७ वैशाख २०८१ शुक्रबार
समाज

काेराेना भाइरसकाे त्रास, पोखरामा छैन राम्रो तयारी

पोखरा  - चिनियाँ पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा नोवल कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढी भए पनि यहाँका अस्पतालले अहिलेसम्म कुनै तयारी थालेका छैनन्। पोखरामा त्यस्ता बिरामी भेटिइनसकेकाले तत्काल हतार गरिहाल्नुपर्ने जरुरी नरहेको अस्पताल सञ्चालक तथा सरोकारवालाहरूको भनाइ रहेको छ।

पोखरामा ठूला अस्पताल धेरै रहे पनि कोरोनाका बिरामीको उपचारका लागि सीमित अस्पतालले मात्र सामान्य पूर्वतयारी गरेका छन्। चिनियाँ पर्यटक पोखरा भित्रिने नाका, विमानस्थल र पर्यटकीय गतिविधि हुने लेकसाइडमा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने योजना बने पनि सुरु भइसकेको छैन। केही अस्पतालले कोरोनाका बिरामी आउन सक्ने भन्दै भिन्नै ठाउँमा सीमित शड्ढया व्यवस्थापन गरे पनि ठूला अस्पतालको अवस्था भने कमजोर छ। सबैभन्दा बढी समस्या यहाँका अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट उपलब्ध छैन। किट नभएकाले समस्या आए लक्षण हेरेका भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताएका छन्।

कोरोना भाइरस संक्रमित बिरामी आउनसक्ने सम्भावना भएको भन्दै गण्डकी मेडिकल कलेज (जिएमसी) ले पाँचवटा क्याबिन (१५ शड्ढया) को भिन्नै उपचार–कक्ष व्यवस्था गरेको चिकित्सक टुमाया घलेले जानकारी दिइन्। ‘लक्षणका आधारमा सम्भावित संक्रमितलाई भिन्नै वार्डमा १० दिन राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्, ‘धेरैतिर बिरामी भेटिए पनि चीनका केही सहरका मात्र बिरामीको मृत्यु भएकाले तत्काल डराइहाल्नु जरुरी छैन। तर सचेत भने हुनैपर्छ।’ रुघाखोकी लागेका बिरामी लामो समय निको नभएको अवस्थामा कोरोना भाइरसको आशंका गर्नेबाहेक विकल्प नभएको उनले बताइन्।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) का निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार सो अस्पतालले कोरोना भाइरसका सम्भावित संक्रमतिका लागि अहिलेसम्म एउटा भेन्टिलेटर र तीनवटा बेडमात्र तयारी अवस्थामा राख्ने योजना बनाएको छ। ‘अस्पतालमा पर्याप्त ठाउँ छैन,’ आचार्यले भने, ‘हाललाई तीनवटा शड्ढया र एउटा भेन्टिलेटरको व्यवस्था गरेका छौं। अवस्था हेरेर तदारुकता देखाउनुपर्ने हुन्छ।’ उनले अहिलेसम्म संक्रमित बिरामी नआइसकेकाले पनि हतार गर्नु जरुरत नभए पनि सचेतता अपनाउनु भने आवश्यक रहेको बताए।

पर्यटकीय सहर भएकाले पोखरामा पर्याप्त चिनियाँ पर्यटक भित्रिने हुँदा कोरोना भाइरसका बिरामी फेला पर्नसक्ने जोखिम बढी रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। सन् २०१९ मा नेपाल भित्रिने चिनियाँको संख्या एक लाख ६८ हजार पाँच सय ४३ थियो। यो संख्या सन् २०१८ मा एक लाख ५३ हजार ६ सय ३३ थियो। नेपाल आएका चिनियाँ पर्यटकमध्ये धेरैजसो पोखरा भित्रिने भएकाले पोखरा यो संक्रमणको उच्च जोखिममा रहेको उनीहरूको भनाइ छ।

प्रदेश स्वास्थ्य निर्देशनालका आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले पोखरामा चिनियाँ पर्यटक भित्रिने मूल–नाकासहित तीन ठाउँमा हेल्थ–डेस्क राख्ने तयारी भएको जानकारी दिए। उनका अनुसार हवाई मार्गबाट आउने चिनियाँका लागि पोखरा विमानस्थल, पर्यटकीय क्षेत्र लेकसाइड र पोखरा भित्रिने मूल–नाका पृथ्वी राजमार्गको लेखनाथमा हेल्थ–डेस्क राखेर चिनियाँ पर्यटकसहित चीन आउजाउ गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरिने तयारी भइरहेको छ। ‘पर्यटक भित्रिने नाका र स्रोतमा त हेल्थ–डेस्कको व्यवस्थापन गर्दैछौं तर सुरु भइसकेको छैन,’ उनले भने, ‘पोखरा विमानस्थलमा तत्काल सुरु भइहाल्छ।’ कोरोना भाइरस संक्रमित बिरामीलाई विशेष उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने हुँदा पोखरा क्षेत्रभित्र सञ्चालित अस्पताललाई तयारी गर्न भनिएको उनले जानकारी दिए। जिएमसीबाहेक पश्चिमाञ्चल र मणिपाल शिक्षण अस्पतालले पनि भिन्नै शड्ढया राख्ने तयारी गरेको अधिकृत आचार्यले बताए। कोरोना भाइरसका बिरामी पुष्टि गर्नसमेत समस्या रहेको आचार्यको भनाइ छ।

त्यसबाहेक मान्छेबाट मान्छेमा यो रोग सर्ने जोखिम भएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग २५ वटा ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई)’ माग गरिएको सूचना अधिकृत आचार्यले बताए। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर रामबहादुर क्षेत्रीले ठूला अस्पतालमा अरू बिरामीको चाप भएकाले तत्काल शड्ढया छुट्याउन समस्या भइरहे पनि केही शड्ढया तयारी अवस्थामा राख्ने निर्णय भएको बताए।

‘रुघाखोकी लाग्दैमा डराउन जरुरी छैन तर चीनबाट भित्रिएका वा चिनियाँसँग संसर्ग भएका व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिए सचेत हुनु जरुरी छ,’ क्षेत्रीले भने, ‘कोही सम्भावित संक्रमित पोखरामा भेटिइहाले पनि उनीहरूको नमुना परीक्षणका लागि पोखरामा प्रयोगशाला छैन।’ अहिले कोही बिरामीले कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गराउनुपरे काठमाडौं पठाउनुपर्ने अवस्था रहेको छ। उनका अनुसार काठमाडौंमा पनि कोरोना भाइरस पहिचान गर्ने किट पर्याप्त छैन। नेपालका लागि अहिलेसम्म सयवटा किटमात्रै आएको छ ।

प्रकाशित: १७ माघ २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App