coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

कोरोना भाइरसको सक्रमणको डरले सुनसान बनेको चिनको वुहान सहरमा हिँडिरहेको एक जोडी । तस्बिर : एजेन्सी

वुहान - प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिने त्रासले चीनका सबै सहर सुनसान र निर्जन बनेका छन्। यसले अहिलेनै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्कादिने संकेत देखाएको छ। मध्यचीनको वुहान सहरबाट भाइरस फैलिइरहँदा अधिकारीहरुले विगतमा चिनियाँ अर्थतन्त्रलाई धक्कादिएको सार्स जस्तै प्रकृतिको यसको संक्रमण रोक्न आक्रामक उपाय अवलम्बन गरेका छन्। जसमा सार्वजनिक यातायातमा नियन्त्रण, मनोरञ्जन स्थलहरु बन्दगर्ने, कार्यालय समय घटाउने लगायत छन्।

अमेरिकासँग पहिलो चरणको व्यापारिक सम्झौतामा हस्ताक्षर गरी सन् २०२० को आर्थिक वृद्धिलाई स्थिर बनाउने प्रयास चीनले गरिरहेको बेला सुरुमा वुहान र हुबेई प्रान्तका अधिकारीहरुको गल्तीसमेतका कारण कोरोनाभाइरस तीव्र गतिमा फैलनथाल्यो। महाशक्ति अमेरिकासँगको व्यापार युद्धका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकचीनको सन् २०१९ को आर्थिक वृद्धिदर २९ वर्षकै सबैभन्दा कमजोर छ।

तर अझसम्म संक्रमणका घटना नभएका इलाकामा प्रतिबन्ध लगायत सरकारी नियन्त्रणको अवस्था हेर्दा अर्थतन्त्रमा कोरोना भाइरसको असर सन् २००२–२००३ फैलिएको सार्सको भन्दा गहिरो र फराकिलो हुने आँकलन गर्न थालिएको छ। सांघाई र हान्झोउको बीचमा पर्ने सहर हाइनिङका अधिकारीहरुले लुनार नयाँवर्षको पहिलो दिन सर्वसाधारणलाई घरघरै पुगेर बाहिर ननिस्कन र पारिवारिक भोजभतेर रद्द गर्न सुझाव दिएका थिए। सिनेमाहल, व्यापारिक मल, काराओके लाउन्ज, माहजोङ हाउस (जुवाघर) र सार्वजनिक स्नानागारलाई अनिश्चितकालसम्म बन्द गर्न आदेश दिइएको छ।

अमेरिकासँग पहिलो चरणको व्यापारिक सम्झौतामा हस्ताक्षर गरी सन् २०२० को आर्थिक वृद्धिलाई स्थिर बनाउने प्रयास चीनले गरिरहेको बेला फैलिएको कोरोना संक्रमण्मको मूल्य निकै मंहगो हुने देखिएको छ ।

आवागमनमा सरकारले प्रतिबन्धन लगाएपनि सहरका केन्द्रभाग डरलाग्दो किसिमले सुनसान छन् भने खुल्ने समय घटाएका सुपरमार्केटहरुमा चामल जस्ता अत्यावश्यक सामान एकछिनमै सकिन्छन्। बिहीबार हुँदा यो भाइरसबाट मर्नेको संख्या एक सय ७० पुगेको र झण्डै आठ हजार हाराहारी मानिस संक्रमित भएको अधिकारीहरुले बताएका छन्। हाइनिङ सहरमा संक्रमणको घटना सार्वजनिक नभएपनि ए लेबलको इमरजेन्सी घोषणा गर्ने पहिलो प्रान्त झेजियाङ भरका लागि स्थानीय सरकारले पहिले नै विभिन्न उपायहरु अपनाएको छ ।आधिकारिक रुपमा हुबेईका १६ वटा सहरमा यात्रा प्रतिबन्ध लगाइएपनि चीनका सात सय सिटी र २० हजार टाउनका सडकहरु रित्तै भेटिन्छन्।

