coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डको सिइओमा रेग्मी

काठमाडौं - नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओे) मा धनञ्जय रेग्मी नियुक्त भएका छन्। मंगलबार बसेकोे बोर्ड सञ्चालक समिति बैठकले रेग्मीलाई सिइओ नियुक्त गरेको बोर्डका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नागरिकलाई जानकारी गराएका छन्।

रेग्मीले चार वर्ष पर्यटन बोर्डको नेतृत्व गर्ने अधिकारीले बताए। रेग्मी १७ जनासँगको प्रतिस्पर्धाबाट छानिएर सिइओ नियुक्त भएका हुन्।  पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागि आवेदन माग गरेको थियो। त्यसमा १७जनाको आवेदन परेको थियो। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनोट समितिले १७ जनाबाट पहिलो चरणमा नौजना छानेको थियो। नौ जनाबाट तीनजनाको नाम सिइओ नियुक्तिका लागि छनोट समितिलाई दिएकोमा रेग्मी नियुक्त भएका हुन्।  छनोट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए।

झण्डै दुई महिनादेखि रिक्तबोर्ड नेतृत्वलाई सरकारले आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सँग जोडेर हेर्न थालिएको थियो।  नियुक्ति प्रक्रियाले पूर्णता नपाउँदा भ्रमण वर्ष नै प्रभावित हुनसक्ने भन्दै पर्यटन व्यवसायी तथा निजी क्षेत्रले आशंका व्यक्त गर्दै आएका थिए। तत्कालीन सिइओ दीपकराज जोशीको कार्यकाल गत डिसेम्बर २४ मा सकिएपछि बोर्डमा नयाँ नियुक्ति पक्रिया सुरू भएको थियो।  सिइओ छनोट गर्न बोलाइएको बैठक छलफल नै नगरी तेस्रो पटक अनिश्चित कालका लागि स्थगित भएपछि बोर्ड सिइओ विहीन हँुदै बोर्डमा अख्तियार प्रवेश गर्ने शंकापनि बढ्दै आएको थियो।  

सिइओ नियुक्तिका लागि सिफारिस गर्न बनेको उपसमितिका सदस्यले नै राम्रालाई भन्दा हाम्रालाई ल्याउन नियुक्ति प्रक्रिया लम्ब्याउन खोजको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।  पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायिक संगठनका प्रतिनिधिले गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगशकुमार भट्टराईलाई मन्त्रीकै कार्यकक्षमा भेटेर बोर्डमा यथाशीघ्र सिइओ नियुक्तगर्न आग्रह गरेका थिए।  भ्रमण वर्षको समयमा पर्यटनसम्बन्धी निकाय नै प्रमुखविहीन हुँदा पर्यटन उद्योगमा क्षति हुने भन्दै सम्बद्ध निकायले सरकारको ध्यानाकर्षण गराएकाथिए।

को हुन रेग्मी?
२०३२ सालमा स्याङ्जामा जन्मिएका रेग्मीसन् १९९८ मा कञ्चनजंगा हिमालबारे अध्ययन गरेर नेपालको पर्यटन क्षेत्रमा पनि संलग्न छन्।  उनले नेपालका हिमाल र हिमनदी विज्ञको रुपमा अनुसन्धान गर्दै आएका छन्। रेग्मीले नेपालको हिमाल, हिमताल र हिमनदी तथा हिमाली क्षेत्रबारे अनुसन्धान गरेको नागरिकलाई बताएका छन्। सन् १९९३ मा सेकेन्ड्री बोर्ड अफ सेकेन्ड्री एजुकेसन देहरादुनबाट कक्षा १२ सम्मको अध्ययन गरेका रेग्मीले सन् २००६ मा जापानको सापोरोस्थित होक्काइदो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओसाइन्स एन्ड जिओलोजिकल’ विषयमा विद्यावारिधी गरेका थिए।  बूढानीलकण्ठ उच्चमाध्यमिक विद्यालयमा भूगोल विषय शिक्षकको रुपमा समेत काम गरेका रेग्मीले अमेरिकाको एरिजोना विश्वविद्यालयबाट डेन्ड्रेक्रोनोलोजिकल विषयमा तिनमहिने कोर्स गरेको उनको बायोडाटामा उल्लेख छ।

उनी हाल काठमाडौं तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा केन्द्रीय गेस्ट लेक्चरको रुपमा समेत कार्यरत रहँदै आएका छन्। उनले सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेसन नेपालका अध्यक्षको रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेसनका लागि काम गरेका छन्। हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन रिसर्च सेन्टरका समेत अध्यक्ष रहेका रेग्मीले नेपाली सेनासँगको सहकार्यमा इम्जा हिमतालको जोखिम व्यवस्थापन गर्न प्रविधिक सल्लाहकारको रुपमा काम गरेका छन्। 

प्रकाशित: १५ माघ २०७६ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App