coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘निर्वाचन क्षेत्र पूर्वाधार’ बजेट भौतिक निर्माणमा केन्द्रीत

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्य सुरेशकुमार राई (हिमाल) ।

उदयपुर- उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्य सुरेशकुमार राई (हिमाल) ले संसदबाट पाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ अन्तरगतको ६ करोड रुपैयाँ सबै अनुदान बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चने भएका छन्। संघीय संसदबाट प्राप्त उक्त रकम चुनाव बेला आफूले बाचा गरे अनुसार खानेपानी, सडक, विद्युत र शिक्षालगायत भौतिक संरचना निर्माणमा खर्च गर्नेगरी उनले विनियोजन गरेका हुन्।

जिल्ला समन्वय समिति उदयपुरले अन्तिम रुप दिएको विवरण अनुसार सांसद राईको निर्वाचन क्षेत्रका एक नगर र ४ गाउँपालिकामा खानेपानी, भवन, सडक, नाला, विद्यालय घेराबेरा, विद्युत, खेलमैदानलगायत भौतिक पूर्वाधारमा लगाउने गरी बाँडफाँड गरिएको छ। ४ स्थानीयतहमध्ये सबैभन्दा बढी कटारीमा ११ वटा योजना सञ्चालन गर्न २ करोड ३२ लाख ८८ हजार ५ सय रुपैयाँ बजेट छुट्याइएको छ।

कटारी वडा नं. ३ र ४ कटारी बजार गोलपार्कदेखि पश्चिम सडक स्तरोन्नति गर्न ४९ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ भने ११ नं. को गहुँबारीदेखि गोठडाँडा हुँदै १३ नं. वडा कार्यालय जोड्ने नालासहितको सडक पक्की स्तरोन्नति गर्न ४९ लाख ५५ हजार विनियोजन गरिएको छ। कटारी ५ सोक्लाहास्थित रातु खोला खहरेमा कल्भर्ट बनाउन ४९ लाख ५५ हजार छुट्याएका राईले ६ नं. वडास्थित सूर्योदय खेलमैदान बनाउन १२ लाख ८८ हजार ३ सय दिएका छन्।

त्यस्तै ३ नं. कटारी बजारमा कभर्डहल बनाउन ९ लाख ९१ हजार, ४ नं. को मरुवास्थित चुलढुंगामा काठेपुल मर्मत ९ लाख ९१ हजार छुट्याएका सांसद राईले जनता आवास कार्यक्रमलाई ३ वटा वडामा ३० लाख हाराहारी विनियोजन गरेका छन्। १४ को लेखानी, १० को सोरुङ र ८ नं. को सिरिसेमा जनता आवास कार्यक्रम चलाउन प्रत्येक वडामा ९ लाख ९१ हजारका दरले बजेट विनियोजन गरिएको छ। ९ नं. वडाको मावि लिम्पाटार खेलमैदानलाई ११ लाख ८९ हजार २ सय र २ नंं. वडा त्रिबेणीमा हरियाली पार्क बनाउन ९ लाख ९१ हजार छुट्याइएको छ।

दोस्रो ठूलो रकम रौतामाई गाउँपालिकालाई ७ वटा योजना सञ्चालन गर्न राईले १ करोड १७ लाख ९२ हजार ९ सय विनियोजन गरेका छन्। उनले रौतामाई ३ लाफागाउँमा खानेपानी योजना सञ्चालन गर्न ४९ लाख ५५ हजार विनियोजन गरेका छन् भने ४ नं. को सल्ले–हात्तीपाईले–कटहरे सडक मर्मत गर्न १४ लाख ८६ हजार ५ सय छुट्याएका छन्। त्यस्तै ७ नं. वडा मुर्कुचीमा महिला भवन निर्माणार्थ ११ लाख ८९ हजार २ सय, २ नं. स्थित मावि रसुवा भुटारको घेराबेरामा ९ लाख ९१ हजार, ५ नं. सिद्ध आधारभूत विद्यालय घेराबेरा ९ लाख ९१ हजार छुट्याएका छन्। ७ नं. कै रौता क्याम्पसलाई पूर्वाधार विकास शीर्षकमा ९ लाख ९१ हजार र ६ नं. वडाको धाराखोला–बाँसबोटे–पाथीभरा–साग भन्ज्याङ सडक निर्माणमा ११ लाख ८९ हजार २ सय रुपैयाँ विनियोजन भएको छ।