साना आकारका रोड अवरोधहरु मुलुकभरी नै बर्खेच्याउ जस्तै भेटिन्छन्। सहरी बासिन्दाघरको ढोकाबन्द गरेर बसेका छन् भने ग्रामीण भेगमा अन्यत्रका मान्छेलाई छिर्न दिइएको छैन। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै आफूखुसी सडकमा अवरोध खडा गर्नु गैरकानुनी हुने भनेर सर्वसाधारणलाई सम्झाइरहेको छ। हुबेई प्रान्तको वुहानबाट आठ सय किलोमिटर परको सहर हान्दानका बासिन्दाहरु आइतबार कोरोना भाइरसका दुईवटा घटना पुष्टि भएपछि तयारी चाउचाउ तरकारी र किन्न दौडेर सुपरमार्केट पुगे। स्थानीय वालमार्टमा निर्मलीकरणका लागि प्रयोग हुने र प्रत्येक ग्राहकले खोज्न सक्ने सेतो भिनेगार लगायतका सामानको स्टक सीमित भएको छ।

मुख छोप्ने मास्कपनि सहरका फार्मेसीहरुबाट रातारात सकिएभने सर्जिकल स्पिरिटको आपूर्ति पनि घटेको छ। सहरका आवासीय परिसरमा कसैलाई जान दिइएको छैन। एउटा टोलको मान्छे र कारलाई अर्को टोलमा जान दिइएको छैन। अधिकांश रेस्टुराँ, पसल र कफी सपहरु बन्द भएका छन् र सहर अत्यासलाग्दो किसिमले सुनसान छ। अझै खुला रहेको केही स्थानमा पनि ग्राहकलाई शरीरको तापक्रम नापेर मात्र प्रवेश गर्न दिइन्छ। यस्तो दृश्य चीनका प्रमुख सहरहरुमा लुनार नयाँ वर्षको बिदामा पनि देखिएको थियो, जुन लाखौं करोडौं चिनियाँ नागरिक किनमेल र मनोरञ्जनका लागि घरबाहिर ओहोरदोहोर गर्ने समय हो। सधैं भिडभाड हुने राजधानी बेइजिङ सहरमा फाट्टफुट्ट कार र मानिस देखिन्छन्। वाङजिङका उपनगर वुमार्ट र हुआलिआनका सुपरमार्केटमा भएका मास्क, निर्मलीकरण गर्ने जेल र स्प्रे सकिएका छन्। ‘यी सामान त उहिल्यै सकिएको,’ एकजना पसलले भने।

मुलुककै सबैभन्दा व्यस्त र लामो सांघाईबाट बेइजिङ जाने तीव्रगतिको रेल जी१४ भित्रजाँदा माघ १३ गते पाँच सिटमध्ये मुस्किलले एउटामा यात्रु थिए। सांघाईले सबै कारखाना र निर्माण क्षेत्रलाई फेब्रुअरी १० सम्मकाम रोक्न आदेश दिएको छ। घट्दो उपभोग र उत्पादनको आर्थिक मूल्यभने अहिलेसम्म अज्ञात नै छ। यो संक्रमण चिनियाँ अर्थतन्त्रमा हुने क्षति सार्स संक्रमणको बेलाको भन्दा बढी हुने संकेत देखिएको छ। टिङ लुले नेतृत्व गरेको नोमुरा अर्थविद्हरुले बुधबार वुहान कोरोना भाइरसले अर्थतन्त्रलाई २००३ को सार्सले भन्दा ठूलो धक्कादिने देखेका छन्। उनीहरुले चीनको सन् २०२० को पहिलो त्रैमासको वृद्धिदर अनुमान गरिएको ६ प्रतिशतमा दुईभन्दा बढी प्रतिशत बिन्दुले घट्ने अनुमान गरेका छन्।

प्रकाशित: १७ माघ २०७६ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App