६ वैशाख २०८१ बिहीबार
अर्थ

सञ्चालक समितिद्वारा नयाँ महसुल निर्धारण गर्न सिफारिस

काठमाडौं - नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले घरेलु उपभोक्ताले प्रयोग गर्ने विद्युत् महसुलको दर घटाउन सिफारिस गरेको छ।  प्राधिकरण सञ्चालक समितिको गत आइतबार बसेको बैठकले समयसापेक्ष अनुसार विद्युत् महसुुल निर्धारण गर्न लागेको हो।  

सञ्चालक समितिको बैठकले ० देखि १० युनिटसम्मका प्रयोगकर्तालाई सबैभन्दा सस्तो मूल्यमा उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समितिका सदस्य चेतराज जोशीले समितिको बैठकले सबैभन्दा कम विद्युत् उपयोग गर्ने घरधनीलाई सस्तो शुल्कमा विद्युत् उपलब्ध गराउने निर्णय गरेको बताए।  ‘० देखि १० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्तालाई सस्तो दररेटमा विद्युत् उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने, ‘साविकको महसुल दरमा अहिले २ देखि ११ प्रतिशतसम्म घटाउने निर्णय भएको छ। ’ सञ्चालक समितिका सदस्य जोशीले रातको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि पनि निकै सस्तो मूल्यमा बिजुली उपलब्ध गराइनेछ।  

प्राधिकरण सञ्चालक समितिले निर्धारण गरेको विद्युत् महसुल विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ। सञ्चालक समिति सदस्य जोशीले प्रिमियर ग्राहकको महसुल शुल्क पनि घट्ने दाबी गरे। प्राधिकरणले प्रतिमहिना ० देखि १० युनिट, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि एक सय युनिट, एक सय एकदेखि एक सय ५० युनिट, एक सय ५० देखि दुई सय युनिट र दुई सयदेखि चार सय युनिटसम्म विद्युत् प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरेर शुल्क निर्धारण गर्ने जनाएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ० देखि १० युनिट बिजुली खपत गर्ने ग्राहकलाई सस्तो शुल्कमा बिजुली उपलब्ध गराउने तयारी गरेको बताए।  ‘मासिक १० युनिटभन्दा कम बिजुली खपत गर्ने ग्राहक संख्या सात लाखभन्दा बढी छ,’ उनले भने, ‘त्यस्ता ग्राहकलाई सबैभन्दा सस्तो दरमा बिजुली उपलब्ध गराउने तयारी गरिरहेका छौं। ’ ११ युनिटदेखि २० युनिटभन्दा प्रयोग गर्नेको संख्या १७ लाख छ।  ० देखि १० युनिटसम्म प्रयोग गर्नेलाई सबैभन्दा सस्तो दर र त्यसपछि प्रयोगका आधारमा शुल्क लिइने उनको भनाइ छ।   

प्राधिकरणले हाल मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकबाट प्रतियुनिट तीन रुपैयाँ र सेवा शुल्कबापत ३० रुपैयाँ लिँदै आएको छ।  मासिक चार सय युनिटसम्म खपत गर्ने ग्राहकबाट प्रतियुनिट १२ रुपैयाँ र सेवा शुल्कबापत एक सय ५० रुपैयाँ लिन्छ।  प्राधिकरणले एम्पियर बढेसँगै सेवाशुल्क पनि बढ्दै जाने जनाएको छ।  

प्राधिकरणले खपतको आकारअनुसार घटीमा प्रतियुनिट न्यूनतम तीन रुपैयाँदेखि अधिकतम १३ रुपैयाँसम्म महसुल तोकेको छ।  प्राधिकरणका अनुसार प्रतियुनिट १३ रुपैयाँभन्दा धेरै महसुल शुल्क लिन पाइँदैन।  प्राधिकरणका अनुसार सहरमा भन्दा ग्रामीण भेगमा बिजुली महसुल केही कम छ।

प्रकाशित: १५ माघ २०७६ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App