coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा–बिराटनगर हवाई उडानको तयारी

पोखरा - पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।  निजी हवाई कम्पनी बुद्ध एयरले आगामी सोमबारदेखि पोखरा–बिराटनगर–पोखरा रुटमा उडान गर्न थालेको हो।  पूर्वी नाकाबाट नेपाल भित्रिएका भारतीय र त्यस भेगका आन्तरिक पर्यटकलाई पोखरासम्म आउजाउ गराउन यो उडानले सघाउने पर्यटन व्यवसायीको भनाइ छ।  

बुद्धले प्रारम्भिक चरणमा सातामा तीन दिन यो रुटमा उडान गर्दैछ।  बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार सोमबार, बुधबार र शुक्रबार पोखरा–बिराटनगर–पोखरा रुटमा उडान हुनेछ।  १८ सिट क्षमताको बिचक्राफ्ट १९०० डि जहाजबाट बुद्धले उडान गर्ने उनले बताए।  ‘पोखरा–बिराटनगर रुटको उडानले पूर्वी भेगबाट नेपाल भित्रिएका भारतीयसहित तेस्रो मुलुकका पर्यटकलाई पनि यो हवाई सेवाले सहजता तुल्याउनेछ,’ बरालले भने, ‘पूर्वी भेगबाट पोखरा आउने आन्तरिक पर्यटकलाई पनि यो उडानले आउजाउमा सजिलो बनाउँछ। ’

सुरुमा सानाको आकारका जहाजबाट एक दिन बिराएर उडान थालेपनि यात्रु संख्या बढेर माग थपिँदै गएमा ठूलो आकारको जहाज वा दैनिक उडानसम्म पनि गर्न सकिने उनले बताए।  पोखरा बिराटनगर सिधा हवाई सेवा आवश्यक रहेको भन्दै पूर्वी क्षेत्र र पोखराका पर्यटन व्यवसायीले पनि बेलाबेला माग गर्र्दै आएकोमा अब सहज हुने बरालले बताए।  

बरालका अनुसार पोखराबाट बिराटनगरसम्मको एकतर्फी भाडा नेपाली र भारतीय यात्रुका लागि प्रतिव्यक्ति ६२ सय रुपैयाँ तोकिएको छ।  तेस्रो मुलुकका विदेशी पर्यटकले भने एक सय ३० अमेरिकी डलर एकतर्फी रुपमा तिर्नुपर्नेछ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकमध्ये भारतीयले मात्र नेपाली सरहको भाडामा आउजाउ गर्न पाउने उनले बताए।  प्रारम्भिक भाडा मात्र अहिले बुद्धले सार्वजनिक गरेको भएपनि केही समयपछि यो भाडादर केही बढ्न सक्ने उनले बताए।

उडान हुने दिन बुद्धको जहाज पोखराबाट बिहान ११ः४५ मा बिराटनरका लागि उड्नेछ।  एक घण्टा पाँच मिनेटमा बिराटनगर पुगेपछि त्यही जहाज बिराटनरबाट १ः१० मा पोखराका लागि उड्नेछ।  यो रुटको उडानले भारतको सिक्किम, दार्जिलिङ घुम्न आएका विदेशी, भारतीयसहित त्यस भेगका पाहुनालाई पोखरा आउजाउमा सहज हुने उनले बताए।  त्यसबाहेक नेपालकै पूर्वी भेगका पर्यटकीय गन्तव्यका पाहुनालाई पनि पोखरासम्म आउजाउ गर्न सहज हुने उनले बताए।  पोखराबाट पूर्वी नाकासम्म पुगेर व्यापारिक कारोबार गर्नका लागि पनि यो उडानले सघाउने उनले बताए।  

