स्मरण–शक्तिको वैज्ञानिक पक्ष

बुधबार, १५ माघ २०७६, ११ : ०७ डा. लक्ष्मीकुमार पराजुली

मानव शरीरका विभिन्न अंगमध्ये मस्तिष्कको विशेष महत्व छ भन्दा अतिशयोक्ति नहोला। शरीरको कूल वजनको २ प्रतिशत मात्रै हिस्सा मस्तिष्कले ओगटे पनि लगभग २० प्रतिशत ऊर्जा तथा अक्सिजन यसै अंगका लागि खर्च हुने गर्छ। मस्तिष्कलाई व्यक्तिको सामाजिक पहिचानको केन्द्र मानिने हुँदा कथम्कदाचित् कसैको स्मरण शक्तिमा  ठूलो समस्या देखिएमा उसको सामाजिक प्रतिष्ठामै आँच आउने सम्भावना हुन्छ। अझ महत्वपूर्ण कुरा त हाम्रो मस्तिष्कले विगतका अनुभवहरूलाई नै आधार मानेर भविष्यको दैनिक जीवनयापनका रणनीति तय गर्छ। कुनै वयस्क व्यक्तिको दुर्घटना वा अन्य कारण विगतका स्मृति लोप भएका खण्डमा उसको व्यवहार अबोध बालकको जस्तै हुन जान्छ। फलस्वरूप व्यक्तिको दैनिक जीवनमा समेत चुनौती आउन सक्छन्।

शिशु जन्मिनुअगावै आमाको गर्भमा रहँदा नै उसको मस्तिष्कका प्रायः कोष बनिसक्ने हुनाले यसको बनोट शरीरका अरू धेरै अंगभन्दा भिन्न छ। यसैकारण पो हो कि हाम्रो समाजमा व्यक्तिको ‘भाग्यरेखा’ जन्मिँदै कोरिसकिएको हुन्छ भन्ने मान्यता रहेको ! तर कोरिएको त्यो रेखालाई मार्गनिर्देशन त हाम्रा कर्म ले नै गर्ने हुन्।  वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कार्यक्षमता बढाउने उत्तम उपाय भनेकै यसलाई सधैं सक्रिय बनाई प्रयोगमा ल्याइराख्नु हो। बेलायती वैज्ञानिक एलिअनर मागुइरले गरेको अनुसन्धानअनुसार ट्याक्सी चालकको मस्तिष्क अन्य पेसामा आवद्ध व्यक्तिको भन्दा अब्बल र तीक्ष्ण हुन्छ। किनकि विभिन्न मार्ग, चोक तथा बस्तीको नक्साको सटिक जानकारी हरबखत राख्नपर्ने हुनाले उनीहरूको दिमाग सधैं सक्रिय हुन्छ, फलस्वरूप तीक्ष्ण बन्छ। तसर्थ हाम्रो स्मरण शक्ति चुस्त राख्ने हो भने हामी सधैं सिर्जनशील र नयाँ काममा संलग्न हुन जरूरी छ।

हरेक स्वस्थ मानिसको मस्तिष्कमा ऐना स्नायु कोष अर्थात् मिरर न्युरन हुन्छन्, जसको प्रमुख भूमिका भनेकै अरूका बानी–व्यवहार नक्कल गर्नु हो। वैज्ञानिकहरूका अनुसार शिशुले पनि मिरर न्युरनका माध्यमबाटै आफ्नावरिपरि भएका ज्ञान, सीप सिक्छन्। निश्चय पनि आफ्नावरिपरिको वातावरण जस्तो छ, त्यस्तै शिशुले ग्रहण गर्ने हुन्। तसर्थ राम्रो साथीको संगत गर्नुपर्छ भन्ने मान्यता स्नायु–विज्ञानको दृष्टिकोणले पनि तर्कसंगत छ।

वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कार्यक्षमता बढाउने उत्तम उपाय भनेकै यसलाई सधैं सक्रिय बनाई प्रयोगमा ल्याइराख्नु हो।

