coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय निकायकाे चुनावको पक्षमा पाैडेल

काठमाडौं–स्थानीय तह की निकायको चुनाव भन्ने बारेमा दलहरुबीच विवाद बढिरहेको बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने स्थानीय निकायको चुनावको पक्षमा प्रस्ट रुपमा उभिदैँ आएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समेत नेता पौडेलले स्थानीय निकायको चुनावमा जानु पर्नेमा जोड गरेका छन्। स्थानीय तहको ब्यवस्थापन गर्न केही समय लाग्ने भएकाले तत्काल स्थानीय निकायको चुनावमा जोड गर्नु पर्ने पौडेल बैठकमा भनाइ राखेका थिए।

त्यसकालागि बालानन्द पौडेल नेतृत्वले तयार पारेको स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन नबुझी बरु त्यस आयेगको म्याद थपेर जानु पर्ने सुझावसमेत दिएका छन्। ‘स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अहिले नबुझौं, त्यो बुझने बितिक्कै लागू गर्नु पर्ने हुन्छ, लागू हुने  बितिक्कै जताततै आन्दोलन हुन्छ, त्यसलाई थाम्न सकिन्न, चुनावको बिषय पनि मोडिन्छ,’ बैठकमा पौडेलको प्रस्ताव थियो, ‘बरु, त्यो आयोगको म्याद थपौं, त्यसले ब्यवस्थापनको काम गर्दै गर्छ, अहिले चाँही स्थानीय निकायको चुनावमा जाऔं।’

तत्कालै स्थानीय तहको नयाँ पुर्नसंरचनाको चुनावमा जाँदा नेता र जनतामाझमा अन्यौलता बढने, असन्तुष्टिका कारण  विभिन्न क्षेत्रमा आन्दोलन हुने र ब्यवस्थापनमा समस्या देखिने उनको भनाइ छ। स्थानीय निकायमा चुनिएका पदाधिकारीमार्फत आगामी दिनमा स्थानीय तहमा जाँदा स्थानीय भूगोलको समस्या उनीहरुले नै ब्यवस्थापन गर्ने हुँदा केन्द्रमा भार पनि नपर्ने तर्क पौडेलको छ ।

‘पौडेलजी स्थानीय निकायको चुनावमा जोड गर्नु हुन्छ, हामी संविधान संशोधनको बिषय पहिला टुंगाऊ भन्छौं, कुरा मिलिरा छैन्,’ सदभावना अध्यक्ष राजेन्द्र महतोले भने, ‘स्थानीय तह वा निकाय जे जेको चुनाव गर्नुछ, त्यही वेला सहमति गरौंला, अहिले संविधान संशोधनमा जाऊँ।’
स्थानीय निकायको निर्वाचनकालागि नयाँ संविधान बाधक नहुने तर्क पौडेलले अघि सारेका छन्। ‘संक्रमणकालीन ब्यवस्थामा नै स्थानीय निकायको चुनाव गराउन  सकिने उल्लेख भएकाले संवैधानिक संकट उत्पन्न हुँदैन’, पौडेलले भन्दै आएका छन्।

संविधानको संक्रमणकालीन अवस्था अनुसार धारा ३०३ ले स्थानीय निकायको निर्वाचनमा जान सकिने गरी खुकुलो गरिदिएको छ । त्यसले अनिवार्य रुपमा स्थानीय तहको चुनाव हुनै पर्ने भन्ने वाध्यकारी ब्यवस्था नभएकोले पौडेलले त्यसैमा टेकेर उक्त तर्क राखेका हुन्। संविधानको धारा ३०३ को उपधारा १, २ र ३ ले स्थानीय तहको निर्वाचन नभएसम्म स्थानीय निकायले काम चलाउन सकिने ब्यवस्था उल्लेख छ ।  

आइतवार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि नेता पौडेलले स्थानीय निकायको निर्वाचनमा जानु पर्नेमा जोड गरेका थिए । ‘स्थानीय तहको चुनावको ब्यवस्थापन गर्नका लागि कम्तिमा पनि २–३ वर्ष लाग्ने भएका कारण पनि स्थानिय निकायको चुनावमा जानुको विकल्प छैन भन्ने मेरो धारणा हो’, पौडेले उक्त बैठक पछि भनेका थिए। उनका अनुसार स्थानीय तहमा तत्कालै जाँदा बनाउने कानुन बुझन, तह माताहातका कार्यालयहरु खोल्न र ब्यवस्थापन गर्न र त्यसका बारेमा अभ्यास गर्न पर्याप्त समय चाहिने भएकाले तत्कालका लागि स्थानीय निकाय नै उत्तम विकल्प भएको उनको तर्क रहदैँ आएको छ।

पौडेलले स्थानीय निकायको चुनावमा जोड गरे पनि सभापति देउवाले भने स्थानीय तह वा निकाय जेको चुनाव गरे पनि फरक नपर्ने बताउँदै आएका छन्। ‘मधेसी मोर्चाले स्थानीय तह वा निकायको जुन चुनावमा जाऊँ भन्छ, हामी जान तयार छौं’, मोर्चाका नेता सामु देउवाले प्रस्ताव गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। तर, पौडेल भने स्थानीय निकाय पक्षमा लबिङ गर्दै प्रस्तुत भए।

प्रकाशित: १३ पुस २०७३ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App