८ वैशाख २०८१ शनिबार
कला

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

ललितपुर – अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा उनले लेखेकी छन्,‘धेरै वर्षपछि मैले फेरि चित्रकला रंगाउने कोशिस गरें।’

ललितपुरस्थित हाउस अफ प्यालेट्सबाट फेरि क्यानभासमा चित्रकला कोर्न सिकेकी उनले यसपटक महिलाको अभूर्त चित्र तयार गरेकी थिइन्। उनीजस्तै पछिल्लो समय हाउस अफ प्यालेट्समा चित्रकला सिक्न इच्छुक सर्वसाधारणहरू पुग्ने गरेका छन्।

हाउस अफ प्यालेट्समा भेटिएकी रिभिका महर्जन क्यानभासमा विभिन्न आकृति कोर्न व्यस्त देखिन्थिन्। स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उनी फुर्सदको समयमा हाउस अफ प्यालेट्समा गएर विगत एक महिनादेखि चित्रकलासम्बन्धी ज्ञान लिइरहेकी छन्। ‘फुर्सदको समयमा चित्रकला सिक्न यहाँ आइपुगेको हुँ। अहिले चित्रकलासम्बन्धी विभिन्न जानकारी पाइरहेको छु,’ उनले भनिन्। हाउस अफ प्यालेट्सले उनले तयार गरेको चित्रकलाको आकारअनुसारको रकम लिन्छ।

चित्रकला सिक्न हाउस अफ प्यालेट्स पुगेका सोनल शर्माले दुई महिनाको अवधिमा तीन वटा चित्र क्यानभासमा कोरिसकेकी छन्। ‘चित्रकला सिकाउने यस्ता संस्थाहरू देशभर विस्तार हुनुपर्छ। कारण चित्रकलामा रुचि हुने यहाँ आएर सहज रूपमा चित्र तयार गर्न सक्छन्,’ उनले भनिन्।

विसं. २०७२ सालको विनासकारी भूकम्पलगत्तै सञ्चालनमा आएको हाउस अफ प्यालेट्सले कयौं सर्वसाधारणलाई चित्रकला तयार गर्न सिकाइसकेको छ। यहाँ नेपाली र विदेशीहरू चित्रकलासम्बन्धी ज्ञान लिएर आफ्नै चित्र तयार गर्छन्।
चित्रकार जेनी नकर्मीले हालसम्म बालबालिकादेखि वृद्धवृद्धाहरू समेतलाई चित्र तयार गर्न सिकाइरहेकी छन्। ‘सिर्जनात्मक विधाको रूपमा लिइने चित्रकला सिक्न सबै उमेर समूहका मानिसहरू इच्छुक देखिन थालेका छन्। हामीले चित्रकलासम्बन्धी प्रारम्भिक ज्ञानमार्फत चित्र तयार गर्न उनीहरूलाई प्रोत्साहन गर्छौं,’ उनले भनिन्। उनका अनुसार अभिनेता राजेश हमालले तयार गरेको चित्रकला हाउस अफ प्यालेट्सले आफ्नै ग्यालरीमा राखेको छ।

‘चित्रकला सिक्न इच्छुकले बनाएको प्रारम्भिक चित्रको अनुसार यससम्बन्धी ज्ञान दिन्छौं। सामान्य शैलीमा हामीले चित्रकला सिकाइरहेका छौं। कसैले एक सातामै चित्र तयार गर्छन् त कसैले महिनौ लगाएर कोर्ने गर्छन्,’ उनले भनिन्।

नेहा अग्रवालले कलम चलाउन सक्नेले चित्रकला तयार गर्नुपर्छ भनेर हाउस अफ प्यालेट्स सञ्चालन गरेकी थिइन्। हाउस अफ प्यालेट्सलाई व्यवस्थापन गरिरहेका अमन शाक्यका अनुसार यहाँ क्यानभासबाहेकको शुल्क लिइन्न। ‘चित्रकलामा रुचि राख्नेले समय लगाएर चित्र तयार गर्न सक्छन्। उनीहरूले क्यानभासमा कोरेको चित्रको आकारअनुसारको रकम लिन्छौं,’ उनले भने।

प्रकाशित: १५ माघ २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App