coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गाईको दुध कि अरु नै ?

जेसिका ब्राउन
सबै स्तनधारीको जीवनमा दुधको महत्व छ । सन्तान जन्मिनेबित्तिकै उसकी आमाको स्तनमा भएको दुध पिउने अधिकार हुन्छ । जनावरका सन्तानले चाहिँ जन्मिएको र हुर्किएको केही समयभित्रै दुध पिउन छाडिदिन्छन् । त्यसपछि तिनले अरु नै चिज खान थाल्छन् । तर मानव जातिमा तयस्तो हुँदैन । बच्चाले आमाको दुध पिउन छाडेपछि पनि गाई, भैंसी, भेडा–बाख्राका दुध पिउन छाड्दैन ।

मानिस मात्र एउटा यस्तो प्राणी हो, जसले अन्य जनावरको दुधमा आँखा गाडिरहन्छ । उसको तर्क छ, दुध उसको स्वास्थ्यका लागि र खासगरी हाडका लागि अति आवश्यक छ । जबकि नयाँ शोधले भन्छ, अन्य जनावरको दुध पिउनु अनावश्यक, अप्राकृतिक र कतिपय अवस्थामा हानिकारक पनि हुनसक्छ ।

मानिसले ११ हजार वर्ष पहिले गाईपालन गर्न थालेको थियो । तर दुधमा भएको लेक्टोज सुगर पचाउने क्षमता त मानिसले १० हजार वर्ष पहिले मात्र विकसित गरेको थियो ।

यसको शुरुवात दक्षिण–पश्चिमी एसियाबाट भएको थियो । पछि यो क्रम बिस्तारै युरोपसम्म फैलियो । यही कारण संसारमा केवल तीन प्रतिशत मानिसमा मात्र वयस्क भएपछि लेक्टेज नामक एन्जाइम बन्ने गरेको हो । जसले बालापनमा नै आमाको दुध पिउन छाड्छन्, उनीहरुको शरीरमा लेक्टेज एन्जाइम उत्पादन हुनै छाड्छ । यसपछि मानिस दुधमा भएको सुगर लेक्टोज पचाउन सक्दैनन् । यही कारणले उनीहरुको शरीरमा रिएक्सन हुन थाल्छ ।

युरोपेली, केही अफ्रिकी, मध्यपूर्व र दक्षिण एसियाली मानिसलाई अपवादको रुपमा छाड्ने हो भने संसारका अधिकांश मानिसलाई दुधमा रहने सुगर लेक्टोजका कारण एलर्जी हुन्छ । अमेरिकामा बस्ने युरोपेली मूलका ९ प्रतिशतमा मात्र दुध पचाउने क्षमता छ । उनीहरु पनि दुधबाट बच्न चाहिरहेका छन् ।

हुन त यसका केही कारण हुन्छन् । जस्तो कि स्वास्थ्य र पशुपालनदेखि पर्यावरणबाट हुने हानिसम्मका आदि... ।
यही कारण अमेरिकामा दुग्ध पदार्थ र गाईको दुधको विकल्पका रुपमा अन्य उत्पादनहरु आउन थालेका छन् र यसले बजार पनि पाउन थालेका छन् ।

तर प्रश्न के पनि उठिरहेको छ भने गाईको दुध छाडी त्यसको विकल्प अपनाउनु स्वास्थ्यका लागि कत्तिको फाइदाजनक हुन्छ त ? गाईको दुधबाट हामीले जति पोषक तत्व पाउँछाैं, त्यो वैकल्पिक उत्पादनबाट पाउन सक्छाँ त ? दुध पिउँदा मानिसलाई लेक्टोजको एलर्जी बढ्ने कुरा साँच्चिकै हो कि भ्रम मात्र ?

गाईको दुधमा कुन कुन पोषक तत्व ?
गाईको दुधमा प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हो । साथै, यसका माध्यमबाट हामीले भिटामिन बी १२ र आयोडिन निकै मात्रामा पाउँछौँ । यसमा म्याग्नेसियम पनि पनि हुन्छ । यसले हाडलाई बढाउने र मांसपेसीलाई सशक्त बनाउन भूमिका खेल्छ । शोधमा के पनि पाइएको छ भने क्यासिनजस्ता तत्वले रक्तचाप नियन्त्रण गर्छ ।

बेलायतको नेसनल हेल्थ सर्भिस भन्छ, एक वर्षदेखि तीन वर्षभित्रका बालबालिकाको हाडको उचित विकासका लागि ३५० मिलिग्राम क्याल्सियम दैनिक लिनु उचित हुन्छ । यो एक गिलास दुध पिउँदा स्वतः प्राप्त हुन्छ । तर वयस्कले चाहिँ त्यति नै मात्रामा दुध पिएको खण्डमा के फाइदा हुन्छ त ? के तिनको हाड अझ मजबुत बनाउन भूमिका खेल्छ त ?

