७ वैशाख २०८१ शुक्रबार
कला

चित्रकला कोर्न सिक्दै विद्यार्थी

काठमाडौं – नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ तथा चित्रकार रमेश खनाल शनिबार विद्यार्थीहरूलाई चित्रकला सिकाउन व्यस्त देखिए। लाजिम्पाटस्थित उनको निवासमा रहेको अरुपण ग्यालरीमा भेला भएका विद्यार्थीहरू उनीसँग कलामा विभिन्न ज्ञान लिइरहेका थिए।

चित्रकार खनालले विभिन्न सरकारी स्कुलमा विद्यार्थीहरूलाई निःशुल्क रूपमा चित्रकला कोर्न सिकाइरहेका छन्। शनिबार मन्दी माध्यमिक विद्यालयमा कक्षा ६,७ र ८ का अध्ययरत विद्यार्थीहरूलाई कलामा विभिन्न आयामबारे जानकारी लिएर चित्रकला कोरिरहेका थिए। ‘चित्रकलामा रुचि राख्ने विद्यार्थीहरूलाई यसबारे जानकारी गराउन विगत चार वर्षदेखि प्रशिक्षण कक्षा सञ्चालन भइरहेका छन्। हरेक शनिबार आयोजना हुने प्रशिक्षण कक्षामा चित्रकलाको प्रारम्भिक चरणमा आवश्यक पर्ने जानकारीबाट सुरू हुन्छ,’ उनले भने। रेखा चित्र कोर्न सिकेका विद्यार्थीहरू क्यानभासमा चित्रकला सक्षम नभएसम्म उनीले निरन्तर कक्षा दिने बताए।

चित्रकला कोर्न विद्याथीहरूलाई अरुपण ग्यालरीले निःशुल्क रूपमा सामग्री उपलब्ध गराइरहेको छ। विगत ४ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइसकेको चित्रकला प्रशिक्षणमा हालसम्म ४० भन्दा बढी विद्यार्थीहरू सहभागी भइसकेका छन्। मन्दी माविको कक्षा ८ मा अध्ययरत अर्चना मण्डलले सो प्रशिक्षणमा विभिन्न चित्रकला कोर्न सिक्दै थिइन्। उनी प्रशिक्षक खनालसँग रंग छनोट र आकृतिमाथि बहस गर्दै चित्र कोर्न लागिपरेको देखिन्थिन्। ‘चित्रकलामा रूचि भएपनि यससम्बन्धी जानकारी थिएन्। स्कुलमा विद्यार्थीहरूलाई केन्द्रित गरेर चित्रकला प्रशिक्षण दिने कुरा थाहा भएलगत्तै यहाँ आउन थालेकी हुँ,’ उनले भनिन्,‘मैले कल्पना गर्ने कुरा चित्रमार्फत कोर्न जानी रहेको छु।’

मन्दी माविको कक्षा ८ मा अध्ययरत अर्का विद्यार्थी अभिषेक मण्डल चित्रकलालाई सिर्जनात्मक विधा भन्न रुचाउँछन्। उनलाई पाठ्यक्रमअन्तर्गत विभिन्न विषयका पुस्तकहरूमा समावेश चित्रहरूले ध्यान केन्द्रित गर्छ। ‘विभिन्न विषयका पुस्तकमा भेटिने चित्रहरू कोर्न प्रयास गरिरहेको हुन्थें। यस प्रशिक्षणले चित्रकलाबारे प्रारम्भिक ज्ञान दिएको महसुस गरिरहेको छु। चित्रकलामा धेरै कुरा सिक्नुपर्ने रहेछ भन्ने थाहा हुँदै गएको छ,’ उनले भने, ‘निरन्तर प्रयासले राम्रो चित्रकला तयार हुने रहेछ।’

प्रकाशित: २० माघ २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App