७ वैशाख २०८१ शुक्रबार
अन्य

मित्रताको उपहार

माघे झरी तीन–चार दिनदेखि रोकिएकै थिएन । एक त माघ, त्यसमाथि झरी थपिएपछिको जाडोको के कुरा ! जाडोले कुँडुलिएर बस्नेहरुकै वाहुल्य थियो । घरिघरि झ्यालबाट बाहिर हेर्दा एकादुई प्राणी चलमलाएको देखिन्थ्यो । यस्तोमा बाहिर जाने मन कसैलाई थिएन भने पूजालाई त झन् केको हतारो होस् । तर तीन चार दिनदेखिको झरीले उच्चाटपूर्ण अवस्था सिर्जना गरिरहेको थियो । मान्छेको मन पनि कस्तो ! धुम्म हुस्सु लागे, खुला र घमाइलो दिन कल्पने र घाम चर्किए, पानी परे हुने भन्ने आशा गर्ने !

त्यो दिन स्कुलबाट फर्कंदा दर्के झरीले निथ्रुक्क पार्‍यो । हत्तारिँदै घरभित्र छिर्नै लाग्दा पूजाले कपाल झट्कारी । आँखा उचाल्दा छिमेकीको घरको कौशीमा उसको आँखा पुग्यो, जहाँ एउटी केटीले पूजालाई नै हेरिरहेकी थिई । आँखा जुधेपछि ऊ मुसुक्क मुस्कुराई । अनायाश पूजाको ओठ पनि मुस्कुरायो ।

एक दिने झरी त रमाइलो नै हुँदारहेछ तर झरी लम्बिदै जाँदा दिन पनि उच्चाटलाग्दो बन्न पुग्ने रहेछ ।
यस्तोमा सक्नुपर्ने काम पनि चाँडै सकिने, पढ्नुपर्ने अनुच्छेद र पुस्तक भ्याइसकिने ! सुन्नुपर्ने सङ्गीत पनि पुराना भइसक्दा रहेछन् ! यस्तो अवस्थामा सबैभन्दा उत्तम साथी त स्मृति हुँदारहेछन् ।

स्मृति मानौँ चङ्गा हो । हावाको वहावले त्यसलाई जताजता डोर्‍याउँछ, उतैउतै डुल्छ भनेझैँ स्मृति पनि मस्तिष्कले जताजता डोर्‍याउँछ, उतैउतै बरालिन्छ । बरु चङ्गाले धागोको साथ नपाए अकस्मात् उसको यात्रा टुङ्गिन्छ तर स्मृतिको बरालापन टुङ्गिदैन ।

आज बिहान पानीलाई छल्दै पूजाले पब्लिक स्पिकिङको कक्षामा बालापनबारे बोलेकी हुनाले उसलाई बालापनले नै ठुँगिरहेको छ । र, यो ठुँगाई कहिले मिठासपूर्ण भइरहेको छ त कहिले तिक्ततापूर्ण । उसले बोल्दै गर्दा कुन बेला समय सकियो, उसैलाई थाहा भएन तर उसलाई अझै धेरै कुरा भन्नु थियो । समय सकिएको जनाउ दिन घण्टी टनन्न बज्दा पो ऊ झल्याँस्स भई !

बालापनको हाँसो, ठट्टा, रमाइलो र साथीभाइसँगको निःस्वार्थ माया, घण्टाैं साथीहरुसँग बिताएका क्षणको कुरा गरिसाध्य हुन्न । सानातिना कुरामा खुशी हुने त्यो क्षण होस् या सानै कुरामा साथीहरुसँग ठुस्किदाका पल हुन्, समयसँगै कत्ति धेरै महत्वका हुँदारहेछन् !

