coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाले चिनियाँ पर्यटकलाई भिसामा कडाइ गर्ने

कोलम्बो (एजेन्सी) – एक चिनियाँ पर्यटकमा कोरोना भाइरसबाट संक्रमण पुष्टिपछि श्रीलंकाले मंगलबारदेखि नै चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा अनुमति दिन कडाइ गर्ने भएको छ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि चिनियाँ पर्यटकलाई दिइने प्रवेशाज्ञामा कडाइ गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री पवित्रा वानिआराच्छीलाई उद्धृत गरी श्रीलंकाको कोलम्बो गजेट अनलाइन पत्रिकाले जनाएको छ।

कोलम्बोले एक ४३ वर्षीया चिनियाँ महिला पर्यटकमा कोरोना भाइरस संक्रमित पहिलो बिरामी भेटेपछि सरकारी अधिकारीहरूले सोमबार नै यसबारे यहाँका वरिष्ठ स्वास्थ्य अधिकारीसँग परामर्श गरी चिनियाँ पर्यटकलाई भिसा वितरणमा कडाइ गर्ने निर्णय लिएका हुन्।

स्वास्थ्य मन्त्रालयकी सरूवा रोगविज्ञ सुदात समारावीराका अनुसार चीनको हुबेई प्रान्तबाट ती महिला गत जनवरी १९ मा श्रीलंका आइपुगेकी थिइन्।

राष्ट्रपति गोतावाय राजापाक्षद्वारा कोरोना भाइरस फैलिनबाट रोक्न गठन गरिएको विशेष समितिले चिनियाँ पर्यटकलाई श्रीलंका पर्यटनका लागि दिइने भिसामा अस्थायीरूपमा कडाइ गर्न सुझाव भए अनुसार सरकारले प्रवेषाज्ञा अनुमतिसम्बन्धी नयाँ कदम चालिएको हो।

यसैबीच, श्रीलंकाले चीन पढ्न गएका आफ्ना २१ विद्यार्थीको एक समूहलाई मंगलबार फिर्ता ल्याएको छ भने अन्यलाई पनि माग अनुसार क्रमशः स्वदेश फिर्ता गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

चीनको मध्य क्षेत्रमा रहेको वुहान सहरबाट डिसेम्बरदेखि सुरू भएको कोरोना जनवरीको अन्त्यसम्म आइपुग्दा चीनका विभिन्न सहरहरूसँगै विश्वका कतिपय मुलुकमा समेत फैलिइसकेको छ।

कोरोनाको बढ्दो संक्रमणसँगै चीनले दर्जनभन्दा बढी चिनियाँ सहरमा प्रवेश र त्यहाँबाट बाहिरिनमा रोक लगाएको छ। जसका कारण ती सहरहरूबाट आवागमन गर्न चाहने पाँच करोड ६० लाख व्यक्ति प्रभावित भएको अनुमान रहेको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा हुने भोज र जमघटका कार्यक्रममा सहभागिता जनाउँदा भाइरस सर्ने बढी सम्भावना हुने भन्दै चीनले आवागमन तथा नयाँ वर्षका अवसरमा गरिने ठूला जमघट नगर्न निर्देशन गरेको छ।
मंगलबार अमेरिका र जापानले पनि स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई फिर्ता लाने बताएका छन्।

प्रकाशित: १५ माघ २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App