८ वैशाख २०८१ शनिबार
खेल

सेनाका बक्सरले लगे ५ स्वर्ण

भद्रपुर- झापाको चन्द्रगढीस्थित मेची रंगशालामा भइरहेको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा बुधबार त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण पदक जितेको छ। ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरीको एपिएफ क्लबले आर्मीलाई पछ्याइरहँदा मध्यमाञ्चलले १ स्वर्ण हात पारेको छ।

महिला लाइट फ्लाइवेट ४६–४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले एपिएफकी दिवाना शेर्मालाई अंकका आधारमा पराजित गर्दै बक्सिङको पहिलो स्वर्ण पदक जितिन्। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ललिताले आफ्नो उत्कृष्ट लय कायम राख्दै स्वर्ण पदक जितेकी हुन्। महिलाकै फ्लाइवेट ४८–५१ केजी तौल समूहमा एपिएफकी माला राईले स्वर्ण पदक जितिन्। उनले आर्मीकी गीता थापामगरलाई अंकका आधारमा पराजित गरिन्।

महिलाकै बेन्टम ५१–५४ केजी तौल समूहमा सेनाकी विमला श्रेष्ठले स्वर्ण जितिन्। उनले सशस्त्रकी प्रमिला पाण्डेलाई अंकका आधारमा पराजित गरेकी हुन्। महिला फेदरवेट ५४–५७ केजी तौल समूहमा सेनाकी निरु गुरुङले स्वर्ण जितिन्। उनले एपिएफकी माया चौधरीलाई अंकका आधारमा हराएकी हुन्। महिला लाइटवेट ५७–६० केजी तौल समूहमा एपिएफकी सरस्वती रानामगरले सेनाकी सोनम राईलाई पराजित गर्दै स्वर्ण पदक जितिन्।

पुरुष लाइट फ्लाइवेट ४९ केजीभन्दा माथिको तौल समूहमा मध्यमाञ्चलका सुशील थापाले स्वर्णपदक जिते। उनले आर्मीका सुभाष विकलाई पराजित गरेका हुन्। पुरुषकै ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपिएफका विक्रम परियारलाई हराउँदै स्वर्ण पदक जिते। 

पुरुषकै ५६ केजी तौल समूहमा एपिएफका पुरन राईले आर्मीका विमल रोकालाई पराजित गर्दै स्वर्ण जिते। पुरुष लाइटवेट ६० केजी तौल समूहमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले स्वर्ण पदक जिते। एपिएफका दिनेश चन्द घाइते भएर खेल त्यागेपछि श्रेष्ठले वाकओभर पाएका थिए। पुरुषकै लाइट वेल्टर ६४ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठले नेपाल प्रहरीका भूपेन्द्र थापालाई हराएर स्वर्ण जिते।

प्रकाशित: १४ पुस २०७३ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App