७ वैशाख २०८१ शुक्रबार
समाज

वनमा फोहोर फाल्न रोकः धरानमा दुई सातापछि प्रशोधन केन्द्र परीक्षण हुने, इटहरीमा अन्योल

इटहरीको सेफ्टीट्यांकीको समेत फोहोर फालिएको वनक्षेत्र। तस्बिर: नागरिक

धरान  - सुनसरीका दुई उपमहानगर धरान र इटहरीले केही वर्षदेखि नगरको फोहोर संकलन गरी वनक्षेत्रमा फाल्दै आएका छन्। तर जथाभावी रूपमा वनक्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै वन कार्यालयले वनमा फोहोर फाल्न रोक लगाएको छ। वन कार्यालयका अधिकृतहरूले स्थलगत अवलोकनको क्रममा इटहरीबाट नगरको फोहोरसँगै सेफ्टी–ट्यांकीको फोहोरसमेत फालेको र आगो लगाउने गरेको भेटेपछि यो कदम चालिएको हो। वन कार्यालयले इटहरी उपमहानगरको फोहोर संकलन र व्यवस्थापनको जिम्मा लिएको वेस्ट टु इन्भारो म्यानेजमेन्टको गाडीलाई वनक्षेत्रमा फोहोर लिएर जान दिएको छैन भने धरान उपमहानगरलाई पनि चाँडो वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिसकेको छ।

सब–डिभिजन वन कार्यालय तरहराले इटहरीबाट फोहोर बोकेको गाडीलाई जंगलतर्फ आउन नदिई फर्काउन थालिएको जनाएको छ। सब–डिभिजन प्रमुख अवधेशकुमार गच्छदारका अनुसार गत वर्षको साउनसम्मका लागि मात्र इटहरीलाई हाँसपोसा सामुदायिक वन समूहको क्षेत्रमा फोहोर राख्न दिइएको थियो। त्यो म्याद गुज्रिएको पनि डेढ वर्ष बितिसकेको छ। ‘इटहरीबाट फोहोर बोकेको गाडीलाई जंगलक्षेत्रमा पस्न दिएका छैनौं, सरोकारवाला वन समूहलाई पनि अब कडाइ गर्न भनेका छौं,’ गच्छदारले भने, ‘एक वर्षमात्र भनिएको थियो, दुई वर्षबितिसक्यो। फोहोरले वातावरणलाई धेरे प्रदूषित गरेकाले यो कदम चाल्नुप¥यो।’

इटहरीको फोहोर हाँसपोसा सामुदायिक वन समूहको हाताभित्र फाल्ने गरिएको थियो भने धरानको फोहोर बाँझगरा सामुदायिक वन समूहको क्षेत्रमा पर्ने सेउती खोला किनारमा फाल्ने गरिएको छ। फोहोर वनक्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठे पनि सुनुवाइ भएको छैन। फोहोरमा आगो पनि लगाउने झन्डै एक किलोमिटर क्षेत्रमा रुख–बिरुवा केही पनि नभएको सब–डिभिजन कार्यालय विष्णुपादुकाका प्रमुख ज्ञानकुमार लामाले बताए। ‘इटहरी र धरानका जनप्रतिनिधिलाई फोहोर फाल्न नरोके गाडी पनि समात्छौं भनिसकेका छौं। इटहरीबाट त गाडी जंगलमा आउनै दिएका छैनौं,’ लामाले भने, ‘दिउँसो रोके पनि राति कतिखेर आएर फाल्ने गरेको छ, तर अब हामी त्यसमा पनि कडाइ गर्छाैं। यो सबैको सरोकारको विषय भएकोले सबैतिरबाट आवाज उठ्नुपर्छ।’

वनक्षेत्रमा जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषित भएको छ भने फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले जंगली वन्यजन्तुको जीवनमा पनि असर पुगेको छ। कतिपय वन्यजन्तु घाइते हुने र फोहोर खान आएका बेला सिकारीको पासोमा पर्ने गरेका छन्।

वनक्षेत्रमा जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषित भएको छ भने फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले जंगली वन्यजन्तुको जीवनमा पनि असर पुगेको छ। कतिपय वन्यजन्तु घाइते हुने र फोहोर खान आएका बेला सिकारीको पासोमा पर्ने गरेको लामाले बताए। फोहोर फालेको क्षेत्रमा झन्डै एक किलोमिटर क्षेत्रफलमा नयाँ रुखविरुवा उम्रिएका छैनन् भने कोसी राजमार्गको जंगल क्षेत्रमा फैलिने प्रदूषित हावाका कारण यात्रु तथा सवारीचालकको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ।

