७ वैशाख २०८१ शुक्रबार
अन्य

गोलका साहु

सन्तोष साहुखल अर्थात् शहिद स्मारक ए डिभिजन लिग गोलका साहु । बुधबार नेपाल पुलिसविरुद्ध बराबरी गोल फर्काउँदै च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर साहु खलले सयाैं गोलको कोसे ढुंगा पूरा गरे ।

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको नेपाल पुलिसविरुद्धको खेलको १८ औं मिनेट चलिरहेको थियो । च्यासल युथ क्लब नेपाल पुलिसविरुद्ध १–० ले पछि थियो । मिडफिल्डर हेमन्त थापाले प्रहार गरेको फ्रि किक पुलिसका गोल किपर शत्रुधनकुमार चौधरीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा प्राप्त बललाई सन्तोषले जाली चुमाएका थिए ।

सन्तोषकै दुई गोलमा उनको टोलीले पुलिसविरुद्ध २ पटक पछि परेको स्थितिमा पुलिससँग अंक लिन सफल भयो । खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच खेलको म्यान अफ दी म्याच रहेका सन्तोषलाई लिगमा सय गोल पूरा गरेको भन्दै मायाको चिनो प्रदान गर्‍यो । जहाँ उनले सय गोल अंकित टि–सर्ट लगाएका थिए । उनकै टोलीले पनि सन्तोषसँगै मैदानमा सामूहिक तस्बिर लियो । हेर्दा लाग्थ्यो लिगको सय गोल सन्तोषका लागि विशेष बन्यो ।

तर सन्तोषले भने लिगमा सय गोल पूरा गरे पनि त्यो आफ्नो प्राथमिकता भएको प्रतिक्रिया दिए । ‘मलाई लिगमा सय गोलको कुनै भावना छैन,’ सन्तोषले भने, ‘म टोलीलाई कसरी सुखद् भन्दा सुखद् नतिजा ल्याउँदै टोली अंक तालिकाको राम्रो स्थानमा ल्याउने भन्नेमा केन्द्रित छु । सय गोल मेरो व्यक्तिगत उपलब्धि होला तर त्योभन्दा महत्वपूर्ण मेरो टोलीले ल्याउने नतिजा हुन्छ ।’ ‘मलाई सय गोलको कुनै दबाब थिएन,’ ठट्यौली शैलीमा सन्तोषले भने, ‘म सामाजिक सञ्जाल र समाचारहरु त्यत्ति फलो गर्दिनँ । त्यसैले ममा कुनै दबाव थिएन ।’

सन्तोषको जारी लिगमा भने ५ औैं गोल हो । सन्तोषले जारी लिगमा मच्छिन्द्रविरुद्ध गरेको गोल आफूले ए डिभिजन लिगमा गरेको सय गोलमध्यकै स्मरणीय गोल भएको बताए । दाजु बालगोपाल साहुखलको प्रेरणाबाट फुटबलमा प्रवेश गरेका सन्तोष आबद्ध ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबबाट खेलेको यो लगातार दोस्रो सिजन हो ।

१२ वर्षअघि राष्ट्रिय टोलीबाट भारतविरुद्ध विश्वकप २०१० को छनोट खेल्दा सन्तोष राष्ट्रिय टोलीमा थिए । त्यसपछि टोलीमा देखिएको उतारचढावपछि सन्तोष राष्ट्रिय टोलीमा अटाएका छैनन् । यद्यपि सन्तोषको फुटबलको भोक लिगमा देखिएको लयले प्रस्ट पारेको छ । उनी अझै फर्ममा छन् । तर पनि जापान बसाइ फलदायी भएको भन्दै फुटबलमा फिटनेस र लगाब जरुरी भएको सन्तोषले बताए ।

‘एउटा खेलाडीका लागि फिजिकल फिटनेस र डाइट निकै महत्वपूर्ण हुन्छ । सँगै टेक्निकल विषय पनि उत्तिकै जरुरी हुन्छ,’ राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सन्तोषले भने, ‘जापान बसाइले मलाई कसरी खेलाडी बन्न सिकाएको छ । निरन्तर मिहिनेत एउटा खेलाडीको सबल पक्ष हो ।’

आफ्नै दाजु बालगोपाल साहुखलले सम्हालेको क्लब च्यासल युथ क्लबबाट जारी लिगमा प्रतिनिधित्व गरेका सन्तोष यसअघि राष्ट्रिय टोलीमा रहँदा प्रभावशाली प्रदर्शन गर्दै नाम कमाएका थिए । बीचमा हराएका सन्तोषको अहिले पनि प्रभाव उत्तिकै छ । कारण उनको खेल शैली । उनका दाइ तथा च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले पनि भाइको प्रशंसा गर्दै जर्सी नं ९ का लागि सन्तोष योग्य भएको प्रतिक्रिया दिए ।

