१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम

चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्ले। तस्बिर : नागरिक

नुवाकोट – जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पाँच सय ४२ जनाको दरवन्दी भए पनि अहिले तीन सय जना मात्र कार्यरत छन्। यहाँको जनसंख्या दुई लाख ७७ हजार चार सय ७१ बढी रहेकोछ। जनसंख्या अनुपातमा प्रहरी संख्या कम भएपनि विभिन्न ढंगबाट प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गर्न सक्रिय भएको छ। प्रहरीको अभावले जिल्लाको शान्ति सुरक्षामा कुनै असर नपुगोस् भनेर ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’लाई प्रभावकारी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।

जनशक्ति अभावले कार्य सम्पादनमा कठिन हुँदै आएकाले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रमुलाई सक्रिय रुपमा सञ्चालन गरेर नागरिकलाई सुरक्षा उपलब्ध गराउने काम गर्दै आएको उनको भनाइ छ। जिल्लामा रहेका विभिन्न प्रहरी इकाईबाट हप्तामा कम्तीमा दुई वटा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। उक्त कार्यक्रमले गर्दा समुदायस्तरमा प्रहरी र नागरिकबीच सम्बन्ध सुधार हुँदै गएको उनको दावी छ।

जबरजस्ती करणी, बालविवाह, बहुविवाह, यौनजन्य दुर्व्यवहार, लागुऔषध, ट्राफिक नियमजस्ता विषयमा विद्यालयमार्फत सचेतनामुलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ। ‘प्रहरी मेरो साथी’ भन्ने नारालाईसमेत सार्थकता तुल्याएको महसुस भइरहेको एसपी काफ्लेले बताए। साउनदेखि पुससम्म गरेका विभिन्न कामको पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको छ। प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५३ जना महिला हराएको उजुरी परेकोमा ४१ जना उद्वार गरिएको छ।

यस्तै ११ जना बालिका हराएको निवेदनका आधारमा ९ जनाको उद्धार गरिएको एसपी काफ्लेले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६५ लाख ३३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिइएको छ। नियम पालना नगरेको भन्दै तीन हजार ८७ वटा सवारी साधान कारबाहीमा परेका थिए। छोरी संस्थाको सक्रियतामा मानसिक संन्तुलन गुमाएकी एक महिलाको उद्वार गरेर ललितपुरमा रहेको अस्तालमा उपचार भइरहेको तथ्यांकमा उल्लेख छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसामा परेको भन्दै ४७ वटा निवेदन आएकोमा ३४ वटा मिलापत्र भएको, ९ वटा अदालतमा गएको र ४ वटा घरेलु हिंसा उजुरी दिएर सम्पर्कमा नआएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्यांक अनुसार ३० महिनामा आत्महत्या गर्नेको संख्या एक सय ३० जना रहेका छन्।

प्रकाशित: २० माघ २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App