coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हास्य कलाकारको प्रतिबन्धविरुद्ध आक्रोश

मुम्बई (एजेन्सी) – भारतका समाचार प्रस्तोता अर्नब गोस्वामीलाई उनको शैलीमा उडिरहेको विमानभित्र प्रश्न सोध्ने हास्य कलाकार कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

केही दिनअघि मुम्बईबाट लखनऊ उडेको इन्डिगो एयरलाइन्समा रहेका कामराले गोश्वामीलाई भेटेलगत्तै शिष्ट भएर कुराकानीका लागि अनुरोध गरेपनि उनले आफू टेलिफोन कुराकानीमा भए जस्तो गरेर वास्ता नगरेको बताएका थिए। गोस्वामीको शैलीमा उनले प्रयोग गर्ने ‘देश जान्न चाहन्छ’ भन्दै खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा कामराले भनेको थिए, ‘अर्नब काँतर वा राष्ट्रवादी के हुन ?’

रिपब्लिक न्युज नेटवर्कका सञ्चालक गोस्वामीले सञ्चालन गर्ने बहस कार्यक्रमका सहभागीहरूलाई बारम्बर गाली गरेर विपक्षी र सरकारका आलोचकहरूलाई प्रहार गर्छन्। भाइरल भिडियोलगत्तै प्रयोगकर्ताहरूले पहिलो पटक गोस्वामीलाई मौन देखिएको भन्दै ठट्टा गरेका थिए। सो घटनालगत्तै इन्डिगो एअरलाइन्सले भारतका उड्डयनमन्त्रीलाई समेत ट्याग गर्दै हास्यकलाकार कामरालाई अस्थायी रूपमा ६ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको ट्वीट गरेको थियो। उनलाई इन्डिगो एअरलाइन्ससहित हाल एयर इन्डिया, स्पाइस जेट र गो एयरले अस्थायी रूपमा प्रतिबन्ध लगाइसकेको छ।

‘मेरो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा वायुसेवाले ममाथि अस्थायी प्रतिबन्ध लगाउँदा मलाई कुनै आश्चर्य लागेको छैन,’ हास्य कलाकार कामराले लेखेका छन्। उनले औपचारिक उजुरीबिना आफूलाई इन्डिगो एयरलाइन्सले ६ महिना प्रतिबन्धको निर्णयलाई अन्य एयरलाइन्सले पछ्याएको भनेर प्रश्न गरेका छन्।

सरकारले आलोचकलाई चुप लगाउन खोजेको भन्दै कांग्रेस पार्टीका नेता राहुल गान्धीले कामरालाई लगाइएको प्रतिबन्धको आलोचना गरेका छन्। ‘जसले आफ्ना न्युज क्यामरा प्रपोगान्डा फैलाउने साधनका रूपमा २४ घण्टा प्रयोग गर्छन्। तिनले आफूतिर क्यामरा सोझिँदा आँट देखाउनुपर्छ,’ उनले ट्वीट गरेका थिए।

रिपब्लिक टेलिभिजिनको प्रश्न खेपेका विपक्षी कांग्रेस पार्टीका नेता नेता शशी थरूरले ट्वीटरमा ‘गोस्वामीका क्यामरा र माइकको हतियारबाट सुसज्जित गुन्डाहरूले एयरलाइन्सका कर्मचारीले रोक्न नभनेसम्म दुईवटा उडानमा आफूलाई पनि त्यस्तै किसिमका शब्दहरू प्रयोग गरी प्रश्न गरेको,’ ट्वीट गरेका छन्। यसअघि आलोचकहरूले इन्डिगोलाई बहिष्कार गर्न आह्वान गर्न ट्विटरमा ह्यासट्यागसहित अभियान चलाएका थिए।

प्रकाशित: २० माघ २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App