६ वैशाख २०८१ बिहीबार
समाज

धुलोले हैरान उपत्यकावासी

ललितपुर- ललितपुरको सातदोबाटोस्थित सटर पसलमा घर निर्माण सामग्रीको व्यापार गर्दै आएकी अनिशा श्रेष्ठ सडकको धुलोबाट दिग्दार छिन्। धुलो सटरभित्रै पसेकाले उनी माक्स लगाएर ग्राहक कुरिरहेकी हुन्छिन्। ‘दिनको पाँचपटक त बेच्न राखेका सामान पुछ्नुपर्छ, धुलोकै कारण कतिपय सामान नबेच्दै पुराना बनेका छन्,’ उनले भनिन्।

यो समस्या उनको मात्र होइन, ललितपुर मानभवनका रेडिमेड कपडा बेच्न राखेका सुरेश शाक्य पनि सडकको धुलोले हैरान बनाएको बताउँछन् । उनी भन्छन्, ‘भित्र राखौँ सामान बिक्री हुँदैन, बाहिर राख्दा धुलोले फोहोर बनाइदिन्छ ।’

त्यसो त यो समस्याबाट पैदलयात्रु पनि हैरान भइसकेका छन् । शुक्रबार ललितपुर ग्वार्कोमा भक्तपुर कमलविनायक जाने बस कुरेर बसेका कंलकीका अनिश शाक्य हिजोआज कोटेश्वर–कंलकी सडकखण्ड हिँडिनसक्नु भएको सुनाए । ‘अहिले सडकको धुलो उपत्यकाको चिनारी नै बनेको छ,’ उनले भने, ‘अहिले झन् मेलम्चीले सडक खनेर धुलाम्य बनाएको छ ।’

कोटेश्वर–कलंकी सडकमा बस चलाउँदै आएका सुुदीप कोइरालाले ग्वार्कोदेखि सातदोबाटो धुलाकै कारण पछिल्लो समय घुलो खाँदै सवारी हाक्नुपरेको बताउँछन् । ‘सडकको धुलोले बसको सिटहरु पनि धुलाम्य बनाइदिन्छ,’ उनले भने, ‘फेरि यो सडकमा खाल्डाखुल्डी पनि उस्तै छन् ।’

धुलो र सवारीको कालो धुवाँले बढायो बिरामी

धुलो र पुराना सवारीको कालो धुँवाका कारण उपत्यकामा गत वर्षको तुलनामा श्वासप्रश्वासका बिरामी बढेको नेपाल चिकित्सक संघले हालै गरेको अध्ययनले देखाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष घाँटी दुख्ने, निमोनिया, क्रोनिक डिजिज लगायत रोगका बिरामी ३० प्रतिशतले बढेको नेपाल चिकित्सक संघका महासचिव फिजिसियन डा. लोचन कार्की बताउँछन् । उनका अनुसार जाडो समयमा वायुमण्डलको तल्लो तहमा धुलोका कण मिसिएको चिसो हावा हुँदा यो वर्ष बिरामी बढेका हुन् । गत वर्ष यो समयमा चिसो र धुवाँधुलोका कारण ३० प्रतिशत मात्र बिरामी देखापरेका थिए भने यो वर्ष दोब्बर बढेको डा. कार्कीले जानकारी दिए । उनका अनुसार अहिले वीर अस्पतालमा दैनिक दुई सयदेखि तीन सय, पाटन अस्पतालमा दैनिक दुई सय, सिभिल हस्पिटलमा सयको हाराहारीमा श्वास्वप्रश्वाससम्बन्धी बिरामी आउने गरेका छन् ।

उनी भन्छन्, ‘यो वर्ष श्वास–प्रश्वास र निमोनियाका बिरामी बढेका छन्, सडक मर्मत सम्भार र पुराना सवारीबाट निस्कने कालो धुवाँले गर्दा बिरामी यो वर्ष धुलोका कारण लाग्ने रोगबाट बिरामीको संख्या बढेको हो ।’

चिसो तथा धुलोबाट बच्न माक्सको प्रयोग, झोलिलो पदार्थको सेवन, साबुनपानीले हात सफा राख्नुपर्ने डा. लोचन कार्की बताउँछन् ।

०००

अहिले उपत्यकाका कोटेश्वर–कलंकी, त्रिपुरेश्वर–टेकु, गौशाला–चावहिल, कलंकी–नागढुंगा लगायत सडकमा सबैभन्दा बढी धुलो देखिन्छ ।

धुलोले ट्राफिक प्रहरीलाई पनि असर पारेको छ । ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी बिरामी पर्न थालेको ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेथु बताउँछन् ।

उनले कोटेश्वर–कलंकी सडक आयोजनालाई दिनको एकपटक सडकको धुलो मार्न पानी छर्कन पनि आग्रह गरेको जानकारी दिए ।

तर पानी छर्किएर सडकको धुलो कम गर्न नसकिने चक्रपथ सडक सुधार आयोजनाका इन्जिनियर रमेश दृष्टिले जानकारी दिए । उनले चक्रपथ सडकको काम तीव्र गतिमा भएकाले आउँदो जेठसम्म कोटेश्वरदेखि एकान्तकुनासम्म पिच हुने जानकारी दिए ।

 

 

प्रकाशित: १३ पुस २०७३ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App