७ वैशाख २०८१ शुक्रबार
अर्थ

३२ यातायात कार्यालयमा बिमा काउन्टर

काठमाडाैँ - तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन भएपछि मुलुकका यातायात कार्यालयमा निर्जीवन बिमा कम्पनीका कार्यालय सञ्चालन हुने भएका छन्। गोलाप्रथाबाट मुलुकका ३२ वटा यातायात कार्यालयमा २० वटा निर्जीवन बिमा कम्पनीलाई बिमा कम्पनीका काउन्टर खोल्न तोकेको नेपाल बिमक संघले जनाएको छ।

संघका अनुसार नयाँ व्यवस्थाअनुसार शिखर इन्स्योरेन्स कम्पनीले मुलुकका तीन स्थानमा काउन्टर सञ्चालन गर्न पाउने भएको छ। भक्तपुरको तीनकुने, झापाको विर्तामोड र उदयपुरको गाईघाटमा तेस्रो पक्ष बिमाका लागि काउन्टर खोल्नु पर्नेछ। त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले काठमाडाैँको सतुंगल, ललिपुरको एकान्तकुना र सुर्खेतस्थित यातायात कार्यालयमा बिमा काउन्टर खोल्नु पर्नेछ।

नेसनल इन्स्योरेन्सले प्रदेश २ को लहान, बर्दिबास र काठमाडाैँको सतुंगलमा काउन्टर खोल्न तोकेको संघले जनाएको छ। संघका अनुसार एनएलनी इन्स्योरेन्स कम्पनीले काठमाडाैँको सतुंगल, प्रदेश २ को लहान र दाङको भालुवाङस्थित यातायात कार्यालयमा काउन्टर सञ्चालन गर्नुपर्नेछ। युनाइटेड इन्स्योरेन्स कम्पनीले मुलुकका तीनवटा यातायात कार्यालयमा काउन्टर खोल्नु पर्ने छ। काठमाडाैँको सतुंगल, बाँकेको नेपालगन्ज, बाग्लुङमा तेस्रो पक्ष बिमाका लागि काउन्टर खोल्नु पर्नेछ।

३२ वटा यातायात कार्यालयमा २० वटा निर्जीवन बिमा कम्पनीलाई बिमा कम्पनीका काउन्टर खोल्न तोकिएकाे हाे।

त्यसैगरी, ओरियन्टल इन्स्योरेन्सले काठमाडाैँको सानो भ-याङ, बाँकेको नेपालगन्ज र नवलपुरको कावासोतीस्थित यातायात कार्यालय परिसरमा काउन्टर सञ्चालन गरी तेस्रो पक्ष बिमा गर्नुपर्नेछ। एभरेस्ट इन्स्योरेन्सको भागमा पनि तीन यातायात कार्यालय परेका छन्। काठमाडाैँको सानो भ-याङ, झापाको विर्तामोड र तनहुँको डुम्रेस्थित यातायात कार्यालयमा बिमा काउन्टर सञ्चालन गर्नुपर्ने संघले जनाएको छ। त्यसैगरी, प्रभु इन्स्योेरेन्सलाई बिमा काउन्टर खोल्न भैरहवाको बुटवल, भरतपुरको चितवन र काठमाडाैँको सानो भ-याङस्थित यातायात कार्यालय तोकेको जनाइएको छ।

संघका अनुसार प्रिमियर इन्स्योरेन्सलाई काठमाडाैँको सानोभ-याङ, ललितपुरको एकान्तकुना र डोटी जिल्लाको दिपायलस्थित यातायात कार्यालय तोकिएको छ। नेपाल इन्स्योरेन्स कम्पनीले नवलपुरको कावासोती, ललितपुरको एकान्तकुना र सुनसरीको इटहरीस्थित यातायात कार्यालयमा तेस्रो पक्ष बिमाका लागि काउन्टर सञ्चालन गर्नुपर्नेछ। त्यसैगरी, नेको इन्स्योरन्सले मुलुकका तीन यातायात कार्यालयमा बिमा काउन्टर खोल्नु पर्नेछ। कम्पनीलाई मोरङको विराटनगर, कैलालीको धनगढी र सुनसरीको इटहरीस्थित यातायात कार्यालयमा बिमा काउन्टर सञ्चालन गर्नु पर्नेछ।

सगरमाथा इन्स्योरेन्सले सुनसरीको इटहरी, पर्साको वीरगन्ज र धनकुटाको यातायत कार्यालयमा बिमा काउन्टर सञ्चालन गर्नु पर्नेछ। जनरल इन्स्योरेन्सले भक्तपुरको तीनकुने, झापाको विर्तामोड र डडेल्धुरा जिल्लास्थित यातायात कार्यालयमा तेस्रो पक्ष बिमाका लागि काउन्टर सञ्चालन गर्नुपर्ने भएको छ। त्यसैगरी, सरकारी मातहतमा रहेको राष्ट्रिय बिमा कम्पनीले भक्तपुरको तीनकुने, पर्साको विरगंज र पाल्पा जिल्लास्थित यातायात कार्यालय तोकेको संघले जनाएको छ। हिमालयन जनरल इन्स्योरेन्सले बुटवलको मणिग्राम, जनकपुर र भैरहवास्थित यातायात कार्यालयमा बिमा काउन्टर सञ्चालन गर्न तोकिएको संघले जनाएको छ।

आइएमई जनरल इन्स्योरेन्सले बुटवलको मणिग्राम, जनकपुर, इलामस्थित यातायात कार्यालयमा बिमा काउन्टर सञ्चालन गर्नुपर्नेछ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले बुटवलको मणिग्राम, कैलालीको धनगढी र मकवानपुरको हेटौंडास्थित यातायात कार्यालयमा तेस्रो पक्ष बिमाका लागि काउन्टर खोल्न तोकेको संले जनाएको छ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कास्कीको पोखरा, भरतपुरको चितवन र जुम्ला यातायात कार्यालयमा काउन्टर खोल्नु पर्नेछ। पु्रडिन्सियल इन्स्योरेन्सले कास्कीको पोखरा, भरतपुरको चितवन र दाङको तुलसीपुरस्थित यातायात कार्यालयमा बिमा काउन्टर खोल्न तोकेको जनाइएको छ।

संघका अनुसार अजोड इन्स्योरेन्स कम्पनीलाई कास्कीको पोखरा र ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय तोकिएको छ। संघको पहलमा पारदर्शी र सहज बनाउने उद्देश्यले कार्यविधि तयार गरी सम्पूर्ण निर्जीवन बिमा कम्पनीलाई पुलमार्फत मोटर तेस्रो पक्ष बिमा कार्यक्रम सञ्चालन भएको थियो। सोको व्यवस्थापन नेपाल पुनर्बिमा कम्पनीले गर्ने सहमति भएको संघले जनाएको छ।

प्रकाशित: १७ माघ २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App