कुनै पनि नयाँ सीप/ज्ञान आर्जन गर्न लगातार साधना गर्नुभन्दा पनि विश्राम लिएर केही समयको अन्तरालमा अभ्यास गर्दा ती कुरा मस्तिष्कमा दिगो रूपमा बस्छन्। जस्तो : एकै दिनमा लगातार १० घण्टा गाडी चलाउने अभ्यास गर्नुभन्दा दैनिक १ घण्टाका दरले १० दिन अभ्यास गर्नु प्रभावकारी हुन्छ। वैज्ञानिक अनुसन्धानअनुसार लगातार अभ्यास गर्ने मुसाहरूको भन्दा विश्राम लिएर केही समयको अन्तरालमा अभ्यास गर्ने मुसाहरूको मस्तिष्कमा लगभग २ गुणा बढी स्पाइन (स्नायु कोषमा स्मृति भण्डारण गर्ने स्थान) सिर्जना भएको पाइएको छ। साथै व्यायाम गर्दा पनि नयाँ स्पाइन बन्ने भएकाले यो  पनि स्मरण शक्ति बढाउन राम्रो उपाय मानिएको छ। 

विभिन्न प्रकारका स्मृति, सम्झना हाम्रो मस्तिष्कका भिन्न ठाउँमा रहन्छन्। यसैकारण कसैको स्मरण शक्ति एउटा निश्चित पक्षमा नराम्रो भए तापनि अन्य पक्षमा पनि नराम्रै हुन्छ भन्ने हुँदैन। जस्तो : स्थान पहिचान गर्न मस्तिष्कमा स्थानसम्बन्धी विशेष कोष हुन्छन्। कुनै दुर्घटना वा रोगका कारण ती कोषमा समस्या आइहाले पनि स्थानसम्बन्धी पहिचान गर्ने क्षमताबाहेक अन्य कार्यमा खासै समस्या नहुन पनि सक्छ। सबै प्रकारका स्मृति एकै स्थानमा सञ्चित हुने हो भने मस्तिष्कको कुनै एक भागमा असर पर्नेबित्तिकै व्यक्तिका सबै स्मृति मेटिने सम्भावना हुन्थ्यो। यसर्थ भिन्न प्रकारका स्मृति मस्तिष्कका भिन्न–भिन्न ठाउँमै सञ्चित हुनु प्रभावकारी देखिन्छ।

अहिलेको आधुनिक युगमा मानव जातिलाई धेरैभन्दा धेरै सूचना र ज्ञान सञ्चय गर्नुपर्ने बाध्यता छ। यसैले हरेक व्यक्तिलाई आफ्नो ज्ञानको भण्डार र स्मरण शक्ति बढाउने चाहना हुनु स्वाभाविकै हो। हामीले विश्वमा अलौकिक स्मरण क्षमता भएका कतिपय व्यक्तिबारे विभिन्न समाचारमा सुन्ने, पढ्ने गरेकै छौं। निश्चय पनि यस्ता अलौकिक स्मरण क्षमता भएका व्यक्तिको मस्तिष्क आम मानिसको भन्दा कसरी फरक भएको होला भन्ने जिज्ञासा हामी सबैमा पैदा हुनु स्वाभाविकै हो। प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको निधनपश्चात् फोर्मालिनमा संरक्षण गरी राखिएको उनको मस्तिष्कलाई विभिन्न वैज्ञानिकले प्रयोगशालामा अध्ययन÷ अनुसन्धान गरी नतिजा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन गर्ने गरेको पाइन्छ। मानिसको विलक्षण प्रतिभाको वैज्ञानिक आधारको  परिभाषा दिन आइन्स्टाइनको मस्तिष्कमै सबैभन्दा धेरै अध्ययन केन्द्रित गरिएको होला भन्दा अतिशयोक्ति नहोला। मस्तिष्कमा स्मृति भण्डारण गर्ने स्थानहरू जस्तै : हिप्पोक्याम्पस र कोर्टेक्सलगायत मस्तिष्कका दाहिने र देब्रे पाटाबीच आपसमा सूचना आदानप्रदान गर्नेलाई महत्वपूर्ण मानिने कर्पस कोलोजोम भन्ने भाग आम मानिसको भन्दा आइन्स्टाइनको मस्तिष्कमा ठूलो रहेको तथ्य वैज्ञानिक अनुसन्धानले देखाएका छन्।

