८ वैशाख २०८१ शनिबार
समाज

त्रिविमा फेरि भागबन्डा

काठमाडौं-त्रिभुवन विश्ववद्यालयले मातहतका निकायमा भागबन्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त गरेको छ।

तीनमहिने नियुक्तिको भरमा चल्दै आएको त्रिविले मुखैमा आएको दीक्षान्त समारोहका बेला विभिन्न निकायमा नियुक्ति गरेको हो । त्रिविको ४२ औं  दीक्षान्त समारोह बिहीबार हुँदैछ ।

त्रिवि कार्यकारी परिषद्ले भागबन्डाका आधारमा तीन अध्ययन संकाय र तीन संस्थानमा डिन र तीन  अनुसन्धान केन्द्र प्रमुख नियुक्त गरेको हो ।  यी निकाय लामो समयदेखि तीन महिने नियुक्तिका भरमा चल्दै आएका थिए ।

कार्यकारी परिषद्को निर्णयअनुसार नयाँ नियुक्तिमा नेपाली कांग्रेसनिकट तीन, माओवादी केन्द्रनिकट तीन, एमालेनिकट दुई र मधेसी दलनिकट एकजना परेका छन् ।

राजनीतिक निगाहबाट उपकुलपति भएका तीर्थ खनियाँले आफ्नै बाटो पछ्याउँदे भागबन्डा मिलाएर नियुक्ति गरेका हुन् ।

विश्वविद्यालयका प्रवक्ता भोला ढकालका अनुसार  कृषि तथा पशुविज्ञान अध्ययन संस्थान डिनमा प्राध्यापक केशवराज अधिकारी, विज्ञान तथा प्रविधि  अध्ययन संस्थान डिनमा प्राध्यापक रामप्रसाद खतिवडा र वन विज्ञान अध्ययन संस्थान डिनमा प्राध्यापक कृष्णराज तिवारीलाई डिन नियुक्त गरिएको छ।

यसैगरी  शिक्षा शास्त्र अध्ययन संकाय डिनमा प्राध्यापक कृष्णप्रसाद गौतम, मानविकी तथा सामाजिक शास्त्र अध्ययन संकाय डिनमा  प्राध्यापक शिवप्रसाद भुसाल र व्यवस्थापन संकाय डिनमा प्राध्यापक डिल्लीराम शर्मालाई नियुक्त गरिएको छ ।

प्रवक्ता ढकालका अनुसार अनुसन्धान केन्द्रतर्फ आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा  डा.  अरुणकुमार ठाकुर, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) मा प्राध्यापक रामेश्वर अधिकारी र शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरिड) मा प्राध्यापक जीवनाथ धिताललाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को सोमबारको बैठकको निर्णयअनुसार यी नियुक्ति भएका हुन् ।  ‘नयाँ नियुक्त डिन र कार्यकारी प्रमुखहरूले कार्यभार मंगलबारदेखि समाल्न ु भयो,’ ढकालले नागरिकसँग  भने, ‘पुस १४ गते आयोजना  हुने दीक्षान्त समारोह अब  ढुक्कसाथ  सञ्चालन हुन्छ ।’

यसअघि कार्यकारी परिषद्ले योग्य उम्मेदवार छान्न सर्च कमिटी गठन गरे पनि दलहरूबीच भागबन्डा नमिलेका कारण उपकुलपति खनियाँले  नियुक्ति गर्न सकेका थिएनन् ।

कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान र शिक्षा शास्त्र संकायको डिन नेपाली कांग्रेसको पोल्टामा परेको छ । यसैगरी विज्ञान तथा प्रविधि  अध्ययन संस्थान र मानविकी संकाय डिन तथा सेरिडको कार्यकारी प्रमुख माओवादी केन्द्रको सिफारिसमा नियुक्त भएका हुन् । एमालेले व्यवस्थापन संकाय डिन र रिकास्ट कार्यकारी प्रमुखमा चित्त बुझाएको छ । सेडाको कार्यकारी निर्देशक मधेसवादी  दलनिकट लोकतान्त्रिक प्रध्यापक संघको कोटामा नियुक्त भएका हुन् । 

दीक्षान्तमा आ–आफ्ना अध्ययन संकाय र संस्थानका योग्य विद्यार्थीलाई दीक्षित गराउने काम सम्बन्धित डिनको हुन्छ ।  चार संकाय र पाँच अध्ययन संस्थानमध्ये तीन संकाय र तीन अध्ययन  संस्थानमा डिन नहुँदा दीक्षान्त समारोह नै अन्योलमा थियो  । विज्ञान तथा प्रविधि अध्ययन  संस्थान कीर्तिपुरका प्राध्यापक चेतराज भट्टले त्रिवि शैक्षिक संगठन तथा प्रशासनसम्बन्धी  नियम २०५० मा व्यवस्था गरिएअनुसार डिनले दीक्षान्त समारोहमा आ–आफना विद्यार्थीलाई दीक्षित गराउनुपर्छ ।                                                                                                   त्रिवि, परीक्षा नियन्त्रक केशव बाँस्तोलाका अनुसार  बिहीबार हुने दीक्षान्त समारोहका लागि  कुल ८३ हजार ४ सय २५ दीक्षित हुन योग्य ठहरिए पनि ९ हजार ७ सय  ३४ ले मात्र  उपाधिका लागि आवेदन दिएका छन् । आवेदन दिएकाले दीक्षान्त समारोहमा सहभागिता जनाउने छन् ।

..........

नाम   संस्थान तथा संकाय   पद   

केशवराज अधिकारी   कृषि तथा पशुविज्ञान  डिन

रामप्रसाद खतिवडा    विज्ञान तथा प्रविधि   डिन

कृष्णराज तिवारी     वन विज्ञान          डिन

कृष्णप्रसाद गौतम     शिक्षाशास्त्र संकाय     डिन

शिवप्रसाद भुसाल     मानविकी संकाय      डिन

डिल्लीराम शर्मा व्यवस्थापन संकाय डिन

अरुणकुमार ठाकुर     सेडा   कार्यकारी प्रमुख

रामेश्वर अधिकारी     रिकास्ट कार्यकारी प्रमुख

जीवनाथ धिताल      सेरिड  कार्यकारी प्रमुख

प्रकाशित: १३ पुस २०७३ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App