६ वैशाख २०८१ बिहीबार
समाज

‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’

काठमाडौं – चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले कसैले आवेशमा आएर भनेको कुरालाई ‘अभद्र व्यहार’मा राखेर मुद्दा चलाउन नमिल्ने फैसला गरेको हो।

अभद्र व्यवहारसम्बन्धी फैसला गायिका आस्था राउतसँग मिल्ने देखिएको छ। गायिका आस्थालाई ‘अभद्र व्यवहार’ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कानुनको गलत व्याख्या गरी मुद्दा दर्ता भएको ठहरिएको छ। प्रहरीले सोधपुछका नाममा गरिने अशिष्ट व्यवहारलाई प्रतिक्रियास्वरूप सफाइ दिँदा भएको आवेश अभद्र व्यवहार नहुने जिल्ला अदालतले फैसला गरेको हो।

प्रहरीले आस्थालाई मुलुकी संहिता ऐनको दफा ११८ लगाएको छ। तर त्यो दफाअनुसार राउतले कसुर गरेको देखिँदैन। त्यसमा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।’ त्यस्तो कसुर गर्नेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रहरीले आस्थाविरुद्ध आफूअनुकूल मुद्दा चलाएको ठहर भएको छ। चितवन जिल्ला अदालतले प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गरेको भन्दै स्थानीय अर्जुन मल्ल ठकुरीलाई मुद्दा चलाएको थियो। अदालतले पुस २२ मा प्रहरीले कानुनको गलत व्याख्या गरी मुद्दा चलाएको ठहर गरेको हो। चितवनका अर्जुन भरतपुर–३ कमलनगरमा स्थानीय टेकबहादुर श्रीमललाई कुटपिट गरेर घाइते बनाई फरार रहेको भन्दै पक्राउ गर्न गएको थियो। त्यसैबेला ठकुरीले पक्राउ गर्नुको कारण सोध्दा प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो। प्रहरीले पक्राउ पुर्जीसमेत जारी नगरी ठकुरीलाई पक्रेको थियो। ‘आफूले पालना गर्नुपर्ने न्यूनतम आधारभूत विधि प्रक्रिया पूरा नगरी कुनै व्यक्तिलाई जाहेरी र शंकाकै भरमा बाटोघाटो, सार्वजनिक स्थान वा व्यक्ति रहेबसेको ठाउँमा आशंकाका भरमा प्रहरीबाट गरिने सोधपुछका नाममा गरिने अशिष्ट व्यवहारको प्रतिक्रियास्वरूप व्यक्तिले आफ्नो सफाइस्वरूप व्यक्त आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारको अर्थ लगाई नागरिकलाई सजाय भागी गराउन न्याय र कानुनको दृष्टिबाट मिल्ने देखिँदैन,’ फैसलामा भनिएको छ।

मुद्दा हेर्ने अधिकार प्राप्त अधिकारीबाट पक्राउ पुर्जी जारीसमेत नगरी पक्राउ गरी मुद्दा दर्ता हुनुलाई अदालतले प्रहरीले अनुकूल पारेर व्यवहार गरेको भनी व्याख्या गरेको छ। ‘घटना हुँदाबखत तत्काल अभियुक्तलाई घटनास्थलबाट पक्राउ गर्नुपर्ने भए दर्जा पुगेको प्रहरीबाट पक्राउ पुर्जी जारी गरी पछि पक्राउ पुर्जी मुद्दा हेर्ने अधिकारीबाट समर्थन भएको अवस्थामा समेत मिसिल संलग्न कागजबाट देखिएन,’ फैसलामा भनिएको छ, ‘चितवनको चौबीसकोठीमा सार्वजनिक गाडी पर्खेर बसेको बेला कुटपिटको घटना सोधपुछ भनिए पनि ठकुरीलाई लगाइएको अभियोगअनुसार दफा ११८ बमोजिम सार्वजनिक स्थानमा निज प्रतिवादीले महिला बालबालिका वा अशक्त अवस्थाका व्यक्तिलाई हातपात हुलहुज्जत गरेको भन्ने देखिएन।’

‘सार्वजनिक स्थानमा प्रहरीबाट मुद्दाका विषयलाई लिएर गरिएको सोधपुछका क्रममा प्रतिक्रियास्वरूप गरेको आक्रोशपूर्ण अभिव्यक्तिले प्रहरीलाई पदीय कर्तव्य पालना गर्न अवरोध पु¥याएको भन्ने देखिएन,’ अदालतले भनेको छ। प्रहरीले अपराध संहिताको दफा ८५ बमोजिम आकर्षित हुनेमा मुलुकी संहिता ऐनको दफा ११८ लाई आफूअनुकूल प्रयोग गरी अदालतमा मुद्दा दर्ता गरेको अदालतको ठहर छ। ‘आफूअनुकूल प्रयोग गरी निजले यस किसिमको अभद्र व्यवहार गरेको भनी अदालतमा दर्ता गरिएको विगतको आचरणका आधारमा मात्र दाबीबमोजिम कसुर अपराध स्थापित गरी सजाय भागी गराउन मिल्ने अवस्था देखिएन,’ फैसलामा उल्लेख छ।

‘थुनछेक आदेश प्रयोजनका लागि इजलासमा प्रस्तुत मुद्दामा मिसिल संलग्न उल्लिखित कागज समेतबाट थप बुझिरहनुपर्ने अवस्था प्रथम दृष्टिबाटै देखिएन,’ फैसलाले भनेको छ, ‘अर्जुन मल्ल ठकुरीले गरेको भनिएको कार्य अभियोग अनुसारको कसुर अपराध भएको देखिएन। अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ।’

प्रकाशित: १६ माघ २०७६ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App