८ वैशाख २०८१ शनिबार
समाज

२५ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिँदै

बारा - चार स्थानीय तहका १२ वटा वडालाई प्रत्यक्ष फाइदा हुने दुई लेनको २५ किलोमिटर ग्रामीण सडकलाई कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ। ७ मिटर चौडाइ कालोपत्रे र १५ किलोमिटरको दुवै छेउमा नाला र आवश्यकअनुसर सडक पेटीसमेत निर्माण गर्ने उद्देश्यकका साथ सडकनिर्माण सुरु गरिएको हो।

कृषि उपजलाई सहज रूपले बजारसम्म पु-याउने उद्देश्यले भारत सरकारको सहुलियत ऋण सहयोगमा सडक निर्माण अगाडि बढाइएको बताइएको छ। कलैया उपमहानगरपालिकाको बसन्तपुर, सुवर्ण गाउँपालिकाको कवहीगोठ, देवताल गाउँपालिकाको प्रिपाढी र महागढीमाई नगरपालिकाको पत्रहटी गरी चार स्थानीय तहका लगभग १२ वटा वडाका स्थानीय सो सडकबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

भारत गुजरातको दिनेशचन्द्र राज अग्रवाल इन्फ्राकन र कोटेश्वरको शंकरमणि निर्माण सेवासँग संयुक्त रूपमा (जेभी­) सडकलाई ३० महिनाभित्र निर्माण गर्न २०७५ माघ १० गते ठेक्का सम्झौता गरिएको सडक सुधार तथा विकास आयोजना निर्देशनालय, बसन्तपुर–कटहरिया–कवहीगोठ–पिप्राढी–गण्डक नहर–मलंगवा सहरी सडक आयोजना निजगढले जनाएको छ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०७८ साउनसम्म सडक निर्माण सम्पन्न गर्दा ८६ लाख ५१ हजार ९६ अमेरिकन डलर भुक्तानी पाउने सो आयोजनाका निजगढ प्रमुख राजेन्द्र साहले बताए। सम्झौता रकमबाटै निर्माण कम्पनीहरूले सर्लाही मलंगवाको १५ किलोमिटर सहरी सडकसमेत बनाउनुपर्ने आयोजना प्रमुख साहले बताए। २५ किलोमिटर लामो निर्माणाधीन बसन्तपुर–कटहरिया–कवहीगोठ–पिप्राढी –पदम रोड सडकखण्डको चौडाइ नौ मिटरदेखि १२ मिटरसम्म रहेको छ।

कलैया उपमहानगर–२० बसन्तपुरमा स्थानीयको बढी क्षति हुने भएकाले सडकको डिपिआर तयार गर्ने बेलामा ९ दशमलव २ मिटर मात्रै चौडा गरिएको र अन्य स्थानमा १२ मिटर चौडा गरिएको आयोजनाका तत्कालीन प्रमुख गोपालप्रसाद खकुरेलले बताए। साविकको सडकको मध्य भागबाट दायाँबायाँ विस्तार गरेर ९ दशमलव २ देखि १२ मिटर चौडा जग्गा स्थानीयको सहमतिमा सडक निर्माणका लागि लिइए पनि त्यसबाट ७ मिटर चौडाइमा कालोपत्रे र बस्तीहरू भएका स्थानमा गरी १५ किलोमिटिर लामो सडकको दुवै छेउमा नाला र आवश्यकता अनुसार सडक पेटीसमेत निर्माण हुने खकुरेलले बताए।

सडक विस्तारका क्रममा हुने स्थानीयको भौतिक संरचनाको क्षतिपूर्ति दिनसमेत बजेट व्यवस्था गरिएको आयोजनाका अधिकारीले दाबी गरेका छन्। निर्माण कम्पनीहरूले ठेक्का सकार गरेपछि एक वर्ष ढिलो गरी काम सुरु गरेको खकुरेलले बताए। दिनेशचन्द्र र शंकरमणि जेभीका प्रतिनिधि प्रह्लाद श्रेष्ठले सडकभित्र पर्ने स्थानीयले घरटहरा खाली गराउन ढिलाइ गरेपछि सडकनिर्माण ढिलो सुरु गरिएको बताए।

उनले अहिले सडकको सीमांकन गरेर दुवै छेउमा आवश्यकताअनुसार नाला निर्माण सुरु गराइएको र छिटोभन्दा छिटो नाला निर्माण सक्नका लागि बस्तीपिच्छे धेरै जनशक्ति परिचालन गरिएको दाबी गरे। चिसोले दिनमा चार घण्टा काम हुने गरे पनि समयमै सडक निर्माण सक्न घाटा सहेर पनि सयौंको संख्यामा मजदुर र मिस्त्री काममा खटाइएको अर्का प्रतिनिधि उमेश खनालले जानकारी दिए। सडकनिर्माण सुरु गरिए पनि सडकमा रहेका विद्युतीय पोल र तार हटाउन भनिरहँदा पनि त्यसलाई हटाउन ढिलाइ गरिएपछि काम नै अगाडि बढाउन समस्या भएको खनालले बताए। उनले सडकखण्डमा साना र ठूला गरी ५२ वटा कल्भर्ट निर्माण गर्नसमेत जनशक्ति परिचालन गरिएको दाबी गरे।

भारतको सिमानामा पर्ने कवहीगोठ हुँदै पदम रोड भएको पत्रहटीसम्म जोड्ने निर्माणाधीन सडकको निर्माण सम्पन्न भएपछि यस क्षेत्रका किसानले उत्पादन गरेका, तरकारी, दूधलगायत खाद्य वस्तु कलैया, वीरगञ्जलगायत स्थानका पु¥याउन सजिलो हुने विश्वास गरिएको बसन्तपुरका केदार साहले बताएका छन्।

प्रकाशित: १७ माघ २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App