हाडका लागि क्याल्सियम अति आवश्यक हुन्छ भन्ने कुरामा त कुनै विवाद छैन तर बढी क्याल्सियम खानेहरुमा हाड टुक्रने रोगबाट मुक्त हुन सक्छन् त ? यसबारे तथ्याङ्क उपलब्ध छैन र भएका शोधले पनि एकअर्काका विपरीत परिणाम दिइरहेका छन् ।

शोधले स्पष्ट रुपमा केही भन्न सकेको छैन । बरु केही शोधको परिणामले त बढी दुध पिउनेहरुको हड्डी फुट्ने वा टुक्रने सम्भावना बढ्नेसमेत देखाएको छ ।

स्वीडेनमा भएको एक शोधका अनुसार, जो महिला आधा गिलासभन्दा कम दुध प्रतिदिन खान्छन्, तिनमा हड्डी टुक्रने खतरा बढी हुन्छ । हुन त यो शोध गर्नेहरुले सतर्कतापूर्वक यस्तो निष्कर्ष निकालेका हुन् । तिनले के पनि भनेका छन् भने जुन महिलाका हड्डी टुक्रने प्रवृत्ति बढी हुन्छ, तिनले बढीभन्दा बढी दुध पिएको पनि देखिन्छ ।

तर किशोरावस्थामा क्याल्सियमले हाम्रो हाडको विकासमा ठूलो भूमिका खेलेको हुन्छ र त्यसका लागि दुध पिउनु आवश्यक मानिएको छ । त्यो उमेरमा हाम्रो हाड ठीक तरिकाले विकसित हुन सकेन भने वृद्धावस्था वा वयस्क अवस्थामा हड्डीसँग जोडिएका समस्याहरु हुन थाल्नेछन् । खासगरी महिलाहरुलाई यसको कमी बढी महसुस हुने गर्छ ।

मासिक धर्म बन्द भएपछि तिनमा ओस्ट्रोजेन हार्मोन निस्कन बन्द हुन्छ । यसले पनि हाडको मर्मत गर्ने काम सुस्त हुन पुग्छ । त्यसैले महिलामा हाड निकै कमजोर हुन पुग्छ ।

दुध र स्वास्थ्य चिन्ता
हालैका दशकमा दुधका बारेमा अर्को एउटा चिन्ता पनि थपिएको छ । गाईले गर्भावस्थामा दुध दिन्छ । तर त्यो बेला दुधमा ओस्ट्रोजेन हार्मोनको मात्रा २० गुणा बढी हुन्छ । बढी ओस्ट्रोजेनको मात्रा हुनु र क्यान्सरको समस्या थपिनुबीच केही मात्रामा सम्बन्ध रहेको पनि पाइएको छ ।

शोधकर्ताहरुले महिलामा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र गर्भाशयको क्यान्सरजस्ता कुरामा यसको सिधा सम्बन्ध देख्छन् । तर अमेरिकाको विस्किन्सन विश्वविद्यालयकी शोधकर्ता लारा हर्नान्डेस भन्छिन्, ‘गाईको ओस्ट्रोजेनयुक्त दुधबाट डराउनुपर्ने कुनै कुरा छैन । महिलाको दुधमा पनि हार्मोन हुन्छन् । यो त स्तनधारीहरुको एउटा अंग नै हो ।’

दुधमा चिल्लोपनाको मात्रा बढी हुन्छ । यही चिल्लोपनाका कारण बढी दुध पिउनेलाई मुटुको रोग हुने खतरा पनि बढी नै हुन्छ ।

शोधका अनुसार दुधमा ३.५ प्रतिशत चिल्लोपना हुन्छ । शहरमा बेचिने गाईभैंसीको दुधमा रहेको चिल्लोपन पहिल्यै निकालिएको हुन्छ । फेरि अचेल चल्तीमा आउन थालेको चामल, ओट, नरियल, गाँजा, बदाम, सोयाजस्ता अन्नबाट बनाइएका दुधमा पनि चिल्लोपन कम हुन्छ ।

फिनल्यान्ड विश्वविद्यालयकी प्राध्यापक जेरिका विरतानेन भन्छिन्, ‘दुधमा प्रचुर मात्रामा प्रोटिन हुन्छ । जसले बढी दुध पिउँछ, उसको भोक दुधले नै निलिदिन्छ । जसका कारण उनीहरुले अन्य पौष्टिक आहार लिँदैनन् । जसका कारण तिनीहरुमा मुटुको रोग बढ हुने खतरा बढ्छ ।

