१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिक्न छाडे अग्ला घर

काठमाडौं– अघिल्लो वर्ष वैशाख १२ मा आएको भूकम्प र त्यसपछि लगातारको अनुकम्पनका कारण अत्तालिएका सर्वसाधारणले अहिले ठूला र अग्ला भवन किन्न छाडेका छन्।

पछिल्लो समय स–साना घर किन्नेको संख्या ह्वात्तै बढे पनि ठूला र अग्ला भवनको बिक्री लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ ।

घरजग्गा कारोबारमा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षित छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन् ।

काठमाडौंका ठूला र अग्ला भवन भएका क्षेत्रको घरजग्गा पास गर्ने र अभिलेख राख्ने सरकारी निकाय मालपोत कार्यालय, डिल्लीबजारका प्रमुख पद्यनिधि स्वतीले भूकम्पपछि ठूला र अग्ला भवन बिक्री नभएको जानकारी दिए । 

‘सर्वसाधारणले भूकम्पको क्षति र त्रासलाई भुलेको देखिँदैन,’ प्रमुख स्वतीले शुक्रबार नागरिकसँग भने, ‘व्यापारिक होस् वा आवासीय अग्ला भवनको बिक्री लगभग शून्य छ । बिक्री छँदै छैन भने पनि हुन्छ । पहिले महिनामा सयौं घर बिक्रि हुने गरेकामा अहिले एकाध मात्र किनबेच भएको देखिन्छ ।’

प्रमुख स्वतीले अग्ला भवन कसरी बनाइएको छ, सुरक्षित तवरले वा असुरक्षित के छन् भन्ने ग्यारेन्टी नभएकाले जोखिम मोलेर लगानी गर्न कसैले पनि नसकेको बताए ।

उनका अनुसार न्युरोड, असन, महाबौद्ध, कमलाक्षी, इन्द्रचोक, क्षेत्रपाटीलगायत पुराना क्षेत्रमा त्यसै पनि भवन बिक्री ज्यादै न्यून हुने गर्छ । त्यहाँका स्थानीय बासिन्दा घरजग्गा बेचेर बाहिर जान नखोज्ने र बाहिरका मान्छे पनि झट्टै त्यहाँ जान नसक्ने भएकाले विगतमा पनि बिक्री कम हुने गरेको थियो । भूकम्पपछि भने बिक्री क्रम झन् पातलिएको छ ।  अर्कोतिर यस्ता क्षेत्रमा एउटै सात÷आठतले घरमा तलैपिच्छै परिवार बस्ने भएकाले पनि बेच्न असजिलो बन्ने गरेको छ ।

प्रमुख स्वातीले अहिले साना घर भने पर्याप्त बिक्री भइरहेको जानकारी दिए । ‘खासगरी साढे दुई तला र त्यो भन्दा कम उचाइका घर बिक्रीमा कुनै समस्या देखिएको छैन,’ उनले भने ।   

सरकारी अर्को निकाय मालपोत कार्यालय, चावहिलका प्रमुख पृथबहादुर केसीले पनि भूकम्पपछि अग्ला र ठूला घर पास गर्न नआएको बताए । उनले यो आर्थिक वर्षको सुरुदेखि घरजग्गा कारोबार ह्वात्तै बढेको बताउँदै सामान्य घर बिक्री भएका तर अग्ला र ठूला घर किन्न सर्वसाधारणको रुचि नदेखिएको बताए ।

भूकम्पका कारण काठमाडौं उपत्यकामा धरहरासहित हजारौं अग्ला र ठूला भवन भत्केका थिए । व्यवसायीले निर्माण गरेका हाउजिङ र अपार्टमेन्टमा पनि ठूलो क्षति पुगेको थियो ।

व्यक्तिगत भवनबाहेक पुराताŒिवक महŒवका मठमन्दिर, सत्तलका साथै स्कुल र कलेजका भवन भत्केका थिए । भूकम्पले काठमाडौं उपत्यकामा मात्र हजारभन्दा बढीको ज्यान लिएको थियो । मुलुकभरका डेढ दर्जन जिल्लाका घर, स्कुल, प्रहरी र स्वास्थ्यचौकी गरेर ८ लाखभन्दा बढी भवन भत्केका थिए ।

