८ वैशाख २०८१ शनिबार
अर्थ

‘सफलताको कडी मेहनत’

पोखरा - नेपालका सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्व मिस नेपालहरुको संयोजनमा भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन्। जागिरे मानसिकताले माथि पुग्न नसकिने बताउँदै एउटै स्वरमा भने,‘जागिर खोज्ने भन्दापनि जागिर दिन्छु भन्ने मानसिकता नबनाएसम्म स्वरोजगार बन्न सकिदैन र माथि उठ्नपनि सकिदैन।’

नेतृत्व, नविनतम् सोंच र व्यवसायबारे हुने छलफलमा पोखरा विश्वविद्यालयका पूर्वडिन प्राध्यापक डाक्टर दीपक भण्डारी, युवा तथा खेलकुद मन्त्रलयका सहसचिव महेन्द्र पौेडेल, युजि केककी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्य र महिला उद्यमी मिलन थापा सहभागी हुँदै आ–आफ्ना अनुभव सुनाए।

कार्यक्रममा युजी केककी संचालिका निकिता आचार्यले एकैपटक ठूलो व्यवसाय गर्दामात्रै सफल भइन्छ भन्ने मानसिकता त्याग्न आग्रह गरिन्। कार्यक्रम संचालिका पूर्वमिस नेपाल माल्भिका सुब्बाले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्,‘दश वर्षको उमेरमा मैले साथीसँग मिलेर जम्मा २० हजारको लगानीमा व्यवसाय सुरु गरेको हो, पछि त्यसमा थप्दै गएर अहिलेको अवस्थामा आइपुगेको हो।’ अनलाइनबाट केक बेच्न सकिन्छ र ? भन्ने आशंका गर्ने समयमा शुरु गरेको केक ब्यबसाय अहिले फैलिएर ठूलो बनेको उनको भनाई थियो।

पोखरा विश्वविद्यालयका पूर्वडिन प्राध्यापक डाक्टर दीपक भण्डारीले सरकारको नीतिका कारण युवाहरु व्यवसायमा लाग्न नसकिरहेको बताए। वैंकबाट ऋण लिएर व्यवसाय गर्दा पछि वैंकले आफूखुशी ब्याज बढाउने गरेको र सोका कारण व्यवसायी त्रसित अवस्थामा पुग्दा व्यवसायमा युवाहरु आउन डराइरहेको उनको भनाई थियो। व्यवसाय गर्दा दक्ष जनशक्ति चाहिने भन्दै उनले त्यसतर्फ ध्यान पु¥याउनुपर्ने बताए।

महिला उद्यमी हिमालय अटो वल्र्डकी संचालिका मिलन थापाले व्यवसाय गर्दा सेवा पहिलो शर्त हुनुपर्ने बताइन्। ग्राहकसँग हँसिलो, मिजासिलो भएर गुणस्तरिय सेवा दिएमात्रै सफलता हात लाग्ने उनको भनाई थियो।

युवा तथा खेलकुद मन्त्रलयका सहसचिव महेन्द्र पौेडेलले नेपाल सरकारले युवाहरुलाई सहुलियत दरमा कर्जा दिनको लागि सहुलियत कर्जासम्बन्धि एकिकृत कार्यविधि बनाएको बताए। व्यावसायिक कृषिको लागि ५ करोडसम्म कर्जाको व्यवस्था गरिएको उनले जानकारी गराए। उनका अनुसार त्यस्तो कर्जाको ५० प्रतिशत ब्याज पनि सरकारले नै ब्यहोर्नेछ।

युवा व्यवसायी वैभव पौडेलले आफ्नो काम आफैले गर्न हिच्किचाउन नहुने बताए। पोखरा लेकसाइडमा ब्यञ्जन रेष्टुरेण्ट खोलेका उनले भने,‘‘ब्यञ्जन खोलेपछि म आफै त्यहाँ प्लेट उठाउने र भुईँ पुच्छने काम गर्थेँ’, त्यो देखेर कामदारहरु पनि अचम्म मान्थे।’ उनले त्यसो गर्नुमा बरोजगार भएर नभई ग्राहकको विश्वास जित्नका लागि भएको बताए। वैभवले नेपालमा अवसर नै अवसर भएको तर सो अवसरलाई हेर्ने आँखा नहुँदा मानिसहरु रुमल्लिरहेको टिप्पणी गरे। उनले वैंकहरुले युवाहरुलाई बिना धितो ऋण दिने वातावरण बनाउनुपर्ने बताए।

अग्रज पर्यटन व्यवसायी लक्की कार्कीले व्यवसायीक सफलताको कडी मेहनतसँगै ब्यबस्थापन भएको बताइन्। यस्तो गर्छु र उस्तो गर्छु भनेर धेरै गफ हाँकेर बस्नुभन्दा जे जानेको छ त्यो गरिहालेमा त्यसले सफलता दिने उनको भनाई छ।

सेमिनारमा युवा र अर्थशास्त्र विषयमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, युवाहरुलाई डिप्रेसनबाट कसरी बाहिर ल्याउने भन्ने विषयमा कञ्चन रावत, शारीरिक सुन्दरताबारे पूर्वमिस नेपाल प्रिति सिटौला, सामाजिक अपराध अन्तर्गत एसिड आक्रमणबारे अभियन्ता उज्ज्वल थापाले प्रस्तुति राखेका थिए। त्यस्तै, साइबर बुलिङबारे पूर्वमिस नेपाल जेनिसा मोक्तान, नारीलाई हेर्ने दृष्टिकोण तथा गरिने व्यवहारबारे पूर्वमिस नेपाल मलिना जोशीले प्रस्तुती राखेका थिए।

युवाहरुलई सकारात्मक तथा नविनतम् ढंगले अगाडि बढ्न मार्गनिर्देश गर्ने उद्धेश्यले ‘युवा उत्प्रेरणा सम्मेलन’ आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए।

प्रकाशित: २० माघ २०७६ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App