८ वैशाख २०८१ शनिबार
समाज

रेल गुडाउन भारतबाट कर्मचारी ल्याइदै

काठमाडाैं – जनकपुरमा रेल गुडाउन रेलका चालक, सहसचालकसहित २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याइने भएको छ। यसका लागि भर्ना प्रक्रिया अघि बढाइएको रेल्वे विभागले जनाएको छ। विभागले दुई/तीन महिनाभित्रै जनकपुर–जयनगर रुटमा रेल गुडाउने तयारी गरेको छ। रेल गुडाउन २ सय २६ जना कर्मचारी आवश्यक पर्ने र ती मध्ये २६ जना भारतबाट ल्याइने छ। बाँकी २ सयजना नेपाली नागरिकाबाटै कर्मचारी भर्ना गरिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।

मिश्रका अनुसार रेल गुडाउन अनुभवी र दक्ष प्राविधिक कर्मचारी चाहिने भएकोले चालक, सहसचालकसहित केही कर्मचारी भारतबाट ल्याउन लागिएको हो। ‘नेपालमा दक्ष कर्मचारी उत्पादन भएमा भारतबाट ल्याएका कर्मचारी विस्थापित गरने छ र त्यसको ठाउँमा नेपाली कर्मचारी राखिने छ,’ मिश्रले भने।

विभागका केही कर्मचारी प्राविधिक अध्ययनका लागि केही दिनदेखि जनकपुरमा छन्। उनीहरूका अनुसार दुई/तीन महिनाभित्र सबै तयारी पूरा हुन्छ। जनकपुरमा रेल गुडाउन सबै तयारी पूरा भएपछि भारतबाट रेल ल्याइने विभागका कर्मचारीले जानकारी दिएका छन्।

विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोन कोन रेलबे कर्पोसेसनसँग गत वर्ष सम्झौता गरेको हो। ८५ करोडमध्ये करिब १७ करोड रुपैयाँ विभागले भुक्तानी गरीसकेको छ भने बाँकी भुक्तानी दुईवटा रेल आएपछि गरिने विभागले जनाएको छ।

सरकाले रेल्वेसम्बन्धी विधेयक राष्ट्रिय सभामा ल्याएको छ। उक्त विधेयकमा रेलका चालक, सहचालक तथा अन्य कर्मचारीको योग्यतासम्बन्धी व्याख्या गरिएको छ। विधेयकमा रेलमा चढ्न यात्रुहरूले अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। टिकट नलिइ रेलमा चढ्ने यात्रुहरूमाथि सजायको व्यवस्था विधेयकमा गरिएको छ।

विभागका अनुसार जनकपुर–जयनगर रुुटमा गुड्ने दुई वटा रेलमध्ये एउटा रेल भारतमा तयार भइसकेको छ। त्यसलाई जनकपुरमा ल्याउन मात्र बाँकी रहेको विभागका कर्मचारीहरूले जनाएका छन्। विभागका अनुसार एउटा रेलमा करिब एक हजार २ सय मान्छे अटाउने छन्। ती दुई वटै रेलमा डिब्बा हुने छन् र नेपालको झन्डा अकिंत हुने छ। जयनगर–जनकपुर रुटमध्ये करिब ३ किमि भारततर्फ पर्छ भने बाँकी ३२ किमि नेपालतर्फ छ।

जयनगर–जनकपुर रूटमा रेल सञ्चालनमा आएपछि त्यसको करिब ६ महिनामै सो रूटमा अरू १७ किमि बढाउने तयारी भएको विभागले जनाएको छ। १७ किमि दूरी थपिएपछि जयनगरबाट आउने रेल महोत्तरीको विजरापूरसम्म पुग्ने विभागका कर्मचारीको भनाइ छ। यसपछि उक्त रेल ७० किलोमटिर वर बर्दिबासम्म ल्याइने तयारी विभागको छ।

यसअघि जनकपुर–जयनगर रूटमा कोइलाबाट चल्ने रेल सञ्चालन हुने गरेको थियो। उक्त रेल २०७० देखि पूर्णरूपमा बन्द छ। विभागले पूर्व–पश्चिम (मेची –महाकाली) ९ सय ४५ किमि (लिंकसहित १ हजार ४७ किमि) दूरीमा रेल सञ्चालन गर्ने योजना बनाएको छ। सो रूटअन्तर्गत जयनगर, जनकपुर बर्दिवास रूट पर्छ। विभागका अनुसार १ किमि रेल चलाउन करिब ९० करोड रुपैयाँ खर्च हुन्छ। यसमा जग्गा अधिग्रण्का लागि दिइने मुआब्जमा समेत जोडिने छ।

विभागले २० वर्षभित्र नेपालको ३ हजार किमि दूरीमा रेल गुडाउने योजना बनाएको छ। यसका लागि करिब ३० खर्ब रुपैयाँ खर्च हुने विभागका कर्मचारी बताउँछन्।

प्रकाशित: २१ माघ २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App