७ वैशाख २०८१ शुक्रबार
खेल

चौका विवादमा एपीएफद्वारा मैदान खाली

इटहरी- विभागीय टोली एपिएफले महिला क्रिकेटमा खेल परित्याग गर्दा राष्ट्रिय खेलकुदको छवि थप धुमिल बन्यो। चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चल विजेता घोषित भयो।  पूर्वाञ्चलविरुद्धको महिला क्रिकेट फाइनलमा २ विकेट हातमा रहँदा एपिएफलाई ६४ रनको लक्ष्य पूरा गर्न ९ बलमा ९ रन चाहिएको थियो। पूर्वाञ्चलकी कविता गौतमको बलमा रितु कनौजियाको सटले विवाद निम्त्यायो। उनको प्रहार बाउन्ड्रीमा रहेकी फिल्डर अप्सरी बेगमले डाइभ गरेर चौका जोगाइन्। भलादमीको खेल मानिने क्रिकेटमा अम्पायरले प्रष्ट नदेख्दा वा थर्ड अम्पायर नहुँदा अम्पायरले सम्बन्धित फिल्डरलाई सोध्ने चलन छ। क्रिकेटमा फिल्डरले ढाँटदैन भन्ने विश्वास लिइन्छ। विपक्षी टोली र अम्पायरले पनि त्यसलाई मान्ने गर्छन।

अम्पायर अधिप प्रधानले फिल्डरलाई सोधे। फिल्डरले चौका नभएको बताएपछि एपिएफले त्यो बलमा दुई रनमात्र जोड्न सक्यो। त्यसपछिका दुई बल कविताले वाइड फालिन । अब एपिएफलाई जितका लागि ८ बलमा ५ रन जोडे पुग्ने भयो । प्लेयर बक्सबाट छोड्न दबाब आएपछि खेलाडीले मैदान छाडे र पूर्वाञ्चल स्वर्ण पदकको हकदार बन्यो। चौकाको विवादमा एपिएफले खेल परित्याग गरेको बताए पनि त्यसपछि टोलीले दुई बल खेलेको थियो। खेल परित्याग गरे पनि एपिएफले उपविजेताको पदक भने थापेको थियो। त्यसअघि पूर्वाञ्चलले १८.४ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । एपिएफले खेल परित्याग गर्दा पनि खेल १८.४ ओभर सकिएको थियो।

प्रकाशित: १२ पुस २०७३ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App