coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कोरोनाविरुद्ध चीनको युद्ध

चीनमा लगभग ७ हजार नेपाली विद्यार्थी अध्ययनरत छन्। तीमध्ये हुपेई प्रान्तमा मात्र १ सय ७७ जना छन् भने कोरोना भाइरसको उद्गमस्थल उहानमा पुगनपुग सय जना छन्। उहान हुपेई प्रान्तको सदरमुकाम हो। उहानमा रहेका नेपाली विद्यार्थीमध्ये केही जाडो बिदामा नेपाल फर्केका छन्। तीमध्ये एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसबाहेक चीनमा रहेका अथवा नेपाल फर्केका अन्य नेपालीमा यो स्तम्भ लेख्दासम्म कोरोना संक्रमण देखिएको छैन। विशेषगरी उहानमा रहेका नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहे पनि मानसिक रूपमा निकै आतंकित बनेका छन्।

गत डिसेम्बर तेस्रो साता चीनको हुपेई प्रान्तको सदरमुकाम उहानबाट फैलिएको कोरोना भाइरसले यतिबेला चीनलाई आक्रान्त बनाएको छ। तिब्बतबाहेक सबै प्रान्तमा कोरोना भाइरस फैलिइसकेको छ। बुधबार अपराह्नसम्मको तथ्यांकअनुसार चीनमा कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाको मृत्यु भइसकेको छ। तीमध्ये हुपेई प्रान्तका मात्र १ सय २५ जना छन्। चीनमा ६ हजार ४५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये हुपेईमा मात्र ३ हजार ५ सय ५४ व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ। चीनबाहेक थाइल्यान्डमा १४, अमेरिकामा ५, अस्ट्रेलियामा ५, जापानमा ७, सिंगापुरमा ७, मलेसियामा ७, दक्षिण कोरियामा ४, फ्रान्समा ४, भियतनाममा २, क्यानाडामा ३, कम्बोडियामा १, श्रीलंकामा १, जर्मनीमा ४ र नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। चीनमा लगभग १० हजार जनालाई कोरोना भाइरस संक्रमण भएको आशंकामा चिकित्सकीय निगरानीमा राखिएको छ। अहिलेसम्म कोरोनाबाट संक्रमितमध्ये १ सय १० जना उपचारपछि निको भएका छन्।    

चिनियाँ परम्परागत पात्रोअनुसार यो जनवरी २५ तारिख मुसा वर्ष सुरु भएको छ। तर त्यसको ३ दिनअगाडि अर्थात् जनवरी २२ देखि उहानमा कोरोना भाइरस फैलिएको समाचार सार्वजनिक भयो। जसका कारण चीनको नयाँ वर्षसमेत खल्लो बन्न पुग्यो। कोरोना संक्रमणको खबर सार्वजनिक हुनेबित्तिकै चिनियाँ प्रशासनले उच्च सतर्कता अपनायो। चिनियाँ कम्युनिस्ट पार्टी, हुपेई प्रान्तीय कमिटीले जनवरी २४ शुक्रबारदेखि उहान सहर तथा हुपेई प्रान्तलाई ‘सिल्ड’ गर्ने निर्णय ग¥यो। जसअनुसार उहानमा रेलवे, विमान सेवा, निजी तथा सार्वजनिक सवारीसाधन आवागमन अनिश्चित समयका लागि बन्द गरिएका छन्। नयाँ वर्षका लागि शुक्रबारदेखि सार्वजनिक बिदा हुँदै थियो। तर कोरोना भाइरसको त्रासका कारण त्यसअघि नै हुपेईबाट झन्डै ५० लाख मानिस बाहिरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।

पछिल्लो अवस्था हेर्दा कोरोना भाइरसबाट संक्रमण तथा मृत्यु हुने दर अनुमान गरेजस्तो भयावह देखिएको छैन। बुधबार साँझसम्म १ सय ३२ जनाको मृत्यु भएको छ। लाखौं संक्रमितमध्ये १ सय ३२ जनाको मृत्यु भएको हो भने यो ठूलो संख्या होइन। तर, संक्रमितको संख्या लाखौं नभएर केही हजार मात्र हो भने यो मृत्युदर निकै उच्च हो। कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रण गर्न मौसम पनि परिवर्तन हुन आवश्यक छ। विज्ञहरूका अनुसार यी भाइरस जाडोमा फैलिन्छन् र गर्मीमा मर्छन्। चीनमा आगामी २ महिनासम्म चिसो हुने भएकाले कोरोना नियन्त्रण गर्न पनि कम्तीमा त्यत्ति नै समय लाग्ने अनुमान गर्न सकिन्छ।

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो। चीनसँग सन् २००३ मा सार्सको सामना गरेको अनुभव पनि छ। त्यतिबेला बेइजिङमा स्याउ थाङ शान अस्पताल निर्माण गरिएको थियो। जुन विश्वमै छोटो समयमा निर्मित अस्पताल हो। तर अहिले फेरि कोरोना उपचारका लागि उहानमा केवल २ सातामा सक्ने गरी दुई ठूला अस्पताल निर्माण गर्दै चीनले त्यो रेकर्ड आफैंले तोड्दै छ र विश्वलाई आश्चर्यचकित बनाउँदै छ। जनवरी २३ तारिख निर्माण सुरु गरिएको हजार शै्ययाको होसनसान अस्पताल फेब्रुअरी २ तारिखमा तयार हुँदैछ भने जनवरी २५ तारिख थालिएको १६ सय शै्ययाको लेइसनसान अस्पताल फेब्रुअरी ५ तारिख पूरा हुँदै छ। यी दुवै अस्पताल कोरोना भाइरस संक्रमितको मात्र उपचार गर्न निर्माण भइरहेका हुन्। चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिले उल्लिखित दुई अस्पताल निर्माण तथा महŒवपूर्ण स्वास्थ्य उपकरण खरिदका लागि केन्द्रीय बजेटबाट ३० करोड युआन छुट्याएको छ। चाइना ग्लोबल टेलिभिजनले भिडियो एपबाट चिनियाँ समयअनुसार बुधबार बिहान ३ बजे अस्पताल निर्माण भइरहेको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो। उद्घोषण तथा संगीतबिना गरिएकोे प्रत्यक्ष प्रसारण ३ करोड दर्शकले हेरेका छन्।

