coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कालिन्चोक डिस्को

कालिन्चोक डाँडाबाट देखिएको गौरीशंकर हिमाल, कुरी बजार। तस्बिर : अमृत/नागरिक

छोटो समयमै आन्तरिक पर्यटक माझ चम्किएको एउटा गन्तव्य–कालिन्चोक। विसं ०६७ सम्म वार्षिक मेलाबाहेक अरू बेला त्यहाँ आक्कलझुक्कल मात्र पुग्थे पर्यटक। चरिकोटसँग कालिन्चोक बेस क्याम्प कुरी भञ्ज्याङ सडक संजालले जोडिएसँगै डाँडामा भीडभाड बढ्न थाल्यो। अझ केवलकार सञ्चालनमा आएपछि त भगवतीको दर्शन गर्न झनै सहज भयो। 

डाँडा (३,८४२ मिटर)मा बसेकी छिन् कालिन्चोक भगवती। मनोकामना पु-याइदिने शक्ति पीठका रूपमा यिनको पूजाआराधना गरिन्छ। यिनको दर्शनले सबै खाले रोगव्याधिबाट मुक्ति मिल्ने, धनधान्यले पूर्ण हुने, सुखशान्ति मिल्ने, दीर्घ जीवन प्राप्त हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ।

भाकल पूरा भएपछि भक्तजन भगवतीको चरणमा आई बोका, कुखुरा, हाँस, नरिवल, त्रिशुल र घन्ट चढाउँछन्। मन्दिरमा बडा दसैं, चैते दसैं, बुद्ध पूर्णिमा र जनै पूर्णिमामा विशेष मेला लाग्छ। 

हिन्दू धार्मिक ग्रन्थ मार्कण्य पुराणका अनुसार महिषासुर दैत्यले स्वर्ग कब्जा गरेपछि स्वर्गका राजा इन्द्रले मत्र्यलोकको एउटा डाँडामा बसी ब्रम्हा, विष्णु र महेश्वरलाई आफ्ना सबै कुरा सुनाए। विष्णु क्रोधित भए, उनको वदनबाट एक तेजपुञ्ज निस्किएर नारी स्वरूपमा कालिन्चोक देवी उत्पन्न भइन्  र उनैले महिषासुरको वध गरिन्।

यसरी कालिन्चोकको धार्मिक महिमा ठूलो छ। भगवतीलाई महाकालीका रूपमा पूजिने होटल संघ कालिन्चोकका संस्थापक अध्यक्ष सोनाम शेर्पा बताउँछन्। डाँडाको थाप्लोमा कुण्ड, त्रिशूल, घन्ट र देवीका मूर्ति छन्। शेर्पाका अनुसार कुण्ड मात्र प्राचीन हो, बाँकी त्रिशूल, घन्ट र मूर्ति पछि राखिएका।

‘जाऔं है दोलखा’ अभियानमा हामीले स्थानीय पर्यटन व्यवसायी र आमा समूहसँग कालिन्चोकलाई शान्त गन्तव्य बनाउन आग्रह ग-यौं। धार्मिकस्थललाई डिस्कोथेकमा रूपान्तरण गर्नु ठिक होइन। यसमा स्थानीय प्रशासन किन मौन छ ?

धार्मिक महत्व त छँदै छ, प्राकृतिक हिसाबले समेत कालिन्चोक क्षेत्र चित्ताकर्षक छ। डाँडाबाट अन्नपूर्ण, लाङटाङ, र रोल्वालिङ हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ। दोलखाको पहिचान गौरीशंकर हिमाल आँखैमा टाँसिन आइपुग्छन्। मौसम उघ्रिएका बेला नीलो आकाश मुन्तिर मोतीझैं चम्केका हिमाल आँखा नझिम्क्याई हेरिरहूँझै लाग्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ।

मन्दिरमा वर्षैभरि तिर्थालु पुग्छन्। असारदेखि भदौसम्म भने चहलपहल कम हुन्छ। पुस–माघमा हिउँ खेल्ने गन्तव्यका रूपमा समेत कालिन्चोकले ख्याति कमाउँदै छ। काठमाडौं नजिकको यस रमणीय गन्तव्यमा विशेषतः युवा हिउँ खेल्न पुग्छन्। 

कुरीमा दर्जनौं होटल खुलेका छन्। कुरी पहिला खर्क थियो। गाउँलेसँग जमिनको लालपूर्जा छैन। लालपूर्जा नभएको गुठीको जमिनमा ठूल्ठूला होटल बनाइएका।  राजनैतिक पहुँच र शक्तिका आडमा होटलमा लगानी बढेको हो। राम्रा होटल खुलेका छन्। तिनले महँगो शुल्क असुल्छन् तर पानीको राम्रो सुविधा दिँदैनन्। होटलको मापदण्ड कायम नहुँदा सय जनासम्म अटाउने होटल पनि खुलेका छन्।

कुरी बजारको अर्को ठूलो अव्यवस्था हो–रातको नाचगान। साँझदेखि मध्यरातसम्म होटलका आँगनमा नेपाली, हिन्दी र अंग्रेजी गीत घन्काइन्छ। नाचगान चल्छ। उफरमा बजेको चर्को गीतमा मदहोसीमा नाच्छन् युवा। संगीत र मदिराको मातले हरेक रात कुरी बजार डिस्कोथेक बन्छ। धार्मिकस्थललाई डिस्कोथेक बनाउन पाइन्छ ? अहँ पाइँदैन। 

केही दिन अघि ‘जाऔं है दोलखा’ अभियानमा कालिन्चोक पुग्दा हामीले स्थानीय पर्यटन व्यवसायी र आमा समूहसँग कालिन्चोकलाई शान्त गन्तव्य बनाउन आग्रह ग-यौं। पवित्र धार्मिकस्थलमा राति १२ बजेसम्म खुल्ला आकाशमुनि गीत घन्काएर नाचगान गर्नु कहाँसम्म न्यायोचित हो ? यसमा स्थानीय प्रशासन किन मौन छ ?

