coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पपीडितको राहत सामग्री क्षेत्रीय गोदाममै कुहियो

इटहरी– भूकम्पपीडितका लागि दाताबाट प्राप्त राहत सामग्री समयमै वितरण गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सुनसरी इनरुवाको गोदाममा राखेको खाद्य सामग्री कुहिएर काम नलाग्ने भएको छ। उच्च प्रविधियुक्त गोदाम नहुँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काट्न थालेको छ।

भूकम्प गएको १४ महिना बितिसकेको छ। कतिपय स्थानका भूकम्पपीडित अहिले पनि राहतको पर्खाइमा छन्। भूकम्पपीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेको राहत सामग्रीमध्ये ९३ कार्टुन बिस्कुट, २३ बोरा भुजा, २१९ कार्टुन चाउचाउ, २ बोरा चामल, तीन कार्टुन फ्रुटी, एक कार्टुन तेललगायतका खाद्य सामग्री काम नलाग्ने भएका छन्। सबै प्रकारका खाद्यन्न्न  सामान कुहिन थालेको छ।

‘खाद्य सामग्री प्रायः कुनै पनि काम लाग्ने छैन,’ क्षेत्रीय गोदाम घरको रेखदेख गर्न खटिएका कर्मचारी दिव्यराज ढकालले भने। नागरिकलाई प्राप्त कागजातअनुसार गोदाममै सामान थन्किँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काटेको छ। भूकम्पपीडितका लागि दाताले सहयोग गरेका ४९ हजार ८ सय थान त्रिपाल मुसाले काट्न थालेको  छ। यस्तै, एक बोरा कपडा, चारवटा गुन्द्री, कम्बललगायतका सामान मुसाले काटेको छ।

भूकम्पपीडितका लागि पूर्वाञ्चलका विभिन्न स्थानबाट दाताले सहयोग गरेका कम्बल, मेडिसिन, सेनिटरी, सोलार चिम, चाइनिज टेण्टलगायतका सामान क्षेत्रीय गोदाम घरमा राखिएका छन् । यी सामान भूकम्पपछिको प्राकृतिक विपत्तीको बेलामा समेत नबाँड्दा बढी क्षती पुगेको हो।

‘भूकम्पलगतै पूर्वी पहाडी जिल्लामा तत्काल राहत सामग्री पठायौं, पहाडी जिल्ला पठाएर बाँकी रहेको सामान आवश्यकता भए अनुसार पठाउने भनेर दाताले सहयोग गरेका सामान गोदाममै राख्यौं तर पछि काँहीबाट पनि माग नहुँदा त्यतिकै गोदाममै थन्कियो,’ पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक कमल विष्टले नागरिकसँग टेलिफोनमा भने। उनका अनुसार भूकम्पपीडितका लागि संकलित राहत सामग्री पहाडी जिल्लामा पठाएर बाँकी रहेका सामान कुनै पनि प्राकृतिक विपत्तीमा काम लाग्ने भनेर राखिए पनि त्यसपछि पूर्वमा ठूलो विपत्ती नभएकाले गर्दा पनि गोदामै थन्किएको हो।

गोदाम घरमा पूर्वाञ्चलका १६ वटै जिल्लाका दाताले सहयोग गरेका सामानसँगै जिल्ला दैवी प्रकोप समिति सुनसरीको समेत सामान गोदाम घरमा थन्क्याएर राखिएको छ। जिल्ला दैवी प्रकोप उद्दार समिति सुनसरीको स्वामित्वमा रहेका सामान भने गोदाममा थन्क्याउँदा कम बिग्रिएको जानकारी दिइएको छ।

प्रकाशित: १९ असार २०७३ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App