coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सम्पदाको उपयोग मात्रै नभई संरक्षण गर्न आग्रह

हेटौंडाको सहिद स्मारकमा प्रजातान्त्रिक पार्कको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, मुख्यमन्त्री डोरमणि पौडेललगायत। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्। हेटौंडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा प्रजातान्त्रिक पार्कको मंगलबार उद्घाटन गरेपछि उनले प्राकृतिक सम्पदाको उपयोग मात्र होईन सन्तुलित रुपमा संरक्षण पनि गर्नुपर्ने बताईन्।

‘बागमती प्रदेश पनि प्राकृतिक, सांस्कृतिक सम्पदाको दिगो सदुपयोग गर्दै सुखी नेपाली समृद्ध नेपाल साकार पार्न सरकार सफल हुने अपेक्षा गरेको छु,’ उनले भनिन्। संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पशुपतिनाथ, बौद्धनाथ, स्वयंभूलगायतका धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने उनले बताइन्।
‘विश्वव्यापी रूपमा पर्यावरणमा प्रतिकूल प्रभाव परेकाले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा पर्दै आएको छ,’ उनले भनिन्, ‘चुरे क्षेत्र अति संवेदनशील रहेकाले जीव र वनस्पति संरक्षण गर्न वातावरणीय सन्तुलन काम गर्नुपर्ने खाँचो छ।’

वन, खानेपानी, ताल तलैया जस्ता पर्यावरणमैत्री संरचनाको विस्तार गर्न सरकार र सम्बन्धित निकायलाई उनले ध्यानाकर्षण पनि गराइन्। प्रदेश सरकारहरूले वातावरणीय सन्तुलन तथा कमजोर चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले प्रदेशभित्र पर्यावरणमैत्री संरचनासँगै जनस्वास्थ्य, गुणस्तरीय शैक्षिक संस्थाको स्थापना र विकासमा प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

‘मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा सहिदको अमूल्य र ठूलो योगदान रहेको छ,’ उनले भनिन्, ‘नयाँ पुस्तामा राष्ट्रियताको जगेर्ना, देशभक्तिको भावना जागृत गर्न, लोकतन्त्रको सम्बद्र्धन र प्रवद्र्धन गर्न तथा सामाजिक न्यायको पक्षमा क्रियाशील हुन उत्प्रेरित गर्नेछ।’ सहिद स्मारक जस्ता उद्यान सुन्दर पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको र त्यस्ता संरचनाले सहिदप्रति उच्च सम्मान र योगदान चीरस्थायी हुने भन्दै उनले बागमती नदीको सभ्यताअनुसार प्रदेशको नाम बागमती राखेकोमा खुसी व्यक्त गरिन्।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माण गर्न सहिदको योगदानबाट प्राप्त उपलब्धीलाई सबैले निष्ठापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए। ‘देशले यतिबेला परिवर्तनको लागि रगत होइन, समृद्धिको लागि पसिना र पौरख खोजेको छ,’ उनले भने, ‘सुखी नेपाली, समृद्ध नेपाल त्यही आकाक्षांको अभिव्यक्ति हो, यो राष्ट्रिय संकल्प पूरा गर्न सकिन्छ।’

प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांंग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल लगायतले देश र जनताको विकासका लागि एकताबद्ध भएर लाग्नुपर्ने भन्दै सबै पक्ष जिम्मेवार र कर्तव्यनिष्ट हुनुपर्ने बताए। कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न देशका राजदुतहरु लगायतको आतिथ्य रहेको थियो।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका विशिष्ठ नेताहरुको सम्झनामा निर्मित प्रजातान्त्रिक पार्कको राष्ट्रपति भण्डारीले उद्घाटन गरिन्। करिब डेढ करोड रुपैयाँ लागतमा निर्मित पार्कमा राखिएका चार नेताको प्रतिमालाई उनले विद्युतीय स्विच दबाएर अनावरण गरेकी हुन्।

पार्कमा नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बीपी) कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको मूर्ति राखिएको छ।

१२ सहिदको मुखाकृति कुँदिएको ढुंगे स्तम्भमा माल्यार्पण गरी सहिदप्रति सम्मान व्यक्त गरेकी राष्ट्रपति भण्डारीले मदन भण्डारीको शालिकमा पनि माल्यार्पण गरेकी थिइन्। सहिद स्मारकमा २५ वर्षअघि निर्मित एउटै विशाल २५ टनको ढुंगामा १२ सहिदको मुखाकृति कुँदिएको स्तम्भ छ। बगैंचा र नेपालको नक्सासहित ६५ फिट अग्लो विशाल सहिद स्तम्भ पनि छ।

प्रकाशित: १५ माघ २०७६ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App