७ वैशाख २०८१ शुक्रबार
प्रवास

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहून्’

प्रतिकात्मक तस्बिर

काठमाडौं - कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई आइसोलेशन (अन्य मानिसको सम्पर्कमा जानु नपर्ने वन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका  छन्। चीनबाट उद्धार गरी नेपाल फर्काइएपछि आफूहरुमध्येबाट स्वदेशी नेपालीहरुमा संक्रमण फैलन नदिन आइसोलेशन (एक्लाएक्लै खानेवस्ने वन्दोवस्त) मा राख्ने व्यवस्था गर्न उनीहरुले सरकारसँंग माग गरको हुन्।

नेपाल सरकारले त्यहाँं रहेका नेपालीहरुलाई फर्काउन फारम भराउने काम सुरु गरी आइतबारभित्र भरिसक्न जानकारी गराइसकेको छ। त्यहाँं करिव एक सय नेपाली रहेको बताइएको छ।

नेपाल फर्किसकेपछि आफूहरु परिवार वा अन्य नेपालीसँंग सम्पर्कमा जाँंदा संक्रमण फैलनसक्ने भएकाले आइसोलेसनको बन्दोवस्त हुनुपर्ने उनीहरुको माग हो। फर्काइएका सबै नेपालीलाई एकै ठाउँंमा राख्न नहुने भनाई पनि उनीहरुको छ। किनकि फर्काइएकामध्ये कोही संक्रमित छ भने उसबाट पनि अन्य फर्काइएकाहरु संक्रमित हुनसक्छन्।

उहानस्थित होचाङ्ख युनिभसिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा विद्याबारिधी गर्दै गरेका दीगम्वर खोटेजाले उद्धार गरेर नेपाल फर्काइसकेपछि पनि आफूहरुमात्रै नभई आफना परिवार र सारा नेपाली जनता सुरक्षित होउन् भन्ने त्यहाँं रहेका नेपालीहरुको भनाई रहेको जनाए। ‘हामीलाई मात्रै उद्धार गरेर भएन, हाम्रा कारणले हाम्रा परिवार र सारा नेपाली जनता सुरक्षित राख्नका लागि हामीलाई सरकारीस्तरबाट नै आइसोलेसनको वन्दोवस्त गरियो भन्ने सजिलो हुन्छ भन्ने यहाँं रहेका नेपालीहरुको भनाई हो, टेलिफोनमा उनले त्यहाँं रहेका नेपालीहरुको भनाई उद्धार गर्दै नागरिकसँंग भने।

तत्काल परीक्षणको क्रममा लक्षण नदेखिए पनि पछि  संक्रमित भएको देखिन सक्ने भएकोले यसप्रति विशेष सतर्कता अपाउनुपर्ने उनीहरुको भनाई हो। भाइरस संक्रमित नदेखिएको अवस्थामै पनि भाइसर पसिसकेका व्यक्तिबाट अरुलाई संक्रमण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनीहरु बताउँंछन्।

यसका लागि अस्पताल वा कुनै निश्चित ठाउँंहरुमा उद्धार गरिएका नेपालीलाई एक्लाएक्लै छुटाछुटै रुपमा वस्ने वन्दोवस्त हुन सके धेरै राम्रो हुने उनीहरुले सुझाव हो।

तत्काल संक्रमण भएको नदेखिए पनि यसको संक्रमण दुईदेखि १४ दिनभित्र भएको देखिनसक्ने चिकित्सकहरु बताउँंछन्। चीनमा अध्ययनरत रही त्यहाबाट भर्खरै नेपाल फर्केका चिकित्सक डा. राजेन्द्र श्रेष्ठ त्यहाबाट उद्धार गरिएपछि पनि विशेष सतर्कता अपनाउनुपर्ने खाँंचो औल्याउँंछन्।

आफू नेपाल फर्केपछि आफनै घरमा बसे पनि आफू एक्लै नै कोठामा बसी खाना पकाउने, खाने, सुत्नेलगायतका काम गरी सुरक्षित रहेर बसेको बताउने उनले १४ दिनपछि आफू संक्रमित भएको देखिए परिवारका अन्य सदस्यहरु संक्रमित नहोउन् भनेर परिवारसँंग छुटिएर बसेको खुलाए। आफै चिकित्सक डाक्टर भई सचेत भएकाले आफूले यसो गरेको उनले सुनाए।

भाइरसको इन्कुवेशन पिरियड दुईदेखि १४ दिन हो। यसको मतलब कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएपछि उनमा घटीमा दुई दिन र बढीमा १४ दिनसम्ममा यो रोगका लक्षणहरु देखापर्न थाल्छन्। कोरोना भाइरसको डरलाग्दो पक्ष भनेको लक्षण देखिनुपूर्व नै फैलिइसक्नु हो।

यो रोगको मुख्य उदगमस्थल चीनको हुवे प्रान्तको उहान तथा आसपासका क्षेत्र रहे पनि अहिले नेपाललगायत विश्वका विभिन्न मुलुकहरुमा यसको संक्रमण देखिसकेका छन्। हालसम्म भाइरसको कारण तीन सय बढीको मृत्यु भइसकेको जनाइएको छ। साथै यसबाट ११ हजार सात सय ९१ जना संक्रिमित भएको बताइएको छ।

प्रकाशित: १९ माघ २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App