काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर उपत्यका नगरपालिका फोरमले अन्तर्राष्ट्रिय मेयर सम्मेलन गर्ने भएको छ। काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको संगठन फोरमले शुक्रबार पत्रकार सम्मेलन गरी फोरमले आउँदो असोज २१ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय मेयर सम्मेलन गर्ने घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका नगरपालिकाहरूसँग भगिनी सम्बन्ध रहेका विश्वका विभिन्न नगर, सार्क तथा दक्षिणपूर्वी एसियाका राजधानीलगायत प्रमुख सहर तथा युनेस्को र विश्व सम्पदाका सहरहरूको संगठनमा आबद्ध सम्पदा सहरका नगरप्रमुख, नीतिनिर्माता एवं योजनाविद्लाई सम्मेलनमा सहभागी गराइने बताए।
विभिन्न देशका नगरप्रमुखबिच सहरहरूको दिगो रूपान्तरणको दिशामा हासिल गरेका अनुभव आदानप्रदान गर्ने, सहरीकरण तथा सम्पदा संरक्षणसित प्रत्यक्ष रूपमा सरोकार राख्ने पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउन पहल गर्ने, सहरहरूबिच सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन सहभागी सहरहरूबीच द्विपक्षीय र बहुपक्षीय संवाद हुने, समुदायको सशक्तीकरण तथा सुशासनको माध्यमले विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबिच सामाजिक सदभाव, आपसी सम्मान र विश्वास अभिवृद्धि गर्ने उद्देश्य लिई यो सम्मेलन गर्न लागिएको हो। पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आधिकारिक वेबसाइट आइएमसी डट २०२० डट ओआरजी डट एनपी पनि सार्वजनिक गरिएको थियो।
प्रकाशित: १८ माघ २०७६ ०३:१२ शनिबार