७ वैशाख २०८१ शुक्रबार
कला

‘जवानी जानेमन’ मा बाबु–छोरी सम्बन्धको उतारचढाव

कुनै समय थाइल्यान्डकी एक युवतीसँग अफेयरमा रहेको भनिएका पूर्वयुवराज पारस शाह युट्युबर सोनिया रोकायासँग निकट भएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। राजधानीको तिर्सारादेखि लिक्युड लाउन्ससम्म पार्टी गर्न पुग्ने उनी आफ्नो ४८औं जन्मदिनमा भने छोराछोरीसहित पोखराको एक लाउन्समा देखिए। गत शुक्रबारदेखि रिलिजमा आएको ‘जवानी जानेमन’ फिल्मले तीन सन्तानका बुबा पारसको पार्टी कल्चर र युवतीहरूसँग निकट हुन रुचाउने जीवनशैलीको झल्को दिएको छ।

४० वर्षीय जसविन्दर सिंह उर्फ ​​ज्याज (सैफ अली खान) एक्लो जीवनमा विश्वास गर्छन्। आफ्नो एक्लो अस्तित्वबारे उनी गर्वसाथ भन्छन्, ‘सिंह हुँ म सिंह, जबसम्म राजा हुन्छ, तबसम्म ऊ एक्लै हुन्छ।’ विभिन्न रात्रि क्लब चहार्न माहिर उनी युवतीहरूसँग ‘फ्लर्ट’ गर्न सिपालु छन्। पेसाले जग्गा दलाल उनी प्रायः युवतीहरूसँग मस्ती गर्न व्यस्त देखिन्छन्। रात्रि क्ल्बमा भेटिएकी २१ वर्षीया टिया (आलिया फर्निचरवाला) सँग निकट हुने सोचसहित उनलाई घरसम्म लग्छन्। तर टियाले ज्याज आफ्ना बुबा हुन सक्ने सम्भावना ३३ प्रतिशत रहेको अनुमान गरेपछि उनी हच्किन्छन्। टियाको प्रवेशसँग ज्याजको जीवनमा पूर्णविराम लाग्छ। डिएनए रिपोर्टले ज्याज र टिया बाबु–छोरी हुन् भन्ने स्पष्ट भएसँगै टिया गर्भवती रहेको राजसमेत बाहिरिन्छ। उनी आफ्ना पूर्वप्रेमबिाट गर्भवती भएको रहस्य खुल्छ। एक्लो सिंह बताउने ज्याज बुबाबाट हजुरबुबा बन्ने खबरसँगै फिल्मले रोमाञ्चक मोड लिन्छ। बुबा र छोरीको सम्बन्ध वरपर फिल्मको कथा घुम्छ। टियाले आफ्नो अभिभावकको परिचय एकअर्कालाई गराउने दृश्य भने हास्यात्पद लाग्छ।

फिल्ममा कलाकारको प्रस्तुति र संवादले दर्शकलाई राहत दिएको छ। केही भावनात्मक दृश्य अपच हुँदा दर्शकले अलमलिएको महसुस गर्छन्। एक दृश्यमा ज्याज भावुक हुँदै छोरी नै आफ्नो पहिलो प्रेम भन्ने अभिव्यक्ति दिन्छन्। यो मार्मिक दृश्यलाई सुन्दर ढंगमा प्रस्तुत गर्न निर्देशक नितिन कक्कड असफल देखिन्छन्। ‘फिल्मिस्तान’, ‘मित्रों’ र ‘नोटबुक’ जस्ता फिल्म निर्देशन गरिसकेका उनले यस फिल्ममा बाबु र छोरीको सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेझैं देखिन्छन्।

निर्देशकीय रूपमा केही दृश्यलाई प्राथमिकतामा राख्दा फिल्मको गति सुस्त भएको महसुस हुन्छ। कलाकारको अनावश्यक लाग्ने प्रस्तुतिलाई भने उनले फिल्मबाट टाढा राख्न खोजेझैं देखिन्छ। ‘हम तुम’, ‘सलाम नमस्ते’ र ‘लभ आजकल’ जस्ता फिल्ममा अविस्मरणीय भूमिकाबाट प्रशंसा कमाएर अभिनेता सैफ अली खान फेरि त्यस्तै भूमिकामा फर्किएका छन्। कारण, रक ब्यान्डको लोगोसहितको टिसर्टदेखि रातो र सेतो बाथरोबसम्म आफ्नो अभिनयमार्फत उनी फेरि दर्शकको मन लुट्न सफल देखिन्छन्। आकर्षण र उत्साह देखिने उनी फिल्ममा जोखिम मोल्न तयार हुने बुबाको भूमिकामा जमेका छन्।

यस फिल्मबाट बलिउडमा डेब्यु गरेकी आलिया फर्निचरवालाको अभिनय तारिफयोग्य छ। सैफ र तब्बुजस्ता अनुभवी कलाकारसँग फिल्ममा देखिएकी उनले आफ्नो अभिनयको छाप छाडेकी छन्। हिप्पी गेटअपमा सीमित भूमिकामा देखिएकी अभिनेत्री तब्बु फिल्ममा आध्यात्मिक जीवनशैलीमा सशक्त देखिन्छिन्। लामो समयपछि फिल्ममा साझेदारी गरेका सैफ र तब्बुका दृश्यहरूले दर्शकलाई आकर्षित गदैनन्। बरु सैफ र केब्राको दमदार साझेदारी स्मरणीय लाग्छ।

लन्डनको रमणीय दृश्यलाई आकर्षक ढंगले खिच्न सिनेमाटोग्राफर सफल देखिन्छन्। २६ वर्षअघि सैफ अभिनित ‘ये दिलागी’ फिल्मको चर्चित गीत ‘ओले ओले’ को रिमेक यसमा समेटिएको छ। ‘ओले ओले’ र ‘गालन कार्डी’ गीत फिल्मअनुसार सुहाउँदाझैं लाग्छ। कथा परिवारिक लागे पनि सैफ, आलिया र तब्बु अभिनित यस फिल्म मनोरञ्जनात्मक देखिन्छ।
कलाकार : सैफ अली खान, आलिया फर्निचरवाला, तब्बु, कुब्रा सैत, चंकी पाण्डे
निर्देशक : नितिन कक्कड

प्रकाशित: २० माघ २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App