पोखरा–बिराटनगर जोड्ने यो हवाई उडानले बिराटनगरसहित धरान, इटहरी, झापा, इलामसहित पूर्वी भेगबाट आउजाउ गर्न सहज हुने बरालले बताए।  ‘सबैभन्दा बढी लाभ पूर्वी भेगबाट भित्रिएका भारतीय पर्यटकलाई पोखरा आउजाउमा सहज हुन्छ।  काकडभिट्टा नाका भएर नेपाल भित्रिएका पाहुना बिराटनगर आएर पोखरा घुम्न आउन सक्नेगरी उडानले सहजता दिलाउनेछ,’ बरालले भने, ‘स्वदेशी पर्यटकीय गन्तव्य इलामसँगको आउजाउमा पनि यसले सघाउनेछ। ’ पोखरा र बिराटनगरको मौसम सही अवस्थामा रहेको खण्डमा उडानमा कुनै समस्या नआउने उनले बताए।

अहिले पोखराबाट बिराटनगर सहित पूर्वी भेगसम्म आउजाउको एकमात्र विकल्प स्थलमार्ग हो।  पोखराबाट पूर्वी सहरलाई जोड्नेगरि अहिले दिवा र रात्री गरि डेढदर्जन हाराहारीमा दैनिक बस सेवा चल्छन्।  ती बस सेवाले प्रयाप्त यात्रु पाईरहेकोले हवाई सेवा बिस्तार हुँदा यात्रु अभाव नहुने पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए।  ‘दैनिक करिब डेढदर्जन बस पोखराबाट पूर्वी सहरमा संचालन हँुदा यात्रु अभाव खासै खेप्नुपर्दैन।  यस्तै पहुँच हवाई सेवामा दिलाउने हो भने पोखरा आउजाउ बढ्छ,’ केसीले भने, ‘हवाई मार्गले पूर्वी भेगलाई पोखरा जोड्दा पर्यटनमा राहत दिलाउँछ।

अहिले स्थलमार्ग हुँदै पोखराबाट बिराटनगर पुग्न करिब १२ घण्टा लाग्छ।  लामो यात्रा गर्दा यात्रुले थकान र झन्झट बेहोरिरहेकोमा हवाई मार्गले छोटो समयमा आउजाउ गर्न पाउने भएकोले पोखरामा पूर्वी भेगबाट आउने आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ।  पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखरा–बिराटनगर उडान गर्दा यसले दीर्घकालिन फाइदा दिलाउने बताए।  पोखरा–भैरहवा उडान गर्दा पनि सुरुमा निरन्तरताबारे आशंका उब्जेपनि त्यसले पनि निरन्तरता पाएको उनले बताए।  

‘बिराटनगर औद्योगिक क्षेत्र हो।  त्यसबाहेक पूर्वी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक पनि प्रयाप्त हुन्छन,’ पोखरेलले भने, ‘ती पर्यटक सिधै पोखरा आउन सक्ने हूँदा यात्रु अभाव हुनेछैन। ’ अहिले बसको विकल्प नहुँदा त पूर्वी सहरबाट पोखरा आउने आन्तरिक र बाह्य पर्यटक प्रयाप्त हुने गरेकोमा सिधा उडानले झनै सहज हुने उनले बताए।  पूर्वी भेगबाट आएका पर्यटक अहिले हवाई मार्गबाट पोखरा आउन चाहेमा काठमाडौं हुँदै आउनुपर्दा महंगो भाडा बेहोर्नुपरेकोमा सिधा उडानले यात्रा पनि सस्तो र आउजाउ पनि छिटो हुने पोखरेलले बताए।  

‘हवाई कम्पनीले केही समय धैर्य गर्नुपर्छ।  सुरुका केहीदिन यात्रु अभाव पनि हुनसक्छन,’ पोखरेलले भने, ‘तर, दीर्घकालिन रुपमा यो रुटको उडानलाई यात्रु अभाव हुँदैनन।  किनकी पूर्वी भेगबाट आउन चाहेका नेपाली र पूर्वी नाका प्रयोग गरेर भित्रिएका विदेशीलाई पनि सहज हुन्छ। ’ बिराटनगरबाट काठमाडौं हुँदै पोखरासम्म आउँदाको हवाई यात्रा महंगो रहेकोमा अब सिधा उडानले निकै नै सस्तो र छिटो हुने उनले बताए। 

प्रकाशित: १५ माघ २०७६ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App