मंगलबार मध्यरातसम्म चीनका २९ प्रान्त, सहर तथा प्रदेशबाट लगभग ६ हजार चिकित्सक कोरोना भाइरसका संक्रमितको उपचारका लागि उहान पुगेका छन्। कोरोना भाइरसको उत्पत्तिस्थल उहानबाहेक चीनका ३० वटा प्रान्तले आपतकालीन सार्वजनिक स्वास्थ्य अभियान थालिसकेका छन्। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले गरेको पत्रकार सम्मेलनमा चिकित्सा प्रशासन ब्युरोका उपप्रमुख स्याउ याह्वीले दिएको जानकारीअनुसार खटिएका चिकित्सकसँग प्रशस्त अनुभव छ। तीमध्ये धेरै जनाले सार्स र अफ्रिकामा इबोला महामारी नियन्त्रणमा सहभागी भएका थिए। उहान युनियन अस्पतालले नयाँ कोरोना भाइरसको न्युक्लिक एसिड परीक्षण प्रयोगशाला स्थापना गरिसकेको छ। यो प्रयोगशालाले ६ घण्टामै कोरोना संक्रमण भए÷नभएको निक्र्याेल गर्न सक्छ।

चीनका राष्ट्रपतिसमेत रहेका चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा सी चिनफिङको अध्यक्षतामा बसेको पोलेटब्युरो बैठकले कोरोना भाइरस नियन्त्रण गर्न गम्भीर कदम चाल्ने निर्णय गरी प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा कोरोना भाइरस नियन्त्रण टोली गठन गरेको छ। गत सोमबार प्रधानमन्त्री लीले उहान भ्रमण गरी कोरोना नियन्त्रणका लागि विशेष निर्देशन जारी गरेका छन्।

चीनले यही सन् २०२० भित्र आफ्नो देशको गरिबी निमिट्यान्नै पार्ने लक्ष्य राखेको छ। दुर्भाग्य ! वर्षको सुरुमै कोरोना भाइरस संक्रमण फैलिँदा चीनलाई अर्बौं क्षति पुगेको छ। यो वसन्त चाड (चिनियाँ नयाँ वर्ष) मा चिनियाँ नागरिकले आफ्नो वार्षिक खर्चको एकतिहाइ खर्च गर्थे भने ३ अर्ब चिनियाँ यात्रा गर्दै चाड मनाउँथे। तर कोरोना भाइरसका कारण अधिकतर चिनियाँले यस्तो यात्रा स्थगित गरेका छन्। फलतः चालु वर्ष चीनको आर्थिक वृद्धिदरमा पनि प्रभाव पर्ने देखिएको छ। संकटसँग पौंठेजोरी खेलिरहेको चीनलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेका छन्। यतिबेला विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुस चीनमै छन्। कोरोना भाइरस नियन्त्रणमा चीनले देखाएको सक्रियता र पारदर्शी कामप्रति टेड्रोसले उच्च प्रशंसा गरेका छन्। केही देशले चीनबाट आफ्ना नागरिकलाई उद्धार गरी लाने भनेकामा  विश्व स्वास्थ्य संगठनले समर्थन रहेको तर चीन सरकारको क्षमताप्रति आफूलाई पूर्ण विश्वास रहेको उनले बताए।

चीनले खुला र पारदर्शी रूपमा समयमै कोरोना भाइरस संक्रमणबारे सूचना दिइरहेको छ। बेला–बेला संक्रमित तथा मृतकको संख्या अध्यावधिक गर्दै चीनले यसको अवस्थाबारे विश्व स्वास्थ्य संगठनलाई पनि समयमै जानकारी गराएको छ। आफ्नो मुलुकभित्र मात्र नभएर बाहिरी देशमा हुने महामारी नियन्त्रणमा पनि चीनले महŒवपूर्ण योगदान दिएकाले विश्व स्वास्थ्य संगठनले चीनको प्रशंसा गरेको हो।

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटेरेसले पनि  कोरोना भाइरस नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरेको छ। यो भाइरस नियन्त्रणमा चीन सफल हुने विश्वास व्यक्त गर्दै उनले यसमा संयुक्त राष्ट्र संघका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कोरोना भाइरसकै कारण चिनियाँ नयाँ वर्ष– वसन्त चाडको बिदा अरू दुई दिन लम्ब्याइएको छ। त्यस्तै नयाँ वर्षका अवसरमा बेइजिङबाट बाहिर गएका सबैलाई  फर्किएपछि १४ दिनसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ। कोरोना संक्रमण भए त्यसका लक्षण १४ दिनमा देखिने अनुमानका आधारमा यो विधि अपनाइएको हो। सबै व्यक्तिको बाँच्न पाउने अधिकारलाई प्राथमिकतमा राखेर चीन यतिबेला कोरोना भाइरसविरुद्ध युद्ध लडिरहेको छ।

बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो(सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत

प्रकाशित: १७ माघ २०७६ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App