उनी भन्छिन्, ‘दुध मात्रै पिएर स्वस्थ हुन्छु भन्नु राम्रो संकेत होइन । सन्तुलित मात्रामा लिँदा भने फरक पर्दैन । यहाँसम्म कि जो मानिस दुधको मिठास पचाउन सक्तैनन्, उनीहरुले पनि कहिलेकाहीँ उचित मात्रामा दुध लिन सक्छन् । यो कुरा रिसर्चले पनि प्रमाणित गरिसकेको छ ।’

यसका बाबजुद पनि एउटा ठूलो संख्याले गाई/भैंसीको दुध पिउन मन गर्दैन र अन्य विकल्पतर्फ ध्यान दिइरहेका छन् । यसैका कारण सोया मिल्कको बिक्री हिजोआज बढिरहेको छ ।

सोया मिल्कमा गाईको दुधमा जत्तिकै प्रोटिन हुन्छ । अन्य किसिमका दुधमा कयौँ कमी हुनसक्छन् । यो वयस्कका लागि त ठीक हुनसक्छ तर बालबालिकाका लागि पर्याप्त प्रोटिनको अभावको कारण बन्न सक्छ ।

वैकल्पिक दुध
अमेरिकी पोषण विशेषज्ञ सिना गेलोका अनुसार, वैकल्पिक दुधमा गाईको दुधमा झैँ सबै किसिमका पोषक तत्व पाउन सकिन्छ तर गाईकै दुधमा पाइने जत्तिकै पाइन्छ भन्ने छैन । उदाहरणका रुपमा बदाममा पाइने जुन पोषक तत्व हुन्छन्, त्यो चबाएर खाँदा जति मात्रामा हामीले पाउँछौँ, त्यसैको दुध पिउँदा उत्तिनै मात्रामा नपाइन सक्छ ।
वैकल्पिक दुधमा अतिरिक्त पोषक तत्व मिसाइन्छ ।

जबकि गाईको दुधमा ती सबै तत्व प्राकृतिक तवरमै पाइन्छ । अमेरिकामा गाईको दुध भिटामिन डि मिसाएर बजारमा पठाइन्छ । दुधमा पाइने अन्य तत्व सर्वसाधारणका लागि उति आवश्यक नभएको भन्दै निकाल्ने गरिन्छ । खासगरी चिल्लोपदार्थ त निकाल्न थालेको निकै भइसक्यो । यस्तोमा गाईको दुध पिउनैपर्ने कुनै आवश्यकता वा उपयोगिता रहँदैन किनभने भिटामिन डि त घाम तापेरै पनि पाउन सकिन्छ ।

जानकारहरुका अनुसार, बालबालिकाका लागि वैकल्पिक दुध उति राम्रो विकल्प होइन । त्यसका लागि गाई/भैंसीको दुधभन्दा अन्य विकल्प उत्तम देखिँदैन ।

बेलायती पोषण वैज्ञानिक शार्लोट स्टर्लिङ रिड भन्छिन्, ‘जनताका लागि सरकारले केही गाइडलाइन (निर्देशन) जारी गर्नु जरुरी छ किनभने बालबालिकाका लागि वैकल्पिक दुध उत्तम हो कि होइन, गाई/भैँसीको दुधको विकल्प खोज्ने कि नखोज्ने, पारम्परिक रुपमा पिइरहेको दुधभन्दा वैकल्पिक दुध पिउँदाको अवस्थामा तिनको स्वास्थ्यमा कत्तिको असर पर्छ ? यावत् कुरामा सरकारको ध्यान जानु जरुरी छ ।’

गाईको दुधमा प्राकृतिक रुपमा गुलियो पाइन्छ जबकि वैकल्पिक दुधमा गुलियो मिसाउनु पर्छ । मिसाइएको गुलियो पक्कै पनि स्वास्थ्यका लागि राम्रो हुँदैन ।

बजारमा वैकल्पिक दुधका कयौँ विकल्पहरु आइसकेका छन् । यस्तोमा कुन दुध लिनु सही हो भन्ने तय गर्न ज्यादै गाह्रो हुन थालेको छ । कैयौँ अवस्थामा गलत छनोटले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यस्तोमा तपाईंले सन्तुलित आहार लिइरहनु भएको छ भने प्राकृतिक दुध पिइरहनु भएको छ कि छैन भन्ने कुराले खासै असर पार्दैन । दुध पिउनु र नपिउनुसँग पनि खासै मतलब रहँदैन । सन्तुलित आहार नै स्वास्थ्यका लागि सबैभन्दा राम्रो कुँजी हो ।

 

 

प्रकाशित: १४ माघ २०७६ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App