‘मेरा लागि नेपालमा थोरै मात्र खेलाडी नं ९ का लागि योग्य छन्,’ सन्तोषका दाजु बालगोपालले भने, ‘जापान बसाइले पहिलेभन्दा अहिले परिपक्व सन्तोष बनाएको छ । टेक्निकल्ली र फिजिकल्ली कसरी खेल्ने सबै कुरामा जानकार भएका छन् ।’

‘म लिगमा सधैँ उत्कृष्ट खेल्थे तर पनि राष्ट्रिय टोलीमा परेर पनि पहिलो रोजाइमा अवसर पाउँदैन थिएँ । त्यसमा भने मलाई दुःख लाग्थ्यो,’ सन्तोषले भने, ‘राष्ट्रिय टोलीले मेरो आवश्यकता सम्झेर टोलीमा बोलायो भने म अवश्य फर्कनेछु ।’

२०७२ को भूकम्पपछि थलिएको रंगशालामा लिग नहुँदा उनीलगायत धेरै खेलाडी विदेश पलायन भए । केही मोफसलका गोल्ड कप खेल्दै खेलको प्यास मेटाइरहे । भूकम्पपछि करिब ५ वर्षको अवधिमा लिग शून्य रह्यो । फुटबलको निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सञ्चालन गर्न सकेन । एन्फामा नेतृत्वदेखि खेलाडीबीचमा निकै ठूलो उतारचढाव आयो ।

तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी म्याच फिक्सिङको विवादमा मुछिए । एन्फाले तत्कालीन उपाध्यक्ष रहेका कर्माछिरिङबाट नयाँ नेतृत्व पायो । राष्ट्रिय टोलीमा नयाँ खेलाडीको आगमनसँगै एकाएक हराएका सन्तोष २०७५ को रेलिगेसनविनाको लिगमा फर्किएका थिए । त्यो सिजन पनि उनले आकर्षक खेल पस्कँदै उत्तिकै फर्ममा रहेको प्रस्ट्याएका थिए ।

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमै रंगशाला प्रवेश गर्थे । थ्री स्टारको जर्सी फेरेर मैदान छिर्थे । उनको त्यो लगाब र थ्री स्टारप्रतिको मायाले थ्री स्टार तीनपटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो । केही वर्ष हराएका सन्तोषमा जापानको सिकाइले परिपक्वता देखिएको अवश्य हो । 

विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट राष्ट्रिय जर्सी पहिरिएका सन्तोष स्कुलस्तरीय प्रतियोगिता हुँदै भक्तपुरको क्लब मध्यपुर युथ क्लबबाट आफ्नो व्यावसायिक खेल थालेका थिए । थ्री स्टार, एपीएफ, मनाङ र च्यासलबाट खेलेका सन्तोषले बंगलादेशको क्लब अभानी चितागोंगमा तीन सिजन बिताएका थिए ।

‘सन्तोष (भाइ) ले हात पारेको हरेक सफलतामा मलाई गर्व लाग्छ,’ प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘उसले थ्री स्टारबाट लिगमा डेव्यु गोल गर्दा म बेन्चमा थिएँ । त्यस क्षण पनि म खुसी थिएँ । र आज पनि म उनले पूरा गरेको सय गोलको कोसेढुंगाबाट पनि हर्षित छु ।’ बालगोपालले सन्तोषले ए डिभिजन लिगमा हात पारेको यो कीर्तिमान लामो समयसम्म कायम रहने बताए ।

शहिद स्मारक ए डिभजन लिगमा सन्तोषले गरेको गोलहरु

साल क्लब गाेल
२०६० थ्रिस्टार क्लब
२०६१ एपीएफ क्लब 
२०६२ थ्रिस्टार क्लब
२०६३ थ्रिस्टार क्लब ११
२०६६-२०६७ थ्रिस्टार क्लब १९
२०६८ मनाङ मस्र्याङदी क्लब १६
२०६९ थ्रिस्टार क्लब १७
२०७० थ्रिस्टार क्लब
२०७५ च्यासल युथ क्लब
२०७६ च्यासल युथ क्लब ५(पाँचाैं चरणसम्म, लिग जारी)

 

 

प्रकाशित: १७ माघ २०७६ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App