व्यवसायीका अनुसार ठूला घरप्रति सर्वसाधारणको विगतको मानसिकता भूकम्पको भयानक तस्बिरले परिवर्तन गराएको हो । कम्पनी खोलेरै धेरै वर्षदेखि घरजग्गा व्यवसाय गर्दै आएका मनकामना रियल स्टेटका प्रोपाइटर लक्ष्मी न्यौपाने पनि विगतमा ठूला र अग्ला भवन किन्ने सर्वसाधारणको मानसिकता भूकम्पका कारण परिवर्तन भएको बताउँछन् ।

‘सरकारी मापदण्डविपरीत बनेका ठूला र अग्ला घर किन्ने मानसिकता अहिले शून्यमा झरेको छ,’ न्यौपानले शुक्रबार नागरिकसँग भने, ‘हामी व्यवसायीले पनि यस्ता घर किन्न सर्वसाधारणलाई सल्लाह दिने गरेका छैनौं ।’

उनका अनुसार भूकम्पअघि मापदण्ड विपरीतका घर पनि बिक्री हुने गरेका थिए । पहिले मेरो घर यति तलाको भनेर फूर्ति गरेर बेच्ने प्रवृत्ति थियो र किन्नेहरु पनि पर्याप्त थिए । अहिले यस्तो प्रवृत्ति शून्यमा झरेको छ ।

‘मापदण्ड विपरीत बनाएका ठूला घर बिक्री भएका छैनन्,’ व्यवसायी न्यौपानेले भने, ‘मापदण्डअनुसार नक्सा पास गरेर गुणस्तरीय रुपमा बनाएको यकिन भए कसैकसैले व्यावसायिक भवन एकाध रुपमा किन्ने गरेका छन् । बस्नका लागि अब ठूला घर सुरक्षित छैनन् भन्ने सबैमा चेतना पुगेको जस्तो छ ।’ न्यौपानेले दुई÷तीन तलाको नक्सा पास गर्ने तर पाँच छतला बनाउनेको दिन गएको बताए ।

उनका अनुसार अहिले साना घर पनि नक्सा पासअनुसार बनाएको छ÷छैन भनेर यकिन गरेपछि मात्र किन्ने गरिएको छ । साना घर अत्यधिक रुपमा बिक्री भएका छन् ।

अर्का व्यवसायी हङकङ रियलस्टेटका प्रोपाइटर नारायण राईले पनि ठूला र अग्ला घरधनीका दिन गएको दाबी गरे । ‘भूकम्पले घर हल्लाएको सम्झना अझै सबैको मनमा ताजै छ,’ उनले भने, ‘जीवनभरको कमाइ जोखिम मोलेर कसले अग्ला घर किन्ने ? ।’

राईका अनुसार कसैले पनि चासो दिएर ठूला र अग्ला घर खोजिदिन भन्न उनीकहाँ कोही आएका छैनन् । बिक्री हुँदैन भनेर होला, घरधनीले पनि यस्तो प्रयास गरेको देखिन्न । जग्गा र साना घरको भने कारोबार धेरै राम्रो छ ।

उनका अनुसार घर किन्नेको पहिलो रोजाइ भूकम्पपछि बनाइएका साना घरमा छ । यस्ता घर नपाए भूकम्पअगाडिका एक वा साढे २ तलेसम्मका घर बिक्री भएका छन् । 

व्यवसायीका अनुसार विनाशकारी भूकम्पपछिको डेढ वर्षमा काठमाडौं उपत्यकालगायत मुलुकभरका सहरी क्षेत्रमा घरजग्गाको मूल्य ४० देखि शतप्रतिशतसम्म बढेको छ । 

सरकारी तथ्यांकले पनि पछिल्लो समयमा घरजग्गाको मूल्य बढेको देखाउँछ । भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा घरजग्गा किनबेचबाट ६ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । यो गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । गत वर्ष यही समयमा २ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो ।

 

      

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

 

 

 

 

 

 

 

      

      

 

प्रकाशित: १३ पुस २०७३ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App