धेरै मानिस आफ्नो स्मरण शक्ति कम हुँदै गएको र यसको निराकरण कसरी गर्ने भन्दै चिन्तित हुने गर्छन्। तर वास्तवमा सम्झिन नसकेर भन्दा पनि विगतका कतिपय घटना र परिस्थिति बिर्सिन नसकेर मानिसको दैनिक जीवन कष्टकर भइरहेको हुन्छ।

मस्तिष्कका कतिपय कार्य दाहिने वा देब्रे भागमध्ये मुख्यतः एउटाबाट मात्रै नियन्त्रण हुने गर्छन्। त्यसैले दाहिने र देब्रे पाटाबीच सूचना आदानप्रदान गर्ने स्नायु कोष चुस्त र बढी मात्रामा भएका व्यक्तिले आफ्नावरिपरि भएका विभिन्न गतिविधि सजिलै समायोजन गरी छिटो र छरितो ढंगले ग्रहण गर्न सक्छन भन्ने विश्वास वैज्ञानिकहरूमा  छ। त्यसो त ठूलो आकारको मस्तिष्क वा धेरै स्नायु–कोष हुँदैमा कुनै व्यक्ति विलक्षण प्रतिभाको भइहाल्छ भन्ने कदापि होइन। ठूलो मस्तिष्क नै बुद्धिको आधार हुन्थ्यो भने त हात्ती, ह्वेल र डल्फिन यस पृथ्वीमा मानवभन्दा बुद्धिमानी र विवेकी ठहरिनुपर्ने ?

हाम्रो मस्तिष्कमा असीमित सूचना भण्डारण गर्न सम्भव छ त ? वैज्ञानिक अनुसन्धानअनुसार हाम्रो मस्तिष्कमा स्मृति भण्डारण क्षमता सीमित रहेको हुनाले उच्च महत्वका नयाँ स्मृति सञ्चय हुँदै गर्दा पुरानो, कम महत्व राख्ने स्मृति विस्थापन भई मेटिने गर्छन्। अनुसन्धानअनुसार हामी निद्रामा रहेका बखत दिनभरिका स्मृति  मस्तिष्कको हिप्पोकाम्पसले पुनरावृति गर्छ र आफूलाई आवश्यक स्मृति मात्रै कोर्टेक्स भन्ने भागमा लामो समयका लागि सञ्चित गर्न  पठाउँछ। यसैकारण पनि निद्रा अत्यावश्यक जैविक प्रक्रिया हो। उचित मात्रामा निद्रा नपाएका खण्डमा व्यक्तिको निक्र्याेल गर्ने क्षमता घट्दै जान्छ।

धेरै मानिस आफ्नो स्मरण शक्ति कम हुँदै गएको र यसको निराकरण कसरी गर्ने भन्दै चिन्तित हुने गर्छन्। तर वास्तवमा सम्झिन नसकेर भन्दा पनि विगतका कतिपय घटना र परिस्थिति बिर्सिन नसकेर मानिसको दैनिक जीवन कष्टकर भइरहेको हुन्छ। यसैकारण कतिपय व्यक्ति त राम्रोसँग निदाउन पनि सकिरहेका हुँदैनन्। हामी सबैको जीवनमा यति धेरै कुरा हुन्छन कि जसलाई सक्ने भए हामी तुरुन्तै बिर्सिन चाहन्छौं। तर यसो गर्न वैज्ञानिक रूपमा सम्भव छ त ? हामी सबैले भोगेकै कुरा हो कि प्रायः भावना (इमोसन) जस्तै : प्रेम, मृत्यु, डरसँग सम्बन्धित स्मृति हाम्रो मस्तिष्कबाट मेटाउन धेरै कठिन हुन्छ। यस्ता स्मृति मस्तिष्कमा एकदमै सशक्त र स्थायी रूपमा रहने गर्छन्। त्यस्तै सर्प देखेपछि जो पनि डराउँछन्। सर्प घातक हो भन्ने कुरा कुनै व्यक्तिको मस्तिष्कबाट मेटिन गई सर्प देख्दा पनि नडराउने भएका खण्डमा उसको जीवन नै खतरामा पर्न सक्छ। डरसँग सम्बन्धित स्मृति हाम्रो जीवनचक्रका लागि नै अपरिहार्य रहेका हुनाले मुसामा गरिएको अध्ययनअनुसार यस्ता स्मृति आनुवंशिक रूपमै शिशुले आफ्ना बाबु–आमाबाट प्राप्त गर्छन्। तसर्थ कुनै तत्वले बाबु–आमामा डर पैदा गरेको छ भने त्यही तत्वले बच्चाहरूमा पनि डर उत्पन्न हुन सक्छ।   