अनि, सबैभन्दा ठूलो कुरा त त्यो बेला गणित पढ्यो गणितज्ञ हुन मन लाग्ने, विज्ञान पढ्यो, चिकित्सक बन्ने रहर जाग्ने ! जे पनि बन्न सकिन्छ भन्ने आँट र रहर त झन् कति हुन् कति ! कति निश्चिन्तपूर्ण समय ! कति आनन्दका ती क्षण ! न जातभात, न गरिब र धनी ! केही मतलब नहुने । पूजालाई यस्ता कयौँ कुराहरु दिमागमा खेलिरहँदा उसलाई असहज हुन थाल्यो । सोची, ओहो, मलाई आज किन बाल्यकालको सम्झनाले नछोडेको होला !
०००
पूजाको जीवन एउटा साधारण जीवन थियो । मध्यम वर्गीय परिवार, सरकारी जागीरे बुबा, पाँच जना सन्तान हुर्काउने जिम्मेवारी उठाइरहनु भएकी आमा । सरकारी स्कुलको पढाइ र हरेक दिन आउने खुशी ! यतिबेला सम्झँदा पूजालाई लाग्छ, त्यो बेला बिनापत्तामा कहाँबाट खुशी टप्किन्थ्यो होला ! घरबाट स्कुल पुग्न एक घण्टा लाग्थ्यो तर पनि उसलाई वा उसका दिदी–बहिनी–दाजु–भाइ कसैलाई पनि लामो हिँडेको महसुस हुँदैनथ्यो । खाजा खाने बेला एकैछिन घ्वाइँ खेल्यो, एकैछिनमा फेरि गट्टा अनि फेरि रुमाल लुकाई ! अनि त घण्टी बजिहाल्थ्यो र कक्षातिर  दौडिहाल्थ्यौँ । फेरि अर्को दिन कबड्डी, लुँडो, सेभेन स्टोन, कहिले साइक्लिङ !

साइक्लिङमा त लडेर कहिले खुट्टाभरि घाउ बनाइन्थ्यो र घरमा नदेखून् भनेर सकेसम्म प्रयास पनि गरिन्थ्यो । बालापनको त्यो ऊर्जा उपयोग गर्ने कत्ति उत्तम माध्यम रहेछन् ती खेलहरु ! अहिले त मोबाइलमा औँला मात्र चलाउने बालापन कहाँ थियो र पूजाको ?
०००
त्यो दिन स्कुलबाट फर्कंदा दर्के झरीले निथ्रुक्क पार्‍यो । हत्तारिँदै घरभित्र छिर्नै लाग्दा पूजाले कपाल झट्कारी । आँखा उचाल्दा छिमेकीको घरको कौशीमा उसको आँखा पुग्यो, जहाँ एउटी केटीले पूजालाई नै हेरिरहेकी थिई । आँखा जुधेपछि ऊ मुसुक्क मुस्कुराई । अनायाश पूजाको ओठ पनि मुस्कुरायो । यो केटी यसअघि यहाँ झुल्केकी थिइन तर अचानक झुल्की मात्र होइन कौशीबाटै कराई, ‘ओई पूजा, गट्टी खेल्न आऊ ल !’

एक छिन त पूजा अक्क न बक्क भई । आफूले नचिनेकी केटीले बोलाइरहेकी छ, त्यो पनि नाम काडेर !
भिजेको लुगा फेरेर, चिया–चिउराको खाजा खाइसकेर होमवर्क गर्दैगर्दा छिमेककी केटी म अघिल्तिर उभिई ।
उमेरमा त्यस्तै १३÷१४ वर्षकी थिई होला । मुस्कुराउँदै भनी, ‘हामी साथी बनौँ न !’
अकस्मात मेरै घरमा आइपुगेकी यो नयाँ केटीको ताल देखेर म विस्मित हुँदै थिएँ, साथी बन्ने आग्रह पो गर्न थाली !
पूजाले नाइँनास्ती गरिन ।
‘म मामाघरमा बसेर पढेकी थिएँ, अब यतै पढ्ने !’ उसले भनी ।
 ‘मेरो नाम त सरिता, तिम्रो ?’
उसको परिचयमा भन्दा खेल्ने साथी पाएकोमा मलाई खुशी लागिरहेको थियो ।
‘म पूजा,’ मैले चिउराको बटुको ऊतिर सार्दै भनेँ, ‘आजदेखि हामी साथी भयौँ ।’
मुस्कुराउँदै उसले चिउरा मज्जाले चपाउन थाली ।
०००
यसरी जुरेको थियो हाम्रो सम्बन्ध । स्कुलबाट फर्किनेबित्तिकै दुवै जना होम वर्क सक्थे र खेल्न थाल्थे । सरिता बोर्डिङ स्कुलमा पढ्थी । उसको अंग्रेजी राम्रो थियो । म गणितमा राम्रो थिएँ । केही दिनदेखि नै हामी सँगै बसेर गृहकार्य गर्न थालिसकेका थियौँ । एकअर्कालाई नजानेका कुरा सिकाइदिन्थ्यौँ ।
यी दुईको दोस्ती यस्तो जम्यो कि, सरिताको मावला उसको पनि मावला भयो । उसका मामा पनि पूजाको मामा हुन्थे ।
साथी भन्ने यस्तो सम्बन्ध रहेछ, जसमा कुनै फाइदा–नोक्सान नहेरिँदोरहेछ । झन् बाल्यकालको निष्कपट–निश्चल मित्रतामा त एकअर्कामा माया नै माया मात्र हुने !