खाडल खनेर फोहोर पुर्दै इटहरी
वनले फोहोर फाल्न रोक लगाएपछि इटहरी उपमहानगरले जेसिभि र दमकल पठाएर जंगलभित्र थुपारिएको फोहोर व्यवस्थापन गर्न थालेको छ। खाडल खनेर त्यसमा अहिलेसम्मको फोहोर हाल्ने र चार फिट माटो हाल्ने तयारी छ। त्यसपछि त्यहाँ रुख, विरुवा रोप्न सकिन्छ। इटहरीको अन्यत्र कहीं पनि फोहोर फाल्ने विकल्प नभएकाले बाध्य भएर वनक्षेत्रमा नै राख्नुपरेको इटहरीका वातावरण अधिकृत पुष्पनारायण चौधरीले बताए। ‘फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिइएको छ, हामीले उसलाई पनि कडा रूपमा निर्देशन दिइसकेका छौं,’ उनले भने।

इटहरी उपमहानगरले २० वर्षका लागि सम्झौता गरेर वेस्ट टु इन्भारो म्यानेजमेन्ट प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ। २०७५ वैशाखमा नौ महिनाभित्र सड्ने फोहोरबाट उर्जा निकाल्ने, पुनःप्रयोग गर्न मिल्ने र दुवै गर्न नसक्ने फोहोरलाई ल्यान्डफिल गर्ने गरी सम्झौता गरेको थियो। तर तोकिएको समयमा सम्झौताअनुसार काम हुन नसकेपछि पहिलो पटक तीन महिनालाई समय थपिएको थियो भने अहिले दोस्रो पटक २०७७ सालसम्मका लागि म्याद थपिएको छ। ‘कार्यपालिका बैठकले दोस्रो पटक म्याद थपेको छ, त्यो समयभित्र उसले जसरी पनि काम गरिसक्नुपर्छ,’ चौधरीले भने, ‘त्यो बेलासम्मको लागि हाम्रो अरू कुनै विकल्प नै छैन। आगो नलाग्ने गरी रेखदेखको व्यवस्था गर्न भनेका छौं।’ इटहरीले वेस्ट टु इन्भारो मेनेजमेन्टलाई मुख्य चोकक्षेत्रमा फोहोर संकलन, नाला सफाइ र मृत पशुको शव संकलन गरी हटाउने कामको लागि मासिक तीन लाख रुपैयाँ दिने गरेको छ।

प्रशोधन केन्द्रको परीक्षण तयारी

वन कार्यालयले धरान उपमहानगरलाई पनि वनक्षेत्रमा फोहोर नफाल्न आग्रह गरिसकेको छ। धरानले सेउती खोला किनारको खाली जग्गामा फोहोर विसर्जन गर्ने गरेको छ। धरानका वातावरण अधिकृत भेषराज घिमिरे धरानको फोहोरबाट उर्जा निकाल्ने प्रशोधन केन्द्र दुई साताभित्र परीक्षण सुरु हुने भएकोले त्यसबेलासम्म पर्खिदिन आग्रह गरिएको बताउँछन्। साथै फोहोर फाल्ने गरेको वनक्षेत्रको ठाउँमा पनि व्यवस्थित गरिएको उनको दाबी छ।

धरानले फोहोरबाट उर्जा निकाल्न वेस्ट टु इनर्जी प्रालिसँग सम्झौता गरेको छ। प्रालिले धरान–६, पानवारीमा प्रशोधन केन्द्र स्थापना गरेको छ। त्यहाँ प्लान्ट स्थापना भइसकेको छ भने भारतबाट प्राविधिकहरू ल्याएर प्रशिक्षण दिने काम भइरहेको छ। यो केन्द्र सञ्चालनमा आएपछि दैनिक रूपमा ३५ टनभन्दा बढी संकलन हुने धरानको फोहोरको व्यवस्थापन हुने अपेक्षा गरिएको छ। केन्द्रबाट दैनिक ३० मेट्रिक टन उर्जा निकाल्ने लक्ष्य छ।

प्रालिका अनुसार धरानको फाल्नुपर्ने फोहोर १० प्रतिशत जति मात्र हुनेछ भने २० प्रतिशत पुनःप्रयोग गर्न सकिने फोहोर हुनेछ। बाँकी ७० प्रतिशत अग्र्यानिक फोहोरलाई प्रशोधन गरेर उर्जा निकालिनेछ। त्यहाँबाट दैनिक एक हजार दुई सय सिलिन्डर ग्यास उत्पादन हुने अनुमान गरिएको छ।

 

प्रकाशित: १७ माघ २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App