हामी कहिलेकाहीं जति कोसिस गर्दा पनि विगतका कुनै घटना सम्झिन नसकी स्मरण–शक्ति कमजोर भएको भनेर चिन्तित हुन्छौं। तर कतिपय अवस्थामा मस्तिष्कले त्यस स्मृतिलाई महत्वपूर्ण नठह-याएकाले कोर्टेक्समा सञ्चित नगरेको पनि हुन सक्छ। हाम्रो दिमागमा भण्डारण नै नभएको स्मृति सम्झिन सक्ने त कुरै भएन। बुढ्यौलीपनअनुसार पनि स्मरण–शक्तिमा ह्रास आउन सक्छ, तर बढ्दो उमेरसँगै स्पाइनको संख्या घट्दै जाने हुनाले बुढ्यौली उमेरमा धेरै कुरा सम्झिन नसक्नुलाई खासै अस्वाभाविक मानिँदैन। त्यस्तै हाम्रो मस्तिष्कमा सिर्जना भएका सबै स्मृति सत्य नै हुन्छन् भन्ने छैन, जस्तो : यथार्थमा कुनै आकार नै नभए पनि आकाशतिर हेर्दा वा अन्धकारमा टोलाउँदा हाम्रो मस्तिष्कमा कुनै ढाँचा वा आकारको स्मृति सिर्जना हुन पनि सक्छ। त्यस्तै हालको जस्तै परिदृश्य विगतमा पनि घटेजस्तो अनुभूति हामी कतिपयलाई महसुस भएकै होला। यस्तो भ्रमपूर्ण अवस्थालाई अंग्रेजीमा ‘देजाभु’ भनिन्छ। 

अन्त्यमा, मस्तिष्कसम्बन्धी अध्ययन गर्ने स्नायु–विज्ञान विधा एकदम रुचिकर र विदेशका विश्वविद्यालयहरूमा लोकप्रिय विषय हो। यस विधामा अहिले संसारका उत्कृष्ट प्रयोगशालाहरूमा मानव जातिको भविष्यको गन्तव्य नै परिवर्तन गर्न सक्ने सम्भावना रहेका अनुसन्धानसमेत भइरहेका छन्। जस्तो ः अहिले हाम्रो मस्तिष्कबाट कसरी नराम्रा सोचाइ मेटेर सट्टामा सिर्जनात्मक ज्ञान भण्डारण गर्ने, युएसबीमार्फत एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा मेमोरी स्थानान्तरण गरेजस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी एकैपटक ठूलो मात्रामा स्मृति, ज्ञान प्रवाह गर्ने भन्नेजस्ता अनुसन्धान भइरहेका छन्। तसर्थ कल्पनाका आधारमा निर्माण गरिएका विज्ञानका चलचित्रहरूमा हामीले देख्नेजस्ता दृश्य कुनै दिन भविष्यमा सत्य साबित नहोलान् भन्न सकिन्न।
उपप्राध्यापक, स्नायु–विज्ञान, जुन्तेन्दो विश्वविद्यालय, टोक्यो




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad