१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थल सुधार्न एक महिनाभित्र नयाँ ग्लोबल टेन्डर

काठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको बाँकी काम गर्न एक महिनाभित्र ‘ग्लोबल टेन्डर’ आह्वान गर्ने घोषणा गरेको छ।

तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको ग्लोबल टेन्डर जितेर ठेक्का हात पारेको स्पेनको ठेकेदार कम्पनी ‘कन्स्ट्रक्टोरा सान्जोसे एसए’ ले तोकिएको समयमा काम पूरा नगरेपछि प्राधिकरणले गत मंसिर २४ मा ठेक्का सम्झौता रद्द गरेको थियो ।

प्राधिकरणले १४ दिनको म्याद दिँदै मनासिब कारणसहित उपस्थित हुन त्यही दिन ठेकेदार कम्पनीको काठमाडौं, भारतको नयाँदिल्ली र स्पेनस्थित कार्यालयमा पत्राचार गरेको थियो । तर, पुस ७ भित्र कतैबाट पनि जवाफ नआएपछि प्राधिकरण आफैंले बाँकी काम गर्ने घोषणा गरेको थियो ।

प्राधिकरणले मंगलबार ठेक्का सम्झौता पूर्णरूपमा खारेज भएको भन्दै सान्जोसेलाई पत्राचार गरेको छ । सान्जोसेले ठेक्का सम्झौताअनुसार ‘पर्फर्मेन्स बन्ड’ र ‘एडभान्स पेमेन्ट ग्यारेन्टी’ वापत नेपाल इन्भेस्टमेन्ट बैंक र लक्ष्मी बैंकमा राखेको करिब १ अर्ब ६५ करोड रुपैयाँ सोमबार प्राधिकरणको बैंक खातामा आएको छ ।

‘सान्जोसेलाई ठेक्का सम्झौता पूर्णरूपमा खारेज भएको ‘लेटर अफ कन्फर्मेसन’ पठायौं र उसबाट प्राप्त करिब १ अर्ब ६५ करोड पनि हाम्रो खातामा आएपछि पुनः ग्लोबल टेन्डरको प्रक्रिया अगाडि बढाएका छौं,’ प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीेरेन्द्र श्रेष्ठले मंगलबार नागरिकसँगभ भने, ‘त्रिभुवन विमानस्थलको बाँकी काम पूरा गर्न आगामी माघ दोस्रो साताभित्र फेरि ग्लोबल टेन्डर आह्वान गर्छौं ।’

प्राधिकरणका अनुसार सान्जोसेले अन्तर्राष्ट्रिय एप्रोन, पार्किङ बे, ट्याक्सी वे विस्तार, धावनमार्गको उत्तरतर्फ गुहेश्वरीपट्टिको खाल्डोमा माटो भर्ने, अन्तर्राष्ट्रिय पार्किङ निर्माण गर्ने, दक्षिणतर्फ कोटेश्वरपट्टि ३ सय मिटर धावनमार्ग विस्तार गर्नेलगायत काम गर्ने ठेक्का पाएको थियो ।

सान्जोसेले सम्झौताको दुई वर्षभित्र सबै काम सक्ने गरी ठेक्का पाए पनि उक्त अवधिमा जम्मा १६ दशमलव ५ प्रतिशतमा काम पूरा गरेको थियो । तालिकाअनुसार काम गर्न तीन पटक पत्राचार गरे पनि उसले वास्ता नगरेको प्राधिकरणले जनाएको छ । त्यसपछि सान्जोसेले भूकम्प र नाकाबन्दीका कारण काम गर्न असहज भएको भन्दै समयसिमा थप्न आग्रह गरेपछि २०७२ चैत तेस्रो सातासम्म म्याद थपिएको थियो । 

‘हालसम्म के–के काम भए र अब कति काम पूरा गर्न बाँकी छ, त्यसबारे विस्तृतमा मूल्यांकन गर्छौं,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘त्यसपछि बाँकी काम नेपाली ठेकेदार कम्पनीले गर्न सक्छन् वा विदेशी नै चाहिन्छ भन्ने अध्ययन गरेपछि टेन्डर सार्वजनिक हुनेछ ।’

