८ वैशाख २०८१ शनिबार
कला

नेपाल र कोरियाका चित्रकारले समसामयिक कला प्रदर्शन गर्दै

काठमाडौं – बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले संयुक्त कला प्रदर्शनी भइरहेका छन्। गत शनिबारदेखि सुरु भएको ‘नमस्ते नेपाल काठमाडौं समसामयिक कला’ शिर्षकको प्रदर्शनीमा १४ नेपाली र २१ कोरियाली कलाकारको सहभागीता रहेको छ। प्रदर्शनीको आयोजना कोरियामा बस्दै आएका नेपाली चित्रकार बरुण पोखरेलले गरेका हुन्।

उनले सन् २०१८ मा पनि नेपाल र कोरियाका कला प्रदर्शनीको आयोजना गरेका थिए। देशको विकास, उन्नति र विकाशिल समाजको परिवेशलाई झल्काउने चित्रहरू कोरियाली चित्रकारले प्रस्तुत गर्दै आएका छन्। नेपालको समसामयिक अवस्थालाई नेपाली चित्रकारले प्रस्तुत गरिरहेका छन्। जहाँ कोरियाली कलामा नेपाली सोच र संस्कृतिकै हिसावमा पनि धेरै भिन्नता देखिन्छको प्रत्यक्षदर्शीको भनाइ छ। कोरियाली चित्रकारले चित्रसँगै प्रिन्ट र प्रतिस्थापन कलालाई पनि विशेष महत्व दिएका छन्, भने नेपाली चित्रकारले क्यानभासमा गरिने चित्रलाई मात्रै प्राथमिकता दिएको पाइएको छ।

नेपाली चित्रकार पकबहादुर थापाका दुई वटा चित्रकला प्रदर्शनीमा रहेका छन्। उनले आफ्नो कलामा जिर्ण बन्दै गरेको मन्दिरमा एउटी बुढी आमाको आकृति बनाएका छन्। हाम्रा सम्पदाको संरक्षण गर्न नसक्दा सम्पदाहरू लोप हुँदै गइरहेको उनको कलाले देखाएको छ।। ‘हाम्रा मठ मन्दिरहरू जीर्ण भए जस्तै भगवानप्रतिको विश्वास र आस्था अहिलेको नयाँ पुस्तामा देखिदैन, आस्थाको पनि लोप हुँदै गएको छ,’ चित्रकार थापा भन्छन्, ‘पुराना पुस्तामा भएको संस्कृति, परम्परा र भगवानप्रतिको आस्था नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।’ संरक्षणको अभावका कारण भगवानका मूर्ति पनि बिग्रीँदै गएको विषयलाई उनले देवीको आकृतिमार्फत उठाएको बताउँछन्।

अर्का चित्रकार बिक्कुकुमार थापाले नेपालमा बढ्दै गएको वातावरण विनाशको विषयलाई आफ्ना चित्रमार्फत उठान गरेका छन्। ‘सेभिङ अर्थु शिर्षकको चित्रमा उनले बढ्दै गएको सहरीकरणका कारण रूख विरुवा काटिएको दृश्यलाई कलात्मक रूपले प्रस्तुत गरेका छन्। वृद्धा अवस्थामा पुगेका व्यक्तिको आँखामा उनले सिंगो पृथ्वीको नक्सा देखाएका छन्।

त्यस्तै अर्का चित्रमा उनले वनजगंल विनाशले वातावरणीय पशुपन्छिलाई परेको असरलाई चराको आकृतिमार्फत देखाएका छन्। चित्रकार जिवनराज उपाध्यायले दुई वटा अमूर्त चित्रहरू प्रदर्शनीमा राखेका छन्। त्यस्तै आयोजक पोखरेलका चित्रकला पनि प्रदर्शनीमा राखिएका छन्। चित्रकार केके कर्माचार्यको अमूर्त कला र आशा डङ्गोलको भूकम्पसँग सम्बन्धित चित्रहरू प्रदर्शनीमा समेटिएका छन्।

कोरियाली चित्रकार शिन सो ह्विनले रंगीन कुखुराको भालेलाई आफ्नो कलामा समेटेका छन्। त्यस्तै चित्रकार ले ह्वाङ छे, चोइ योङ सन उम योङ, ले सङ वोन, ह्वान ले र याङ ह्वा सनका प्रतिस्थापन कलालाई प्रदर्शनीमा राखिएको छ। आगामी बिहीबारसम्म चित्र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २१ माघ २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App