८ वैशाख २०८१ शनिबार
अन्य

तनाव हटाउने संगीत थेरापी

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो कुरा हैन । संगीतको माध्यमबाट उपचार गरिँदै आएको छ । यो उपचार विधि चिकित्सकीय उपचार विधि हो ।

संगीतको माध्यमबाट गरिने उपचार विधिलाई संगीत चिकित्सा भनिन्छ । संगीत चिकित्सालाई संगीत थेरापी पनि भनिन्छ । विश्वमा स्वास्थ्य उपचारको विभिन्न पद्धतिमध्ये संगीत थेरापी एक राम्रो उपचार पद्धति हो । संगीतले जीवनशैलीलाई नै आनन्दमयी र सुखमय बनाई जीवनपद्धतिलाई सरल र स्वस्थ बनाउँछ ।

ग्रन्थीमा उत्प्रेरणा
संगीत चिकित्साको प्रयोगबाट टाउको दुख्ने, रुघाखोकी लाग्ने, मानसिकरोग लाग्ने जस्ता समस्याबाट बच्न सकिन्छ । संगीत चिकित्साको माध्यमबाट व्यक्तिको पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरको कोषिका तथा मांशपेशीमा कम्पन उत्पन्न हुन्छ । संगीतको धुनले उत्पन्न हुने कम्पनका कारण शरीरका अंग लचिलो तथा चलायमान हुन्छन् । शारीरिक अंग सहजरुपमा चलायमान हुँदा रक्त प्रवाहमा त सहजता हुन्छ नै ।

व्यक्तिको मन–मस्तिष्क प्रफुल्लित हुन्छ । जसले खुसीका हार्मोन सक्रिय हुँदा व्यक्तिको मस्तिष्क तीक्ष्ण हुन्छ । यो थेरापीले मानसिक रोग लाग्ने समस्याबाट त बच्न सकिन्छ नै । संगीत चिकित्साको प्रयोगले व्यक्तिको मस्तिष्क स्वस्थ हुने भएकाले स्मरण शक्ति बढ्नुका साथै मस्तिष्क सृजनात्मक काम गर्नका लागि सक्रिय हुन्छ । संगीतले मन एकत्रित गर्छ ।

सुमधुर संगीतमय वातावरणले जीवनमा ठूलो भूमिका खेलेको हुन्छ । दैनिक जीवनका घरायसी वातावरणदेखि कार्यालय, होटल, यात्रा जहाँ भए पनि संगीतले मन आनन्दित तथा प्रफुल्लित बनाई तनावबाट मुक्त हुन सहयोग गर्छ ।

संगीत चिकित्सा शारीरिकभन्दा मानसिक समस्यामा परेका बिरामीका लागि बढी लाभदायक हुन्छ । संगीत चिकित्साले व्यक्तिको मन सन्तुलित रहन सहयोग गर्छ ।

थेरापीको आनन्द लिने टेक्निक
संगीत थेरापी गर्ने तरिका छन् । संगीत थेरापी गर्नुपूर्व बिरामीलाई मन पर्ने किसिमका संगीत छनोट गर्नुपर्छ । मन परेको संगीतको छनोट गरिसकेपछि आनन्दले संगीत सुन्नुपर्छ । कुनै तनावरहित अवस्थामा ध्यान एकत्रित गरेर संगीतको धुनमा आनन्द लिन सक्नुपर्छ । संगीतको भाव बुझेर आफूले आफैँलाई प्रश्न गर्नुपर्छ कि, ‘म हरेक काम गर्नु सक्छु ?’ र आफैं उत्तर दिनुपर्छ, ‘सक्छु ।’ जसले व्यक्तिको आत्मबल बढाउन सहयोग गर्छ ।

समस्यालाई छोडिदिएर संगीतको मस्त आनन्दमा डुबी हरेक समस्याको समाधान गर्न सकिने उत्तर खोज्नुपर्छ । संगीतको धुनमा बिस्तारै शरीरका अंग चलाउँदै संगीतको सुर तालमा शरीरलाई चलायमान बनाउँदै लैजानुपर्छ । जसले व्यक्तिका नसानसामा कम्पन उत्पन्न गर्छ । शरीरमा कम्पन उत्पन्न हुँदा शरीर लचिलो भई शरीरमा भएका विकार तत्वसमेत शरीरबाहिर जान सहयोग मिल्छ ।

संगीतको धुनमा रमाउँदा तथा नाच्दा रक्तसञ्चारमा सन्तुलन हुन सहयोग पुग्छ । जसले हृदयाघातको जोखिमबाट समेत बच्न सकिन्छ ।

यो थेरापी गर्नाले गहिरो निद्रा लाग्नुका साथै तनाव मुक्त गर्न सक्छ । रिस कम गर्न मद्दत गर्छ । तनाव मुक्त भएको अवस्थामा एन्जाइटी जस्ता मानसिक समस्याबाट बच्न सकिन्छ । दुखाइ त कम हुन्छ नै संगीत थेरापीले मुड (मन) नै परिवर्तन गरिदिन्छ । यसले जहिल्यै सकारात्मक सोच्न उत्प्रेरित गर्छ, जसले जीवन नै उत्सवमय बनाइदिन्छ ।

संगीतको धुनमा नाच्दा राम्रो व्यायाम पुगेको हुन्छ । यो शरीर फिट राख्ने उपयुक्त व्यायाम हो । संगीतको धुनमा रमाउनाले मोटोपनाको समस्याबाट समेत बच्न सकिन्छ । त्यति मात्रै हैन मन परेको संगीतको धुनमा रमाएर नाच्नाले शरीरमा व्यायाम पुगी छालाबाट पसिनाको माध्यमबाट शरीरका विकार तत्व बाहिर जान्छन्, जसले छाला स्वस्थ भई व्यक्ति सुन्दर हुन सहयोग गर्छ ।  

सात स्वर
गान्धर्ववेदअनुसार संगीतमा ‘सा, रे, ग, म, प, ध नि’ गरी सात स्वर हुन्छन्, तिनै सात स्वरहरुको समिश्रणबाट सबै प्रकारका रागहरुको निर्माण हुन्छ । सामान्यतः हारमोनियम, गितार, सारंगी, बाँसुरीजस्ता वाद्यवादनमार्फत यिनै स्वरलाई आधार बनाएर संगीत सृजना गरिन्छ ।

अमेरिकी चिकित्सक प्रो. सुशान वेबरका अनुसार संगीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै अवस्थालाई सकारात्मक प्रभाव पार्ने शक्ति हुने भएकाले रोगीको रुचि अनुसारका संगीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ ।

व्यक्ति तथा उमेरसमूहअनुसार संगीतको रोजाइ फरक–फरक किसिमको हुनसक्छ । संगीत चिकित्सामा व्यक्तिलाई मनपर्ने संगीतको छनोटअनुसार संगीतको रसास्वादन गराएर यो चिकित्सा विधि अपनाइन्छ ।

प्रस्तुति : उपेन्द्र खड्का

प्रकाशित: १४ माघ २०७६ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App