४ वैशाख २०८१ मंगलबार
राजनीति

तोकिएकै समयमा नेविसंघको अधिवेशन हुनेमा आशंका

काठमाडौं - नेपाली कांग्रेसले बिहीबार राजीव ढुंगानाको नेतृत्वमा नेपाल विद्यार्थी संघ गठन(तदर्थ समिति) गरेको छ। दुई जना महामन्त्रीसहित घोषणा गरिएको कमिटिले पूर्णता भने पाइसकेको छैन। आगामी १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू हुने गरी विधान संशोधन गरेको नेविसंघले तदर्थ समितिमा भने ४६ वर्षीय ढुंगानालाई नेतृत्वमा ल्याएको हो।

निश्चित अवधि र ‘म्यान्डेड’ का लागि गठित नेविसंघले पाएको नेतृत्वप्रति विभिन्न कोणबाट टिका टिप्पणी हुन थालेको छ। वर्तमान विद्यार्थी वा विद्यार्थी नै भएर काम गरिरहेका व्यक्तिलाई अधिवेशनको जिम्मा दिनुपर्नेमा त्यसो हुन नसकेको कतिपयले तर्क गर्छन्।

यही तर्कसँग कांग्रेसका युवा नेता गगन थापा पनि सहमत छन्। तर तदर्थ समिति नेविसंघको विधानअनुसार नभई पार्टीले बनाउने भएकोले आपत्तिकै विषय भने नभएको थापाको भनाइ छ। वर्तमान ‘विद्यार्थीलाई नै नेतृत्वमा ल्याएको भए हुन्थ्यो। विद्यार्थी नै भएर काम गरिरहेकालाई नेतृत्व दिने कुरा उत्तम हुन्थ्योे।’ थापाले नागरिकसँग भने ‘हामीले निरन्तर त्यही कुरा भनिरहेका थियौं। तर त्यो भएन। तर पार्टीले निर्णय नै गरिसक्यो। यो नेविसंघको विधानअनुसार बनेको कमिटी पनि होइन। पार्टीको विधानमा टेकेर बनेको कमिटि हो। यही विषयमा धेरै टिप्पणी गर्न आवश्यक छैन।’

कमिटि निर्माण वा नेतृत्वका विषयमा टिप्पणी गर्नुभन्दा आगामी कार्यक्रममा ध्यान दिनुपर्ने उनको तर्क छ। ‘यसले एक दिन पनि खेर नफालेर काम गरोस्। तोकिएको ६ महिनामै अधिवेशन सम्पन्न गरोस्। त्यतातिर ध्यान दिनुपर्छ।’ उनले भने। सबैलाई सहमतिमा लिएर तोकिएकै समयमा नयाँ निर्वाचित नेतृत्वलाई नेविसंघ हस्तान्तरण गर्नुपर्ने उनको सुझाव छ।

यस्तै नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष मनोजमणि आचार्य ढिलै भए पनि कमिटि बन्नु सकारात्मक भएको बताउँछन्। सहमति र परम्परागत रुपमा तदर्थवादी नेतृत्व आएको उनको तर्क छ। ‘यो अस्वभाविक हो। तर पार्टी र संगठनलाई अगाडि लैजान यसको विकल्प थिएन।’ उनले भने, ‘धेरै टिका टिप्पणी, बहस र उतारचढावकाबीच यो कमिटि आएको छ। एकदमै मिठो चाहि म भन्दैन। तर नेविसंघ जीवन्त राख्न यो आवश्यक थियो।’

कमिटिमै असन्तुष्टि जनाउनेभन्दा पनि अब सबैले एक भएर अघि बढ्नुपर्ने उनको तर्क छ।  ‘कमी कमजोरी प्रसस्त छन्।’ उनले भने, ‘असन्तुष्टिहरु पनि थुप्रै छन्। तर ती केलाउँदै जाने हो भने हामी गन्तव्यमा ठाउँमा पुग्न सक्दैनौं। असन्तुष्ट रहेका सबैलाई मिलाएर जानुपर्छ। यसलाई सकारात्मक रुपम लिएर अगाडि बढ्नुको विकल्प छैन।’

नेतृत्वको दौडमा रहेका पूर्व सहमहामन्त्री पुष्पराज शाहीले पनि यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। ‘पार्टीले निर्णय गरिसकेपछि यसलाई स्वीकार गर्नैपर्छ।’ उनले भने, ‘उमेरको कुरा जुन छ। त्यसको त व्यक्तिगत रुपमा म विरोधी नै हो। कसैलाई पनि उमेरहदको सिन्डिकेट लाउनु हुँदैन। यो त हटाउनुपर्छ भन्ने नै मेरो मान्यता हो। बाँकी उमेर हदकै कुरा गर्ने हो भने पनि त्यो १२ औं महाधिवेशनमा लागू हुने हो।’

६ महिनामै अधिवेशन हुनेमा आशंका
बिहिबार गठित तदर्थ समितिलाई आगामी ६ महिना भित्र अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ। तर उक्त समयमा अधिवेशन हुनेमा भने अधिकांशले आशंका व्यक्त गरेका छन्। पूर्व सहमहामन्त्री शाहीले त त्यो दिवासपना मात्रै भएको टिप्पणी गरे। नागरिकसँगको कुराकानीमा ६ महिनामै अधिवेशन हुन्छ भन्ने आफूलाई नलागेको उनले बताए। ‘ ६ महिनामै हुन्छ भन्ने मलाई लाग्दैन। हुन पनि सक्दैन। बिगतमा यस्तो देखेका छौं। यसले ६ महिनामा अधिवेशन गर्छ भन्नु दिवासपना मात्रै हो।’

