६ वैशाख २०८१ बिहीबार
राजनीति

आयोग छल्दै प्रधानमन्त्री

काठमाडौं-स्थानीय तह पुनःसंरचना आयोगका पदाधिकारीसँगको भेटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल तर्किएका छन् । आयोग प्रतिवेदन बुझाउने तयारीमा छ भने प्रधानमन्त्री प्रतिवेदन ढिलो आओस् भन्ने पक्षमा छन् ।
दाहालले मंगलबार बिहान आयोगका पदाधिकारीलाई समय दिए पनि भेट गरेनन् । आयोगका पदाधिकारीले प्रतिवेदन बुझाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न समय लिएका थिए ।  
प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीलाई मंगलबार बिहान साढे दस बजे सिंहदरबारमा भेट्ने समय दिएका थिए । प्रधानमन्त्रीले दिएको समयभित्रै प्रधानमन्त्री कार्यालय पुगे पनि आयोगका पदाधिकारीले भेट पाएनन्् ।
प्रधानमन्त्री दाहाल अन्य परामर्शमा व्यस्त रहेकाले आयोगका पदाधिकारीसँग छलफल गर्न नसकेको सहयोगी मनोहरि तिमल्सिनाले बताए । उनले भने, ‘आज (मंगलबार) कार्यव्यस्ताका कारण प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई भेटका लागि समय दिन सक्नुभएन । अर्को दिन समय दिनुहुनेछ ।’
राजनीतिक दलहरूबीच स्थानीय निर्वाचनमा जाने विषयमा सहमति भइनसकेकाले आयोगको स्थानीय निकाय पुनःसंरचना प्रतिवेदन बुझ्न सरकारले आलटाल गरेको छ । आयोगले प्रतिवेदन तयार भएकाले बुझिदिन आग्रह गर्दै सोमबार औपचारिक रुपमा सरकारलाई पत्र पनि पठाएको थियो ।
संविधान अनुसार स्थानीय तह पुनः संरचना आयोगले संख्या र सिमाना निर्धारण गरेर युनिटहरूको नाम, केन्द्र र वडा विभाजनसहितको प्रतिवेदन सरकारलाई बुझाउन समय कुरिरहेको छ ।

प्रकाशित: १३ पुस २०७३ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App