८ वैशाख २०८१ शनिबार
खेल

शीर्ष स्थानमा फर्कियो आर्मी

पुलिसविरुद्ध गोल गरेपछि आर्मिका खेलाडि । तस्बिर सौजन्य : एन्फा

काठमाडौ - दुई पटकसम्म लिएको अग्रतालाई अन्तिम १३ मिनेट कायम राख्न नसक्दा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नतिजा सुम्पिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शीर्ष ६ मा अटाउने उद्देश्यका साथ तीन अंकका लागि खेलेको पुलिसले आर्मीलाई ४–२ को नतिजा सुम्पिएको हो। आइतबार पुलिसमाथि पुनरागमनमा रोमाञ्चक जित निकालेको आर्मी शीर्ष स्थानमा फर्किंदा उपाधि दाबेदारीलाई कायमै राखेको छ। लिगमा नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको मिहिनेतले पुनरागमनमा कठिन प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न सफल भएको बताए।

‘पछि परे पनि सन्तुलित खेल देखाउँदै खेलाडीले ९० मिनेट मिहिनेत गरे। तीन अंक जोड्दै उपाधि लक्ष्यलाई निरन्तरता दिए,’ प्रशिक्षक न्यौपानेले भने, ‘गोल खाए पनि निराश नभई खेल्दा सफल भयौं। यस जितसँगै खेलाडीमा उपाधिको भोक देखिएको छ।’ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले २०औं मिनेटमा बुद्धबल तामाङको गोलबाट सुरुआती अग्रता लिएको थियो। बुद्धबलले पुलिसका कप्तान निरकुमार राईको फ्रिकिकमा हेडरमार्फत जाली चुमाएका थिए।

लगत्तै आर्मीले गोल गरे पनि रेफ्रीले नवयुगको ह्यान्ड भएको भन्दै गोल दिएनन्। अग्रता लिएपछि केही रक्षात्मक देखिएको पुलिसविरुद्ध आर्मी आक्रामक देखियो। ३४औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १–१ को बरारबीमा ल्याए। सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकलाई सुमनले हेडरमार्फत नै जाली चुमाएका हुन्। त्यसपछि आर्मीले दबाबमा राख्दै खेल देखाए पनि गोल गर्न सकेन र पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।

पहिलो हाफमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सुरुआती रणनीति असफल भएको आर्मीका प्रशिक्षक न्यौपानेले थपे। ‘दोस्रो गोल नै टर्निङ प्वाइन्ट भयो,’ प्रशिक्षकले थपे, ‘जसरी पनि उपाधिका लागि खेल्नुपर्छ भन्ने भावना खेलाडीमा छ। जितका लागि नै खेलेका हौं। जसरी भए पनि जित निकाल्दा खुसी छु।’ यस्तै पराजित टोली पुलिसका प्रशिक्षक अनन्तराज थापाले तीन अंक लिने लक्ष्यसहित मैदान उत्रिए पनि रक्षापंक्तिको तालमेल अभावका कारण दुई पटक लिएको अग्रता गुमाउनुपरेको प्रतिक्रिया दिए।

‘शीर्ष ६ मा अटाउनका लागि हामी जितको खोजीमा मैदान उत्रिएका थियौं। सुरुआतबाट नै आक्रामक खेल्ने रणनीति लिएका थियौं। रणनीतिअनुसार गोल पनि निस्कियो,’ पुलिसका प्रशिक्षक थापाले भने, ‘आफ्नै खेलाडीको गल्तीका कारण पहिलो गोल खायौं। दबाबमा राख्दै खेले पनि आर्मीको पेसलाई रोक्न सकेनौं। आर्मीले राम्रो खेल्यो।’ यस्तै पुलिसका प्रशिक्षक थापाले हार व्यहोरे पनि टोलीको प्रदर्शन राम्रो भएको बताए। ‘खेल हाम्रो राम्रो रह्यो। युवा खेलाडीलाई खेलाएको थिएँ। राम्रो खेले। आउने दिनमा राम्रो हुन्छ। शीर्ष ६ का लागि राम्रो हुनेमा आशावादी छु,’ प्रशिक्षक थापाले थपे।

तीन अंक जोड्दै उपाधि लक्ष्यलाई जीवन्त बनाउन चाहेको आर्मीले दोस्रो हाफमा पनि उत्कृष्ट खेल देखायो। तर पुलिसले ५८औं मिनेटमा पुनः सेटपिसमा गोल गर्दै अग्रता लिन सफल भयो। कर्नर बलमा मानबहादुर तामाङले गोल गर्दै पुलिसलाई दोस्रो पटक अग्रता दिलाए। तर पुलिसको अग्रता धेरै समय टिकेन। ७७औं मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले हेडमार्फत गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए। आर्मीका वैकल्पिक खेलाडी विवेक बस्नेतले उपलब्ध गराएको पासलाई नवयुगले ८५औं मिनेटमा पुलिसका पाँच रक्षाकलाई चिर्दै गोलको दिशा दिँदा आर्मीले अग्रता उल्टाउन सफल भएको थियो।

व्यक्तिगत दुई गोल गरेका नवयुगले जारी लिगमा सर्वाधिक गोल गर्ने च्यासलका सन्तोष साहुखलसँग बराबरी गरेका छन्। अग्रता लिएको आर्मीले त्यसपछि पनि आक्रामक खेललाई निरन्तरता दियो। खेल सकिन एक मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका सुदिल राईले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे। जितसँगै आर्मीको उपाधियात्रा बलियो बनेको छ। आइतबारको जितपछि आर्मी शीर्ष स्थानमा फर्किएको छ। १० खेलबाट २३ अंक जोडेको आर्मीभन्दा पछि मच्छिन्द्र २२ अंकका साथ दोस्रो स्थानमा छ। पराजित पुलिस भने समान १० खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ।  तीन खेल बाँकी रहेको आर्मीले दोस्रो स्थानको मच्छिन्द्र, एपिएफ र फ्रेन्ड्ससँग खेल्न बाँकी छ।

लिगअन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा संकटाले हिमालयन शेर्पामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। तुलनात्मक रूपमा कमजोर देखिएको हिमालयन शेर्पाविरुद्ध संकटाले २१औं मिनेटमा लिएको अग्रता निर्णायक बनेको थियो। विदेशी खेलाडी अजयी मार्टिनले गरेको गोल निर्णायक बन्दा संकटाले स्पष्ट तीन अंक जोड्न सफल भएको हो। शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ। संकटाले १० खेलमा १५ अंक जोडेको छ। लिगका १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा छ। पराजित शेर्पालाई रेलिगेसनको डर कायमै छ।

लिगमा सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज (बिबिसी) सँग प्रतिस्पर्धा गर्दा दिनको दोस्रो खेल मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबबीच हुनेछ। दुवै खेल एन्फा मुख्यालयमा हुनेछन्।

शहिद स्मारक ‘ए’ डिभिजन लिग
आजको खेल (एन्फा कम्प्लेक्स)
जावलाखेल युथ क्लबविरुद्ध ब्रिगेड ब्वाइज    ११ः३० बजे
मनाङ मर्स्याङ्दीविरुद्ध च्यासल युथ    १५ः०० बजे

प्रकाशित: २० माघ २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App