४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

महात्मा गान्धीको स्मरण

नयाँ दिल्ली – भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताद्वारा महात्मा गान्धीको ७२ औँ पुण्यतिथिमा सम्मान व्यक्त गरेका छन्। राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य नेताहरू राजघाट पुगी बिहीबार महात्मा गान्धीलाई पुष्पाञ्जलि अर्पण गरेका हुन्।

महात्मा गान्धीको प्रेरणाले महान् भारतको निर्माणमा बल पुगेको प्रधानमन्त्री मोदीले बताए। उनले ट्विटमार्फत जारी गरेको सन्देशमा भनेका छन्, ‘बापूको आदर्शले मजबुत, शक्तिशाली र समृद्ध देश निर्माण गर्न जनतालाई निरन्तर प्रेरणा दिनेछ। राष्ट्रपिता महात्मा गान्धीलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्छु।’त्यस्तै, राष्ट्रपति रामनाथ कोविन्दले गान्धीलाई श्रद्धाञ्जली दिन राजघाट पुगेको बताइएको छ।
 
‘आफ्नो अन्तिम त्यागमा गान्धीजीले विशेष गरी अरूका लागि निःसर्त प्रेम गर्नपर्छ भन्ने एउटा सम्झना हामीलाई छोडेर जानुभएको छ। मलाई विश्वास छ– हामी धेरैले गान्धीजीको सत्य सन्देशलाई मनन गर्नेछौँ,’ राष्ट्रपति भवनको आधिकारिक ट्विटर एकाउन्टमा लेखिएको छ।

भारतका राष्ट्रपिता गान्धीलाई उनको विश्रामस्थलमा श्रद्धाञ्जली अर्पण गर्न पूर्वप्रधानमन्त्री मनमोहन सिंह र कांग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी, भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि पुगेका थिए। यसैबीच केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, चिफ अफ डिफेन्स स्टाफ (सिडीएस) जनरल विपिन रावत, सेना प्रमुख जनरल एमएम नारावाने, नौसेना प्रमुख एडमिरल करमवीर सिंह, र भारतीय वायुसेना प्रमुख एयर चिफ मार्सल आरकेएस भदौरिया लगायतका अधिकारीहरू पनि राजघाट पुगी महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भारतलाई बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र तुल्याउने महात्मा गान्धीको सन् १९४८ जनवरी ३० मा हत्या गरिएको थियो। उनको हत्या नाथुराम गोड्सेले गरेका थिए। भारतको स्वतन्त्रता संग्राममा अहिंसा र शान्तिमय माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका गान्धीलाई राष्ट्रपिता अर्थात् मायालु नाम ‘बापू’ले सम्वोधन गरिन्छ। उनलाई सहिदको रूपमा पनि सम्मान गरिन्छ।

भारतमा जनवरी ३० अर्थात् गान्धीलाई हत्या गरिएको दिनदेखि पाँच दिनसम्म सहिदहरूको सम्झनास्वरूप कार्यक्रमहरू गर्ने गरिन्छ।

प्रकाशित: १७ माघ २०७६ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App