६ वैशाख २०८१ बिहीबार
समाज

३१२ औं हप्तामा माथिल्लो वाग्मती सफाइ अभियान

काठमाडौं- माथिल्लो वाग्मती सफाइ अभियान सुरु गरिएको ३१२ औं हप्ता पूरा भएको छ । शनिबार माथिल्लो वाग्मती सफाइ अभियानको ३१२ औं शृंखला सम्पन्न भएको हो । गोकर्णेश्वर नगरपालिकाकोम्बर वडा कार्यालय, वाग्मती सुन्दरता सरोकार मञ्च, टाइमलाइन स्कुल र स्थानीयको टोली संयुक्त रूपमा वाग्मती सफाइ अभियानमा जुटेका थिए ।

वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष तथा सफाइ अभियन्ता उत्तम पुडासैनीले मुहान सफा नगरी वाग्मती सफा नहुने भएकाले माथिल्लो वाग्मती सफाइ गरेको जानकारी दिए । उनले ‘नेपालीको सभ्यता, संस्कृति, धर्म र कानुनले नदीमा फोहोर फाल्न निषेध गरेको बताए । हाम्रो सभ्यतासँग जोडिएको वाग्मती नदी सफाइमा साथ दिनु सबै नैतिक दायित्व भएको पनि उनले बताए । वाग्मती वरपर रहेका चार सय ६१ वटा संस्थाको छाता संगठन परिचालन भई वाग्मती सुन्दरताका लागि विभिन्न संस्थाले काम गरिरहेका छन् ।

टाइमलाइन स्कुलका व्यवस्थापन समिति अध्यक्ष नवराज रिजालका अनुसार सबै विद्यार्थीलाई सचेत बनाउन सके वाग्मतीमा फोहोर आउने क्रम रोक्न सजिलो हुनेछ । ‘हामी विद्यार्थीको माध्यमबाट नदीमा फोहोर फाल्न हुन्न भन्ने सन्देश घरघरमा पुर्‍याउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

वाग्मतीको पानी खाएर हुर्केका मानिसले अहिलेको हेरिनसक्नु वाग्मती देखेर मन अमिलो बनाउने गरेको रिजालको भनाइ छ । उनले २० वर्षअघिदेखि वाग्मती सभ्यता र वाग्मती सफाइका नाममा विभिन्न लगानी भए पनि उपलब्धिमुलक काम हुन नसकेको आरोपसमेत लगाए ।

गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष नारायण सुवेदीले वाग्मती सफाइ अभियानमा आफू तीन सय हप्ता अगाडिदेखि लाग्दै आएको बताए । उनका अनुसार विभिन्न टोलसुधार समितिमार्फत स्थानीयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी गरिँदै आएको छ ।

जनसंख्या बढ्दो अवस्थामा भए पनि फोहोर व्यवस्थापनका लागि गत वर्ष सात सयभन्दा बढी स्थानीलाई फोहोरबाट कम्पोस्ट मल बनाउने र कौंसी तरकारी खेतीमा सो मल प्रयोग गर्ने उपाय सिकाएको उनले सुनाए । निरन्तरको प्रयासपछि अचेल वाग्मती केही सफा देखिन थालेको उनको अनुभव छ ।

प्रकाशित: १९ माघ २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App