयात भएको छ। गत साउनदेखि पुस मसान्तसम्म ८९ करोड ८९ लाख ७० हजार २ सय ६ मूल्य बराबरको स्याउ आयात भएको हो। यो अवधिमा १ करोड ३३ लाख ६४ हजार ९ सय ६५ केजी स्याउ आएको कार्यालयको तथ्यांक छ। स्याउ आयातबाट ६ महिनामा ८ करोड ९५ लाख २६ हजार ७ सय ७४ रुपयाँ राजस्व संकलन भएको छ। यो उठेको कुल राजस्वको १.२१ प्रतिशत हो।

कार्यालयले ६ महिनामा ७ अर्ब ३३ करोड ८९ लाख २९ हजार राजस्व उठाएको छ। नाकाबाट आयात हुने प्रमुख पाँच वस्तुभित्र स्याउ पर्छ। स्याउमा कृषि सुधार शुल्क ५ प्रतिशत मात्र लाग्ने भएकाले कम राजस्व उठ्ने कार्यालयले जनाएको छ। आमाको मुख हेर्ने दिन, दसैं, तिहार र छठजस्ता चाडपर्वमा स्याउ आयातमा वृद्धि हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ८९ लाख ९६ हजार ९ सय २३ केजी स्याउ आयात भएको थियो।

त्यसैगरी गत आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ३० करोड ५ लाख ८७ हजार ५५६ मूल्य बराबरको स्याउ आयात भएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०७४/७५ को तुलनामा गत वर्ष ८३ लाख ८३ हजार ५ सय ७ केजी कम स्याउ आयात भएको थियो। नेपालमा चीन, भारत, इटाली, थाइल्यान्ड र यूएसबाट स्याउ आयात हुने गरेको छ । सबैभन्दा धेरै स्याउ चीनबाट आयात हुने गरेको छ । यो नाकाबाट स्याउका साथै नास्पाती पनि आउने गरेको छ। यो नाकाबाट तयारी कपडा, स्याउ, जुत्ता/चप्पल, चस्मा/चस्मा फ्रेम र झोला/फाइल व्याग बढी मात्रामा आयात हुने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०७६ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App