बाँकी ३ गाउँपालिकाहरु उदयपुरगढी, ताप्ली र लिमचुङबुङलाई क्रमशः ८९ लाख १९ हजार, ७९ लाख २८ हजार र ७५ लाख ३१ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको छ। उदयपुरगढी गाउँपालिका ६ स्थित मावि नेपालटार भवन निर्माण गर्न २४ लाख ७७ हजार ५ सय विनियोजन गरेका सांसद राईले ७ नं. वडाको बतासे खानेपानी योजनाका लागि ४४ लाख ५९ हजार ५ सय छुट्याएका छन्। त्यस्तै, ८ नं. वडाको मावि भलायडाँडा खेलमैदान बनाउन ९ लाख ९१ हजार छुट्याँदा ७ नं. कै नर्कटे खेल मैदान बनाउन पनि ९ लाख ९१ हजार नै विनियोजन गरेका छन्।

ताप्ली गाउँपालिकाका १ देखि ५ नं. वडा सबैमा विद्युत सेवा विस्तार गर्न केन्द्रीय विद्युत प्रशारण लाईन शीर्षकमा ४९ लाख ५५ हजार छुट्याएका राईले ३ नं. वडाको इनामेमा साङ्गे घ्योलुङ गुम्बा बनाउन ९ लाख ९१ हजार, १ नं. कै ओख्लेस्थित मादेल ककनी खानेपानी योजनालाई ९ लाख ९१ हजार र ५ नं. स्थित मावि कटहरेको घेराबेरा गर्न ९ लाख ९१ हजार विनियोजन गरेका छन्।

कान्छो तथा विकट गाउँपालिका लिमचुङबुङमा ३ वटा योजना सञ्चालन गर्न विनियोजित ७५ लाख ३१ हजारमध्ये वडा नं. ५, ४, ३ लाई छुनेगरी निर्माणाधीन ग्रामिण सडकलाई ५१ लाख ५३ हजार छुट्याएका छन्। सो रकम जाँतेस्थित साप्ला–रुप्ला–तिर्ला–छाताङखोला हुँदै बलम्ता माझगाउँ–लामाटोल–मार्से बैखोला, ताम्लिछा मौवाबोटे हुँदै गाउँपालिका केन्द्र बाराहा पुग्ने सडक निर्माणमा लगाइने छ। सांसद राईले २ नं. वडाको ताम्लिछास्थित महेन्द्र मावि घेराबेरा १२ लाख ८८ हजार ३ सय र १ नं. को बुत्कु मावि बाँसबोटे घेराबेरालाई १० लाख ९० हजार १ सय छुट्याएका छन्।

६ करोडमध्ये जिल्ला समन्वय समितिलाई शून्य दशमलव ९ प्रतिशतबाट हुन आउने ५ लाख ४० हजार भने प्रशासनिक खर्चका लागि छुट्याएर बाँकी सबै भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी विनियोजन गरेको सांसद राईले बताए। संसदले जारी गरेको ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशिका’ अनुुसार खर्च गर्नेगरी रकम विनियोजन गरेको पनि राईले बताएका छन्। निर्देशिकाले १० लाखभन्दा कम रकम विनियोजन गर्न नमिल्ने तथा भौतिक पूर्वाधारमा मात्र खर्च गर्न पाउने प्रावधान अनुसार स्थानीय जनप्रतिनिधि र पार्टीको सल्लाह अनुसार रकम बाँडफाँड गरिएको नेकपाका प्रदेश सचिवसमेत रहेका सांसद राईले बताए।

 

प्रकाशित: १८ माघ २०७६ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App