सरिताको परिवार सम्पन्न थियो । उनीहरु हरेक पर्व भव्यताका साथ मनाउँथे । उनीहरुको खुशीमा पूजालाई पनि छुटाउन चाहदैनथी सरिताले । पूजा पनि सरिता आफ्ना घरमा हुने विविध कार्यक्रम नछुटोस् भन्ने सोच्थी ।
घण्टौँ कुराकानी हुन्थे र सेक्रेट गफ पनि चल्थे । ड्रिम ब्वाई, लुकिछिपी हेरेका सिनेमा र क्लासका अन्य साथीसङ्गीका कुरा कटाई ! सरिता र पूजाबीच यसरी अगाध प्रेम हुर्कियो ।

दशैँ नजिकिदै थियो । पूजाका बाबा जागीरको क्रममा मधेशमा थिए । दशैँको बेलामा घर फ¨कएका थिए । सरिता र पूजाको मित्रतामा कसैको आपत्ति थिएन, उसका बाबाको पनि ! फेरि दुवै पढन्ते पनि थिए । दुई साथी सँगै बसेर पढेको, गृहकार्य गरेको, वर्दापर्दा आमालाई सघाएको देख्ता आमा पनि खुसी नै हुनुहुन्थ्यो । एक दिन आमा र सरिताबीच कुरा हुँदै थियो । छेउमा पूजाका बाबा पनि हुनुहुन्थ्यो । पूजा बाबालाई चिया पकाउन भान्सामा छिरेकी थिई । चिया लिएर आउँदा सरितालाई पूजाले देखिन । ‘सरिता खोई बाबा ?’ पूजाले सोधी ।

‘मैले उसलाई पठाइदिएँ,’ बाबाले जवाफमा भन्नुभयो । तर यसपछि उसका बाबाले जे भन्नुभयो, त्यो सुनेर पूजालाई अचम्म लागेको थियो । बाबाले भन्नुभएको थियो, ‘अब आजदेखि तिमी ऊसँग बोल्ने पनि होइन, मेल–मिलाप बढाउने पनि होइन, खुरुखुरु पढाइमा ध्यान दिने अनि आमालाई घरको कामधन्दा सघाउने । बुझिस् ?’
अचानक बाबाको यस्तो आदेश सुनेपछि त पूजालाई रुन मन लाग्यो । उसले सोधी, ‘बाबा, किन ? ऊ त मेरो प्यारो साथी हो ।’

‘त्यसको जात के हो, थाहा छ ?’ बाबा कड्किनु भयो, ‘त्यसले छोएको पानी चल्दैन ।’
बाबाको कुरा सुनेर पूजा छक्क परेकी थिई । देशले अनेकन् परिवर्तन बोकेर आएको थियो र पनि बाबा अझै जातभातमा अल्झिरहनु भएको रहेछ ! त्यसपछि त के थियो, दुवैलाई भेटघाटमा रोक लगाउनुभयो । पूजालाई थाहा थियो, बाबा संकुचित विचारधाराको हुनुहुन्छ तर विचरी सरितालाई के थाहा ? यसपछि सरिता हाम्रो घरमा आउन छाडी, ऊ उसकै घरमा पनि देखिन छाडी । ऊ कहाँ गई, चासो त मलाई नलागेको पनि होइन तर सोध्ने आँट आएन ।

पछि थाहा पाएँ, सरिता स्कुलमा पढ्न गइछ ! दसैँको छुट्टिमा घर आएकी रहिछ ! पूजा र सरिता छुट्टिए पनि दुवैबीच चिठ्ठी आदानप्रदान भने जारी नै रह्यो । उसले चिठ्ठीमा धेरै प्रश्न लेखेर पठाउँथी तर म जवाफ दिन सक्तिनँ थिएँ । उसले कसरी भनोस्, उसका बाबा अझै पनि जातभातलाई नै प्राथमिकता दिनुहुन्छ ! उनीहरु एकअर्काबाट टाढा थिए तर मनका नजिक ! एकअर्काप्रति गहिरो माया बढ्दै गइरहेको थियो ।

यतिबेला पूजालाई लागिरहेको छ– बाल्यकालको मित्रताको महत्व कति हुँदोरहेछ ! कति नजिक र कति प्रेमिल हुँदोरहेछ !

