७ वैशाख २०८१ शुक्रबार
समाज

औषधि सेवन नगर्दा हात्तिपाईले रोग बढ्दै

दाङ- सर्वसाधारणहरुले औषधि नखाई दिँदा हात्तिपाईले रोग शून्यमा झार्ने सरकारी प्रयास बिफल बनेको छ। ६ वर्षमै यो रोगलाई शून्यमा झार्ने सरकारी अभियान थालिएको भए पनि सर्वसाधारणहरुले औषधि सेवन नगर्दा यो अभियान थप ४ वर्षपछि धकेलिएको छ। दाङ लगाएत १३ जिल्लामा पुनः १०औँ चरणको अभियान थालिँदै छ।

यसपटकको अभियानमा ७४ लाख ६१ हजार नागरिकलाई यो औषधि खुवाउने लक्ष्य सरकारले राखेको छ। ‘चार वर्ष अघिनै हात्तिपाईले रोग शून्यमा झार्ने सरकारी प्रयास हो,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले भनिन् ‘तर सर्वसाधारणहरुले औषधि सेवन नगरेका कारण यो अभियानले सार्थकता पाउन सकेको छैन।’ १० औँ चरणको यो अभियान अन्तर्गत दाङसहित झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बालुङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाईँदै छ।

हात्तिपाईले रोगको औषधि सेवन गर्दा शारीरिक तनाव हुने त्रासदीका कारण सर्वसाधरणहरुले यसको औषधि प्रयोगै गर्दैनन्। औषधिले पार्ने नकारात्मक प्रभाव बारे सर्वसाधारणहरुलाई सचेत नबनाईँदासम्म यो अभियानले सार्थकता नपाउने उनको भनाई छ।

‘हात्तिपाईले रोगविरुद्धको औषधि सेवनमा सर्वसाधारणहरु निकै डराउने गरेको पाईएको छ,’ उनले भनिन् ‘यो औषधि बारे परेको नकारात्मक प्रभावका बारेमा सचेतना जगाउन सकिएन भने सरकारी अभियानले सार्थकता पाउने देखिँदैन।’ औषधि सेवन गरेपछि रिंगटा लाग्ने, बान्ता हुने, बेहोस हुने समस्या निम्तने भन्दै सर्वसाधारणहरुले औषधि सेवन गर्न मान्दैनन्।

६ वर्षअघिदेखि थालिएको सो अभियानका क्रममा दाङमा अहिलेसम्म ५८ प्रतिशतले मात्रै उक्त औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य प्रमुख पौडेलले बताइन्। जनस्वास्थ्यका अनुसार जिल्लामा हात्तिपाईलेका कारण हाईड्रोशिल भएका १ हजार ६ सय १९ जना बिरामी छन्। यसैगरि खुट्टा सुन्निएका ४ सय २९, र हाईड्रोशिलसँगै खुट्टा सुन्निएका १६ गरि जिल्लामा २ हजार ५६ जनामा हात्तिपाईलेको संक्रमण रहेको छ।

 

प्रकाशित: १७ माघ २०७६ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App