८ वैशाख २०८१ शनिबार
अन्य

सजगता सर्वोत्तम उपाय

काठमाडौं – राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले नोवेल कोरोना भाइरस अहिलेसम्म समुदायमा नफैलिएको हुनाले जनमानसलाई आंतकित नहुन अनुरोध गरेको छ। छिमेकी चीनको हुआन राज्यमा फैलिएको यो भाइरसको संक्रमण र मृत्युको क्रम बढेसंगै नेपाली जनमानसमा त्रास फैलिएको सन्दर्भमा उनले यस्तो अनुरोध गरेका हुन्। राष्ट्रिय इपिडियामालोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख विवेककुमार लालले भने। उनले नागरिकसितको कुराकानीको क्रममा जनमानसलाई यस्तो अनुरोध गरेका हुन्।

नोवेल कोरोना भाइरस सन् २००३ मा चीनमा देखापरेको सार्स भाइरसकै एक प्रजाति भएकोे र हालसम्म अन्यको तुलनामा यस भाइरसको मृत्युदर कम भएकोले आत्तिइहाल्नु नपर्ने उनको भनाइ छ। तर जुनसुकै भाइरससित बच्नका लागि निरन्तर सजग भने हुनुपर्ने उनले बताए। लालका अनुसार यसअघि सन् २००३ मा फैलिएको सार्सको संक्रमण अनुपातमा मृत्युदर २५ प्रतिशत थियो भने सन् २०१२ मा अरबियन देशमा फैलिएको मर्च भाइरसको मृत्युदर ३४ प्रतिशत थियो। अहिले फैलिरहेको कोरोनाको मृत्युदर तीन प्रतिशत मात्र रहेको छ। यो स्थितिलाई हेर्दा यो संक्रमणसँगै मृत्यु भएकाहरू पहिल्यै गम्भीर रोग लागिसकेका तथा वृद्धवृद्धा रहेकोले सबै उमेर समूहका व्यक्ति जोखिममा नरहेको उनले औंल्याए।

‘चीनमा पटक मृत्यु भएका व्यक्ति पहिल्यै लिभर सिरोसिस भएका बिरामी थिए,’ उनले भने। त्यसैगरी यो भाइरसको सक्रमणको प्रकृति पशुबाट मान्छेमा संक्रमण भएको र मान्छेबाट मान्छेमा संक्रमण भएको प्रमाणित नभइसकेको स्थिति रहेको उनले बताए। तर नयाँ भाइरसको प्रकृृति र विकसित रूप प्रकाशमा आउन बाँकी रहेको हुनाले सरकार र जनमानस दुवै सजग हुनुपर्ने उनको सुझाव छ। ‘यसको हानि र फैलिने स्वरूपको निष्कर्ष आइसकेको छैन,’ लाले भने, ‘त्यसैले निरन्तर सजगता आवश्यक छ।’

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा उच्च सर्तकता अपनाइरहेको जनाएको छ। चीनबाट आउने प्रत्येक यात्रुलाई जाँच गर्न थर्मल स्क्यानर मेसिन जडान भई शुक्रबारदेखि नै चालू अवस्थामा रहेको मन्त्रालयको भनाइ छ।

चीनबाट आएका र अन्य देशबाट आएका यात्रु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र परेमा उनीहरुलाई सीधै एम्बुलेन्समार्फत अस्पतालमा पु¥याउने र भाइरस परीक्षण गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले शुक्रबारदेखि नै मापदण्डभित्र परेका बिरामीको परीक्षण गर्ने व्यवस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा व्यवस्था गरेको छ। हालसम्म चीन र हङकङबाट नेपाल आएका चार जनाको परीक्षण भएकोमा एक जना चीनबाट नेपाल आएका विद्यार्थीमा मात्र प्रमाणित भएको पाइएको र बाँकी तीन जनामा नेगेटिभ (भाइरस संक्रमण नभएको) पाइएपछि मंगलबारभित्र सबै जना डिस्चार्ज भइसकेका छन्। डिस्चार्ज भएका सबैको स्वास्थ्य सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता अनुपराज बाँस्तोलाले भने, ‘सबैको स्वास्थ्य राम्रो थियो, डिस्चार्ज ग-यौं।’।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यो फ्लुको सिजन पनि भएकोले कोरोना भाइरस र अन्य फ्लुबाट बच्नका लागि सफाइमा बढी ध्यान दिनुपर्ने सुझाव दिए। कोरोना वा अन्य भाइरसको संक्रमणबाट बच्न सार्वजनिक सौचालय गएपछि तथा बस छोएपछि हात सफा गर्ने, भिडभाडमा सकेसम्म नजाने, अरूसित हात मिलाउनुको सट्टा नमस्कार गर्ने, रुघाखोकी लागेका व्यक्तिसित नजिक नजाने र ती व्यक्तिले अरूको सामुन्ने हाच्छ्यिु नगर्ने, श्वास फेर्न गाह्राे भए र नाकवाट पानी बगेमा तत्काल उपचार सुरु गर्ने चिकित्सकको सुझाव छ। ‘आवश्यक परे दिनको १४ पटकसम्म पनि हात धुनुपर्ने अवस्था आउँछ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘भाइरसबाट बच्न सतर्कता अपनाउनुभन्दा अर्को प्रभावकारी उपचार छैन।’

प्रकाशित: १५ माघ २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App