जुन बेला मित्रताको निकै नै महत्व हुन्छ, त्यतिबेला पूजाको बाबाको सानो सोचले दुई सखी मित्रताबाट टाढिनु परेको थियो । बाटोमा भेट्दा सरिताका आँखाले धेरै प्रश्न गर्थे, पूजा भने अपराधीजस्तो आँखा नजुधाई शिर निहुराएर नदेखेझैँ हिड्थी ।
०००
एक दिन पूजाको घरमा आगो लाग्यो । बिजुलीको तार सर्ट भएर घर दनदनी सल्किरहेको थियो । पूजाको भाइ घरभित्र सुतिरहेको थियो । आमा–बाबा दुवै जना तरकारी किन्न बजार जानुभएको थियो । त्यतिखेर सरिताले आफ्नो र उसकै बाबाको पनि ज्यान जोखिममा पारेर दमकल बोलाई र सुतिरहेको भाइलाई बाहिर निकाली । जब आमा–बाबा र पूजा घर पुग्दा त दमकलले आगो निभाइरहेको थियो ।

भाइ सरितासँग टाँस्सिएर सातो गएको अनुहार लिएर बसिरहेको थियो । सरिता भाइलाई काखमा, अनेक कुरा सम्झाउँदै बसिरहेकी थिई । आमा–बाबालाई देख्नेबित्तिकै ऊ कहालिएर रुन थाल्यो ।  आमाले भाइलाई काखमा लिएर अनेक कुरा सोध्न थाल्नुभयो । भाइले छोटो समयमा नै कसरी सरिताले सुतिरहेको बेला उठाएर आगो लाग्नबाट जोगाई भनी बताइरहेको थियो ।

सरिता छड्के आँखाले बाबा–आमा र मलाई क्रमैसँग हेर्न थाली ।
बाबा सरिता छेउ गएको पूजाले देखी । पूजाको आङ जिरिङ्ग भयो, कतै उहाँले सरितालाई केही भन्नु हुने त होइन ? ऊ घरभित्र छिरेकी थिई, ऊ वर्जित ठाउँमा पुगेर भाइलाई जोगाएकी थिई । म सरितालाई जोगाउन चाहन्थेँ तर बाबाको अगाडि म कसरी उसको पक्ष लिऊँ ? मलाई असह्य भइरहेको थियो ।
तर उदेक भयो । सरितालाई अँगालो हाल्दै बाबाले भन्नुभयो, ‘छोरी, आज तिमी नभएको भए मैले छोरालाई ज्यूँदै देख्न पाउने थिइनँ । तिमीले ठूलो उपकार गर्‍यौ छोरी !’

बाबाले अँगालो मार्दै गर्दा आँखा भरिएका थिए, सरिताको अनुहार पनि रुञ्चे भइरहेको थियो ।
‘छोरी तिमीले मेरो घर संसार बचायौ,’ बाबाले भनिरहनु भएको थियो, ‘तिमीलाई मुरीमुरी धन्यवाद । मैले आजको युगमा आएर मानवता नै ठूलो कुरो भन्ने बुझिनँ । यो अबुझ बुबालाई माफी देऊ । तिमीहरुको बाल्यमित्रतामा अज्ञानताले कहिले प्रवेश नगरोस् । तिमीहरुको मित्रतामा मैले एकदमै सानो सोच राखेँ । तिमीहरुको बाल्य  मित्रतामा जातभातको कुरा राखेँ र अलग्याएँ । मबाट ठूलो भूल भयो । मलाई माफ गर छोरीहरु ! मानवता नै सबैभन्दा ठूलो कुरो हो । यसमा जात–भात, उँच–नीच केही हुँदैन ।’
०००
यतिबेला यी सारा कुरा सम्झँदा पूजालाई लागिरहेको छ– बाबाले जीवनमा धेरै राम्रा राम्रा उपहार दिनुभएको छ तर यो जत्तिको मीठो उपहार सायदै दिनुभएको होला !
 

प्रकाशित: १५ माघ २०७६ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App