उनका अनुसार पूरा भएक काम र गर्न बाँकी कामको विस्तृतमा मूल्यांकन र अध्ययन गरेपछि ‘नेसनल कम्पिटिटिभ बिडिङ’ (एनसिबी) वा ‘इन्टरनेसनल कम्पिटिटिभ बिडिङ’ (आइसिबी) मध्ये एक किसिमको टेन्डर आह्वान गरिने छ । 

प्राधिकरणका अनुसार एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) बराबरको ऋण तथा अनुदान सहयोग एवं सरकारको १ करोड २० लाख डलर (१ अर्ब २० करोड रुपैयाँ) गरी ९ अर्ब २० करोड रुपैयाँ लगानीमा त्रिभुवन विमानस्थल सुधार परियोजना सञ्चालन भएको थियो ।

परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलले ठूला आकार (वाइड बडी) जहाजदेखि वार्षिक करिब ६० लाख हवाई यात्रु व्यवस्थापन गर्नसक्ने क्षमता राख्ने छ । सान्जोसेले तोकिएको समयमै काम पूरा गर्ने छाँट नदेखाएपछि प्राधिकरणले सवा ९ अर्ब रुपैयाँबराबरको यो परियोजनाको बाँकी काम आफैं गर्ने घोषणा गरेको थियो । अब बाँकी काम दुई वर्षभित्र पूरा गर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले सन् २०१३ मार्चमा सान्जोसेसँग उक्त परियोजनाको ठेक्का सम्झौता गरेको थियो । जसअनुसार २०१५ मार्चभित्र सबै काम पूरा गरिसक्नुपथ्र्यो । बीचमा गत वर्षको भूकम्प र लगत्तैको नाकाबन्दीका कारण काम गर्न असहज अवस्था सिर्जना भएको भन्दै सान्जोसेले समयसीमा थप्न आग्रह गरेको थियो । त्ययसपछि प्राधिकरणले २०१६ मार्चसम्म म्याद थपिएको थियो । 

‘उसैको आग्रहमा म्याद थपिए पनि काम गरेको जस्तो मात्र गर्ने र गरे पनि साह्रै धिमा गतिमा काम गरेको पाइयो,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘त्यसपछि पछिल्लो पटक थपिएको म्याद गुजारेपछि ऊसँगको ठेक्का सम्झौता रद्द गरिएको हो ।’

ठेक्का सम्झौता रद्द गरिएको दिनबाट थप १४ दिनभित्र जवाफ दिन दिएको म्यादभित्रै सन्तोषजनक रूपमा आधिकारिक जवाफ दिँदै काम गर्छु भनेको भए कानुनबमोजिम अगाडि बढ्न सकिने अवस्था रहेको प्राधिकरणको भनाइ छ, तर पुस १२ बाट यो विकल्प पनि सकिएको छ । 

नेपाल इन्भेस्टमेन्ट बैंक र लक्ष्मी बैंकमा रहेको सान्जोसेको एडभान्स पेमेन्ट ग्यारेन्टीवापतको १ अर्ब ५ करोड रुपैयाँ तथा पर्फर्मेन्स बन्डवापतको ६० करोड रुपैयाँ जफत गर्न प्रक्रिया प्राधिकरणले अगाडि बढाएपछि उसले आफ्नो रकम सुरक्षित गरी पाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेको थियो । त्यसमा प्राधिकरणका पक्षमा फैसला भएपछि सान्जोसे पाटन उच्च अदालत गएको थियो, तर त्यहाँ पनि प्राधिकरणकै जित भएको थियो । 

‘सान्जोसेले सम्झौता अवधिभित्रै काम नसकेका कारण त्रिभुवन विमानस्थलमा यात्रु  र हवाई चाप व्यवस्थित गर्न हम्मे परिरहेको छ,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘यसले गर्दा पछिल्लो पटक आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान डिले हुनेदेखि आकासमै होल्ड गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।’

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ।

 

 

प्रकाशित: १३ पुस २०७३ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App