६ वैशाख २०८१ बिहीबार
समाज

कुटपिटबाट पूर्वसभासद् घाईते, ज्यान बचाउन मरेको अभिनय

कुटपिटबाट घाइते भएका पूर्वसभासद अर्जुन राई जिल्ला अस्पतालमा उपचार गराउँदै। तस्बिरः दमन राई

खोटाङ– खोटाङबाट पहिलो संविधानसभाको सभासद् निर्वाचित भई हाल पूर्व सभासद्को हैसियतमा रहेका अर्जुन राईमाथि कुटपिट भएको छ। मेवा खोला हाईड्रोपावरको फलामे पोल ढुवानीका लागि बुईपा जाने क्रममा पूर्वसभासद राई शनिबार राती हुर्लुङस्थित शेर्पा होटलमा बास बसेकै ठाउँमा निर्घात कुटिएका हुन् ।

शरीरमा चोट र निलडाम लागेको र रक्ताम्मे अवस्थामा प्रहरीले उद्धार गरेका राईको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। सोही होटलमा मादक पदार्थ सेवन गरेर बसिरहेका नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामी लगायतको १२ जनाभन्दा बढी व्यक्तिको समूहले पूर्वसभासद् राईमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

मोहनको मान्छे बताउँदै ‘राजु गोर्खाली’को मान्छे बताउने व्यक्तिसँग फोनबाट धम्काधम्की गरिरहेका शेर्पा र रमेशले एक्कासी आक्रमण गरेको उपचाररत राईले बताए। आक्रमणको प्रतिकारपछि उम्किएर अर्को पसलमा शरण माग्दासमेत सोही ठाउँमा आएर उनीहरुले कुटपिट गरेका थिए। दोस्रो पसलमा समेत आक्रमण भएपछि ज्यान बचाउन भाग्नेक्रममा मकैबारीमा लड्न पुगेपछि सोही ठाउँमा लाठी, मुङ्ग्रा, लात्ती, मुड्कीले कुटपिट गरेका घाइते पूर्वसभासद् राईले बताएका छन्। पूर्वसभाषदको परिचय दिँदासमेत निरन्तर कुटपिट भएपछि ‘मरेको अभिनय’ गरेपछि उनीहरुले लगेर वर्षाको पानी जमेको अँध्यारो कोठामा सुताएका थिए । अनुहार र शरीरमा लागेको रगत पखालिओस् भन्ने मनसायले आफूलाई पानी जमेको कोठामा लडाएर ताला लगाइदिएको राईले बताए ।

‘ज्यान बचाउन मरेको जस्तो नगरेको भए आज म यो अवस्थामा हुन्न थेँ,’ अस्पतालको बेडबाट राईले भने, ‘त्यो घटनाबाट ज्यान जोगिँदा दोस्रो जन्मझैँ भएको छ मेरो।’ उनीहरुले लगेर राखेको कोठाबाट राती राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवन श्रेष्ठलाई फोन गरेर घटनाका बिषयमा जानकारी गराएपछि राईलाई नुनथला प्रहरीचौकीले रातको २ बजेतिर उद्दार गरेका थिए । घटनाको विषयमा जानकारी भएपछि राती ट्याक्टरमा हालेर उपचारका लागि अस्पताल ल्याइएको राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले बताए। कुटपिटमा संलग्न नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामीलाई प्रहरीले पक्राउ गरेको छ। शेर्पा हुर्लुङ काउण्टरमा र अछामी चालक रहेको खुलेको छ।

राप्रपाका केन्द्रीय सदस्य रहेका राई दिक्तेल नगरपालिका–१५ लफ्याङ निबासी हुन्। राईमाथि रातको ८ः३० बजेको समयतिर आक्रमण भएको थियो। उनको नाक, बायाँ हातको पाखुरा लगायतका स्थानमा चोट लागेको छ । कुटपिटबाट शरीर र टाउँका बिभिन्न ठाउँमा नीलडाम लागेको छ । घाईते सभाषदको टाउको, नाक र च्यापुको सिटिस्क्यान गर्नुपर्ने अस्पतालले जनाएको छ । घाइते अवस्थाका राईलाई आईतबार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, डिएसपी बिद्यानन्द माझीलगायतले अस्पतालमा पुगेर घटना र स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका छन्। यस्तै, जिल्लाका राजनैतिक दलका नेताहरु समेत पूर्वसभाषदलाई भेट गर्न अस्पताल पुगेका छन् ।

जिल्लाका राजनैतिक दलहरु स्थानीय शान्ति समितिको संयोजनमा बैठक बस्ने र दोषीलाई कारबाहीकालागि दवाब सिर्जना गर्ने तयारीमा छन् । भेटमा पुगेका प्रजिअ कार्कीले दोषीलाई उन्मुक्ती नदिने प्रतिबद्धता जनाएका छन् ।

 

 

 

प्रकाशित: १९ असार २०७३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App