coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सुझाव

बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभ्नुपर्ने विषयमा कांग्रेसले पार्टी कार्यालयमा गरेको छलफलमा उपस्थित नेता। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज – प्रदेश ५ मा रहँदा बाँके र बर्दिया जिल्ला हरेक हिसाबले पछाडि पर्ने निस्कर्ष निकाल्दै नेपाली कांग्रेसका अधिकांश नेता, कार्यकर्ताले कर्णाली प्रदेशमा गाभिनुको विकल्प नरहेको पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न पार्टी नेतृत्वले सबै पक्षसँग समन्वय गर्नुपर्ने कांग्रेस नेता, कार्यकर्ताले बताए। यसका लागि कांग्रेस बाँके र बर्दियाको एउटै धारणा बन्नुपर्ने र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सहित अन्य दलसँग समन्वय, सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिइएको छ।

कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति रमेश गुप्ताले बाँके र बर्दियाको समग्र विकासका लागि प्रदेश पाँचमा रहनुभन्दा कर्णालीमा गाभिनुपर्ने उत्तम विकल्प रहेको बताए। ‘कर्णाली प्रदेशसँग बाँके र बर्दियाको सदियौंदेखि सम्बन्ध रहेको छ, प्रदेश ५ मा रहनुभन्दा बाँके र बर्दियाको समग्र विकासका लागि कर्णालीमै गाभिनुपर्छ,’ उनले भने। क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले कर्णाली प्रदेशमा गाभिनुपर्ने माग बाँकेवासीको जनमनमा रहेको बताए।

‘हामीले बुटवललाई विरोध गरेका छैनौं, बाँके र बर्दियाका लागि बुटवल अपायक परेको हामी कर्णाली प्रदेशमा जानुपर्छ,’ उनले भने। जनमनको मागलाई कांग्रेसले कदर गर्नुपर्ने क्षेत्रीय सभापति खत्रीले बताए। राज्य पुर्नसंरचना गर्दाखेरी नै बाँके र बर्दियालाई ओझेलमा पर्ने गरी गरिएको स्मरण गराउँदै कांग्रेस नेता, कार्यकर्ताले अब कर्णालीमा गाभिनुपर्ने मुद्दा पार्टी जिल्लादेखी केन्द्रबाट जोडतोडका साथ उठाउनुपर्ने अधिकांशको सुझाव छ।

नेपाली कांग्रेसका नेता एवम् नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बाँके र बर्दियाबासीको सहजताको लागि राजधानी सुर्खेत भए पनि कर्णालीमा गाभिनुपर्ने बताए। कर्णालीमा गाभिदा कुनै दल तथा जातिय संगठनलाई चित्त नबुझेको हुन सक्नेतर्फ संकेत गर्दै उनले भने, ‘बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभ्दा प्रदेश पाँचको भन्दा धेरै बढी यहाँबाट बढी आरक्षण पाउने अवसर प्राप्त हुन्छ।’ बाँके र बर्दिया गाभिएमा कर्णाली प्रदेश उत्तरी नाका चीनसँग र दक्षिणी नाका भारतसँग जोडिने बताए। यसले कर्णाली प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पु-याउने उनको विश्वास छ। साविक मध्य र सुदुरपश्चिमको केन्द्रका रुपमा रहेको नेपालगन्ज प्रदेश ५ को अस्थायी राजधानीको प्रतिस्पर्धामै पर्न सकेन। अस्थायी राजधानी बुटवल तोकिएपछि यहाँको उद्योग, व्यवसाय धरासायी बन्दै गएको छ।

कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य अच्युत प्रसाई बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिएमा यहाँको अर्थतन्त्रमा सुधार आउने तर्क गर्छन्। ुबाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभियो भने यहाँका होटल व्यवसायी पुरानै अवस्थामा फर्किनेछन्, नेपालगन्जमा औद्योगिक हबका रूपमा विकास हुनेछ, कर्णालीको बिजुली बाँके र बर्दियामा आउँनेछ, कर्णाली प्रदेशले पनि उत्तरमा चीन र दक्षिणमा भारतीय नाकासँग आफूलाई जोड्न सक्नेछ,’ प्रसाईंले भने।

कांग्रेस बाँके सभापति किरण कोइरालाले पनि बाँकेवासीको सहजता र हरेक सुविधाको हिसाबले कर्णाली प्रदेशमा जोडिनुपर्ने धारणा व्यक्त गरेकी छन्। यद्यपी, पार्टीभित्र यस विषयमा अझै घनिभुत रुपमा छलफल तथा बहस चलाएर निचोड निकालिने उनको भनाइ छ। ‘अधिकांश साथीको धारणा कर्णाली प्रदेशमा गाभिनुपर्ने छ, नबुझेका साथीलाई बुझाएर भए पनि पार्टीको एउटै धारणा बनाएर लैजानुपर्छ,’ कोइरालाले भनिन्।

प्रदेश ५ मा रहँदा बाँके र बर्दिया पछाडि परेको निष्कर्षसहित यहाँका नेकपा, नेपाली कांग्रेस, राप्रपालगायत दलका कतिपय नेताले कर्णाली प्रदेशमा गाभ्ने कसरत सुरु गरिसकेका छन्। प्रदेश पाँचको अस्थायी राजधानी बुटवल हुँदा बाँके र बर्दिया हरेक हिसाबले वञ्चित हुनु परेको र स्थायी राजधानी दाङभन्दा पूर्व तोकिए पनि दुई जिल्लालाई पायक नपर्ने भन्दै प्रदेश ५ बाटै अलग गराउनुपर्ने माग जोडदार रूपले उठिरहेको छ।

प्रकाशित: १७ माघ २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App