६ वैशाख २०८१ बिहीबार
अन्य

‘बालबालिकालाई रंगमञ्च बुझाउनुछ’

काठमाडौं - गत मंसिरमा उद्घाटन भएको काठमाडौं रातोपुलस्थित शैली नाटकघरले दुई नाटक मञ्चन गरिसकेको छ। अहिले भने यो नाटकघरले ११औं राष्ट्रिय बाल नाटक महोत्सव गर्दै छ। यही माघ २२ गतेदेखि हुने आठदिने महोत्सव र शैली नाटकघरको आगामी योजनाबारे नाटकघरका अध्यक्ष नवराज बुढाथोकीसँग गरिएको संक्षिप्त वार्ता :
 
भर्खरै खुलेको नाटकघरमा दुई नाटक मञ्चन गरिसक्नुभयो, कस्तो अनुभव रह्यो ?
भर्खरै हामीले ‘भुसको आगो’ र विवाहको प्रस्ताव मञ्चन ग-यौँ। हाम्रा लागि  यो परीक्षणको घडी थियो। नयाँ नाटकघरमा दर्शक आउँछन् कि आउँदैनन् भन्ने थियो, धेरथोर आइदिनुभयो, यही नै हाम्रो उपलब्धि हो। आर्थिक रुपमा भने हामी घाटामै छौँ। दुई वर्षअघि जतिखेर नाटक घर निर्माण सुरु भएको थियो, त्यतिवेलादेखि नै कहिले नाटक घरको निर्माण सकिएला र नाटक देखाउन पाइएला भन्ने लागिरहन्थ्यो। दुई वर्षको धैर्यतापछि नाटक मञ्चन गर्न पाउँदा खुसी लाग्यो। आफ्नै नाटक घरमा आफूले चाहे जस्तो तरिकाले नाटक गर्न पाउँदा सन्तुष्ट महसुस भयो।

काठमाडौंमा थुप्रै स्थापित नाटकघर छन्, यहीँ किन रोज्नुभयो, बाहिर सम्भव थिएन ?
शैलीको एउटा सपना र लक्ष्य थियो, आफ्नै नाटकघर निर्माण गर्ने। त्यसलाई हामीले पूरा गरेका हौं। काठमाडौंबाटै रंगमञ्चको सुरुवात गरियो। त्यसैले पनि यहीँ नाटकघर खोल्न उचित लाग्यो। अर्कोकुरा, यहाँ दर्शकको कमी नहोला भन्ने आशा पनि हो।

महोत्सवको तयारी कस्तो छ ?
तयारी राम्रै भइरहेको छ। महोत्सवमा भाग लिन आवेदन र स्क्रिप्ट दिएकामध्येबाट छानिएका १६ वटा नाटकको पूर्व तयारी सुरु भइसकेको छ। शैली थिएटर आफैँले पनि ‘सुनौलो माछा’ भन्ने नाटकको तयारी गरेको छ। महोत्सवका लागि गर्नुपर्ने अन्य काम पनि द्रूतगतिमा भइरहेका छन्। आशा गरौँ, विगतका महोत्सव जस्तै यो महोत्सव पनि सफल हुनेछ।  

बालनाटक महोत्सव गर्ने सोच कसरी आयो ?
ठूलाहरूका लागि त नाटक महोत्सव भइरहेकै छन्, तर बालबालिकाका लागि खासै हुँदैनन्। शैली थिएटरको पहिलो वार्षिकोत्सवमा केही नयाँ काम गरौँ भनेर यो महोत्सव गरेका हौँ।

यस्तो महोत्सव किन आवश्यक छ ?
रंगमञ्चको विकास, विस्तार गर्न, बालबालिकालाई रंगमञ्चप्रति आकर्षित गर्न, रंगमञ्चका माध्यमबाट बालबालिकालाई सही ज्ञान वा शिक्षा दिन पनि यस्तो महोत्सव आवश्यक छ।

राज्य र राज्यका निकायबाट कस्तो सहयोग मिलेको छ ?
अहिलेसम्म कुनै पनि प्रकारको सहयोग हामीले पाएका छैनौँ। फेरि पनि हामीले यसलाई सफल बनाउँछौँ। यसपछि अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्ने हाम्रो योजना छ।

शैलीको आगामी योजना के छ ?
अहिले त यस नाटकघरलाई चलाउनु नै हाम्रो ध्येय हो। यो नाटकघरमा नाटक मञ्चन भइरह्यो, दर्शकले साथ दिइरहनुभयो भने, हाम्रा योजना आफैँ बन्दै जान्छन्।

प्रकाशित: १८ माघ २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App