८ वैशाख २०८१ शनिबार
खेल

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

एपिएफविरुद्ध गोल गरेपछि मछिन्द्रका खेलाडी । तस्बिर सौजन्य :एन्फा

काठमाडाैँ - राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजनमा खेल मिलेमतोको हल्ला चलिरहँदा एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूलाई नियोजित रूपमा घटुवा गर्ने योजना बनिरहेको दाबी गरेका छन्।

लिगअन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा उपाधिको दाबेदार टोली मच्छिन्द्र क्लबलाई २–१ को नतिजा सुम्पिएपछि तामाङले यस्तो प्रतिक्रिया दिएका हुन्। हामीलाई रेलिगेसनको दबाब छ। सम्भवतः नवाैँ चरणमा हिमालयन शेर्पा क्लब र सरस्वती क्लबबीचको खेलमा जस्तो नतिजा निस्कियो, त्यस्तो नतिजा नआएको भए हामीमाथि दबाब पर्ने थिएन होला,’ तामाङले भने, ‘थाहा छैन त्यो खेल मिलेमतो थियो वा थिएन। तर मैले पनि सो खेल हेरें। दुवै टोलीले ५० प्रतिशत मात्र खेले पनि त्यति धेरै गोल निस्कने सम्भावना हुँदैन। त्यसमाथि हिमालयन शेर्पा सरस्वतीभन्दा अब्बल टोली हो। सायद उनीहरूमा पनि दबाब थियो होला हामी जसरी पनि रेलिगेसनबाट बाचांै र विभागीय टोलीलाई घटुवा गराैँ भन्ने। मैलै आज पनि सरस्वती र थ्री स्टारको खेल हेरें। उनीहरूले जती गरे पनि गोलको कुनै पनि अवसर बनाउन सकेका थिएनन्। पहिलो हाफमा थ्री स्टारका एक विदेशी खेलाडीले लगातार ७ वटा गोल अवसर गुमाउँदा मेरो शंकालाई थप बल पुगेको थियो। यद्यपि थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनका साथ सहज नतिजा ल्यायो।’

‘नेपालमा पनि खेलमिलेमतो गराउने खतरा  एजेन्ट छन्। उनीहरूलाई कारबाही गरे राम्रो हुन्थ्यो,’ तामाङले थपे, ‘हामीले गर्ने भनेको एन्फालाई अनुसन्धान गरिदिनुस्, हामीमाथि यस्तो प्रकारको दबाब बनिरहेको छ भन्ने मात्र हो ।अनुसन्धानको पाटो एन्फाको हो। अनुन्धान होस् पनि कसरी एउटा अध्यक्षको क्लब अर्को उपाध्यक्षको। फेयर प्ले हुने हो भने यहाँ को रेलिगेसनमा पर्छ भन्न सकिँदैन। यहाँ त फुटबलै खेलिरहेका छैनन्। केवल मैदान प्रवेश गर्ने काम मात्र भइरहेको छ। सरस्वती क्लबका प्रशिक्षक र पदाधिकारीहरूको भनाइ पनि शंकास्पद छ। खेलअघि नै उनीहरू आज त बराबरी खेल्ने हो भन्छन्। हामीलाई त्यति भए पुग्छ भन्दै बसेको देखियो।’

अघिल्लो चरणमा नेपाल पुलिसलाई १–० को नतिजा सुम्पिँदा विवादास्पद पेनाल्टी दिइएको बारेमा आफूहरूले एन्फामा प्रोटेस्ट गरे पनि त्यसमा कुनै सुनुवाई नभएको तामाङको भनाइ छ। नेपाल पुलिसविरुद्धको खेलमा हामीले रेफ्रीले गलत निर्णय गरे भनेर एन्फामा उजुरी गरेका थियौं। त्यसमा त केही सुनुवाई भएन नै आज मच्छिन्द्र क्लबविरुद्ध पनि रेफ्रीले बारम्बार हाम्राविरुद्ध निर्णयहरू दिइरहे,’ तामाङले भने, ‘मच्छिन्द्रका ६ जना पदाधिकारी टच लाइनमा आएर बारम्बार फोर्थ अफिसियलसँग विवाद गर्दा पनि केही कारबाही भएन। नेपाली फुटबल यस्तै हो। यहाँ अनुसन्धान हुँदै छ भन्दा भन्दै अर्को लिग सुरु भइ सक्छ।’

४३औं मिनेटमा नवीन लामाको फ्रि किकमा रक्षक रमेश दंगालले हेड गोल गर्दै एपिएफलाई खेलमा अघि बढाएका थिए। दोस्रो हाफको सुरुआतमै मच्छिन्द्रले खेल बराबरीमा ल्यायो। ४८औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विशाल राईले बललाई पोस्टको दिशा दिँदै मच्छिन्द्रलाई खेलमा फर्काएका थिए। ७९औं मिनेटमा रञ्जितले गोल गर्दै मच्छिन्द्रको जित पक्का गरेका थिए। आफैले प्रहार गरेको पेनाल्टी एपिएफका गोलकिपर राजु योगीले बचाउँदा रिबाउन्डमा प्राप्त बललाई उनले जाली चुमाएका थिए। यस जितपछि १० खेलमा २२ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा फर्किएको हो। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको त्रिभुवन आर्मीभन्दा २ अंक बढी हो। मनाङ मस्र्याङ्दी १९ अंकका साथ तेस्रो स्थानमा छ भने १७ अंक जोडेको थ्री स्टार चौथो र १५ अंकका साथ न्युरोड टिम एनआरटी पाँचौं स्थानमा छन्। ५ अंक जोडेको एपिएफ रेलिगेसन क्षेत्रभन्दा मात्र एक स्थान माथि छ।

‘पहिलो हाफमा रणनीतिअनुसार प्रदर्शन गर्न नसक्दा गोल खायौं,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘पहिलो हाफमा रेजिन र दोस्रो हाफका सुरुआतमा सुजल श्रेष्ठको स्थानमा अरू खेलाडी मैदान प्रवेश गराएपछि खेलले गति लियो। दुवै टोलीमाथि जितको दबाब थियो। हामीलाई शीर्ष स्थानमा उक्लिने र एपिएफलाई रेलिगेसनको खतराबाट माथि उठ्ने, त्यसैले खेल कठिन भयो। तर पनि जितबाट खुसी छु। अबका सबै खेल महत्वपूर्ण छ। रेफ्रीको निर्णयप्रति भने केही असन्तुष्ट छु। यता एपिएफका प्रशिक्षक तामाङले भने दोस्रो हाफको सुरुआतमै खेलाडी रक्षात्मक बन्दा खेलको लय गुमाएको बताए। ‘दोस्रो हाफको सुरुआती १० मिनेटमा रक्षकहरूले धेरै डिपमा खेल्दा रणनीतिअनुसारको प्रदर्शन भएन,’ तामाङले भने, ‘म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु। मच्छिन्द्रविरुद्ध यस्तो प्रदर्शन तारिफयोग्य छ।’

प्रकाशित: १९ माघ २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App