वर्तमान कमिटिले तोकिएकै समयमा अधिवेशन गर्नेमा अर्का पूर्व केन्द्रीय उपाध्यक्ष आचार्य पनि विश्वस्त छैनन्। नेतृत्वमा पुगेपछि सहज ढंगले नेतृत्व हस्तान्तरण नगर्ने पुरानो परिपाटीका कारण पनि यो सम्भव नहुने उनको तर्क छ।

‘नेतृत्वमा नपुग्ने पुगेपछि सहज ढंगले हस्तान्तरण नगर्ने पुरानो पराम्परा छ। पदमा टासिरहनुपर्छ भन्ने मनोभाव विगतदेखिको छ। यसले आशंका गर्ने ठाउँ रहन्छ।’ तर बिगतको पराम्परालाई क्रमभंग गर्दै भए पनि यो कमिटिले तोकिएकै समयमा अधिवेशन गर्नुपर्ने उनको भनाइ छ। ‘क्रमभंग हुनुपर्छ भन्ने हो। तर अझैं कमिटीले पूर्णता पाएको छैन। पहिलो पाइलामा नै समस्या छ। तर हुनुपर्छ भन्ने मेरो धारणा हो।’ उनले भने।

कमिटिलाई पूर्णता दिन ढिलाइ गर्दा त्यसको असर अधिवेशनमा पर्ने युवा नेता गगन थापाको भनाइ छ। ‘जति ढिला गर्यो त्यती नै समय लम्बिन्छ। अन्नतः ६ महिनामा अधिवेशन नहुने सम्भावना रहन्छ। त्यसले गर्दा कमिटी बनेन, हाम्रो समय गयो भन्ने अवसर तदर्थ समितिले पाउँछ। अहिले कमिटीले पूर्णता पाउन १०÷१२ दिन मात्रै लाग्ने हो भने पनि म्याद नाघिहाल्छ।’ उनले भने।

कमिटिलाई पूर्णता दिँदा असन्तुष्ट पक्षलाई पनि साथमा लिएर गर्नुपर्ने उनको भनाइ छ। केही विद्यार्थी साथीहरु अनसनमा बस्नु भएको छ। उनले भने, ‘उनीहरुको माग सम्बोधनमा ढिलाई गरियो भने पनि त्यसमा अधिवेशनमै असर पुग्छ। अनसनका विषयलाई पनि समेटेर जानुपर्छ।’

तोकिएको ६ महिनामा अधिवेसन गर्ने कुरा कमिटीमा बस्न र अधिवेश होस भन्ने चाहना राख्नेहरुमा भर पर्ने उनले बताए। ‘कमिटिमा बस्नेले क्यालेन्डर नै बनाएर काम गर्ने र बाहिर भएका साथीहरुले पनि निरन्तर दबाव सिर्जना गर्ने हो भने तोकिएकै समयमा पनि हुनसक्छ। तर नेतृत्वमा भएकाहरुले कति तदारुकता देखाउँछन् र बाहिर बस्नेहरुले कति दबाव सिर्जना गर्न सक्छन् भन्ने कुरामा भर पर्छ।’

तर निरन्तर दबाव दिन नसकिएको खण्डमा अधिवेसन तोकिएकै मितिमा हुनेमा उनले पनि आशंका व्यक्त गरे। ‘साथीहरुले दबाव दिन सकेनन् भने कमिटीमा बस्ने साथीहरुमा पनि लोभ पलाउँदै जान्छ। अनी तीन चार महिनापछि यस्तो अवस्था आउँछ कि अधिवेशनको कुनै प्रारुप नदेखेपछि पार्टीले  उसलाई फेरि तन्काइ दिन्छ। बाहिर बस्ने साथीहरुले जति दबाव दिन सक्यो त्यती नै समयमै हुने सम्भावना देखिन्छ। सम्भावना म त देख्छु र होस भन्ने चाहन्छु।’

तोकिएकै समयमा अधिवेशन हुन्छः अध्यक्ष ढुंगाना
यता नेविसंघ तदर्थ समितिका अध्यक्ष राजीव ढुंगानाले भने तोकिएकै समयमा अधिवेसन गर्न आफू प्रतिवद्द रहेको बताएका छन्। तदर्थ कमिटिले तीन चार दिनमा पूर्णता पाउने बताउँदै अध्यक्ष ढुंगानाले भने, ‘पार्टीमा सहमति भैसकेको छ। दुई तीन दिनमा कमिटिले पूर्णता पाउँछ। तोकिएकै मितिमा अधिवेशन हुन्छ। हामी गर्छौ। बिगतमा नभएका उदारहण भएकोले आशंका उत्पन्न भएको हो। तर पनि हामी त्यसलाई चिर्दै तोकिएकै मितिमा अधिवेशन गर्छौ। म ६ महिनामा अधिवेश गराएरै छोड्छु।’

साथै उनले उमेरहद १२ औं महाधिवेसनमा लागू हुने भएकोले यसमा अनावश्यक टिप्पणी गर्न आवसश्यक नरहेको बताए। ‘यो ११ औं महाधिवेसनको को निरन्तरता हो। १२ औं अधिवेशन हुन नसकेको, ११ औं महाधिवेशनबाट आएको समिति भंग भएको र १ वर्षसम्म पनि नेविसंघले नेतृत्व नपाएको विशिष्ठ परिस्थितिमा आएको नेतृत्व हो यो। नेविसंघलाई पनि नेतृत्व दिने र पार्टीसँग पनि समन्वय गर्ने भएकोले पाको नेतृत्व आएको हो। ११ औं महाधिवेशनबाट आएको नेतृत्व र मेरो उमेर कति नै फरक छ र ?’ प्रश्न गर्दै उनले भने। यसअघि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि नेविसंघ विघटन गरिएको थियो।

प्रकाशित: १७ माघ २०७६ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App