अर्को कुरा, क्याम्प फायरका नाउँमा राति अबेरसम्म आगो बाल्दा वन विनाश हुन्छ। यसमा पनि गम्भीर हुनुपर्ने बेला भैसक्यो।

फोहोर व्यवस्थापन पनि चुनौतिपूर्ण बन्दै गएको देखियो। कालिन्चोक क्षेत्रमा प्लास्टिक र फुटेका मदिराका सिसा छरपस्ट छन्। बरु कालिन्चोकलाई प्लास्टिक र काँचका बोतल निषेधित क्षेत्र बनाउन सके राम्रो हुन्छ। होटलवालाले फोहोर व्यवस्थापनमा ध्यान पु-याएको देखिएन।   

जीपवालाको मनोमानी पनि समस्याका रूपमा देखिएको छ। चरिकोटबाट देउरालीसम्म सडक पक्की छ। हिउँ पर्दा त्यहाँभन्दा मास्तिर गाडी लैजान कठिन हुन्छ। त्यतिबेला चक्कामा फलामे साङ्ला (चेन) लगाएर स्थानीय बोलेरो गुडाइन्छ। तिनले महँगो शुल्क असुल्छन्। शुल्क त महँगो लिन्छन् नै, घैंटोमा गुन्द्रुक कोचेझैं गाडीमा यात्रु कोच्छन्। सास्ती भोग्नुपर्छ यात्रुले।

कालिन्चोकमा केवलकार छ। भक्तजनको सुविधाका लागि केवलकार राम्रो हो। यसका सञ्चालकले आफ्नो स्टेशनदेखि माथि मन्दिरसम्म गोरेटोमा ढुंगा छाप्न र बलियो रेलिङ बनाउन योगदान गर्नुपर्ने देखिन्छ। त्यसो गरेमा उनीहरूलाई भगवतीको आशीष लाग्नेछ।

अब कुरा गरौं ‘जाऔं है दोलखा’ अभियानको। नेपालको स्वीजरल्याण्ड उपमा पाएको जिरी उपत्यकाका तन्नेरी लिलाराम खड्काको अगुवाइमा पर्यटन प्रवद्र्धन मञ्च, नेपालले अभियान चलाइरहेको छ। दोलखाका पर्यटकीय सम्पदाहरूको प्रचार गर्ने उद्देश्यले सञ्चालित अभियानले कालिन्चोक जस्ता स्थापित गन्तव्यहरूमा व्यवस्थित पर्यटनको अभ्यास गराउन सबैलाई झक्झक्याउनुपर्छ।

अन्त्यमा, छोटो समयमै चम्किएको कालिन्चोकको पर्यटनलाई दिगो बनाउन अहिले देखिएका समस्याको बेलैमा समाधान गरिनु पर्छ। आउनुस्, मर्यादित पर्यटनका लागि हातेमालो गरौं।  

कसरी पुग्ने : काठमाडौं–चरिकोट १३३ किमि, गाडीमा ५ घन्टा। चरिकोट–कुरी बजार १७ किमि, जिपमा डेढ घन्टा। कुरी–कालिन्चोक केवलकारमा ५ मिनेट। केवलकार स्टेशन–कालिन्चोक मन्दिर ७ मिनेट पदयात्रा। चरिकोटबाट हिँडेर जाँदा ६ घन्टामा कुरी बजार। कुरीबाट हिँडेरै मन्दिर पुग्न अर्को १ घन्टा।
 

भद्रगोल
सोनाम शेर्पा, संस्थापक अध्यक्ष, होटल संघ कालिन्चोक


कालिन्चोक बेस क्याम्प कुरीमा गुठीको जग्गामा होटल बनेका हुन्। चार वर्ष भयो होटल संख्या बढेका। कुरी भञ्ज्याङ र घ्याङ डाँडामा गरी ९० वटा होटल खुलिसके। यहाँका होटलमा एकै रात ४५ सय जनासम्म अटाउँछन्। दुई सय जनासम्म पाहुना राख्ने रिसोर्ट पनि छन्। होटलले आ–आफ्नै ढँगले मूल्य लिँदै आएका छन्। यसरी हुँदैन, होटलको बर्गिकरण गरेर मूल्य तोक्नु पर्छ। हामीले विसं २०६६ सालमा होटल संघ खोलेका थियौं तर सिडिओले चार वर्ष अघि हाम्रो संघ विघटन गरिदिए। त्यसैले रेखदेख गर्ने कुनै समिति नहुँदा यहाँ भद्रगोल भैरहेको छ।  
सम्पर्क : सोनाम शेर्पा–९८४४०६१२८८

प्रकाशित: १८ माघ २०७६ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App