१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘प्रहरीले प्रतिशोध साँध्यो’

काठमाडौं – आफ्नो गल्ती महसुस गर्दै सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी गायिका आस्था राउतमाथि प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाएको छ। आफूले बोलेको विषयमा राउतले सार्वजनिक रूपमै माफी मागे पनि उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय उपस्थित गराएको हो।

जिल्ला प्रशासन कार्यालयले राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनसँगको सल्लाहमा अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतलाई कारबाहीका लागि म्याद थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए। ‘प्रहरीले अनुसन्धानका लागि ४ दिन समय मागेको थियो, त्यहीअनुसार हामीले राउतलाई हाजिर गराएर पक्राउ पुर्जी दिएका हौं, बाँकी काम प्रहरीले गर्छ।’

गायिका राउतलाई प्रहरी परिसरभित्र राखिएको छ। गायिका राउतले प्रहरीको व्यवहार र कार्यशैलीले विमानस्थलभित्र आफूलाई उत्तेजित बनाएको स्वीकार गरिसकेकी छिन्। तापनि प्रहरीले सो विषयलाई तन्काउँदै गायिका राउलाई हिरासतमै राख्ने कार्यको आलोचना भएको छ। प्रहरीका गलत क्रियाकलापका विषयमा कसैले प्रश्न उठाउन नपाउने सन्देश दिन खोजिएको आशंका व्यक्त गरिएको छ।

प्रहरीले राउतलाई मंगलबार सिरासतमुक्त गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राख्न अनुमति दिए पनि छिट्टै मिलापत्र गराई छाड्ने तयारी गरेको परिसरले बताएको छ।

‘आस्थाले सामान्य गल्ती गरेकै हुन् तर प्रहरीले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको छ। प्रहरी जगतको यो ज्यादती हो,’ गायक बद्री पंगेनीले भने, ‘सामान्य कारबाही गर्नुको साटो यतिका तनाब दिनु राम्रो होइन। भोलि अरू कुनै नागरिक पनि यसैगरी प्रहरी दमनमा पर्न सक्छन्। नियतवश कसैलाई फसाउनु प्रहरी प्रशासनको दादागिरी हो।’

प्रहरीले आफ्नो लोकप्रियताका लागि साना विषय उचाल्न खोजेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगका सूचना अधिकारी टीकाराम पोख्रेलले भने, ‘ठुल्ठुला अभियुक्त उम्किरहेका बेला सामान्य विषयलाई यति धेरै चासो दिनु हँुदैनथ्यो। माफ मागिसकेपछि पनि समात्नु भनेको अलि जर्बजस्ती हो। यद्यपि प्रहरीले अनुसन्धान गर्न पाउँछ। यो सामान्य विषय नै हो।’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले गायिका राउतसँग प्रहरीले प्रतिशोध लिएको सुनाए। प्रहरीको यस्तो प्रवृत्तिले समाजमा झन्झन् डर पैदा गर्ने उनको धारणा छ।

प्रहरीले पक्राउ परेकी राउतलाई मंगलबार सिरासतमुक्त गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राख्न अनुमति दिए पनि प्रहरीले छिट्टै मिलापत्र गराई छाड्ने तयारी गरेको परिसरले बताएको छ। ‘नियतवश थुनिएको होइन, प्रहरीमाथि प्रयोग गरेको भाषा ठिक भएन, त्यसकारण सामान्य कारबाही अघि बढेको हो, मंगलबार प्रहरी महिला र राउतबीच मिलापत्र गर्छौं,’ परिसरका एसपी अशोक सिंहले भने। उनका अनुसार सोमबार मिलापत्र गराउन समय पर्याप्त नभएकाले मंगलबार दुवै पक्षबीच मिलापत्र गर्न लागिएको हो।

माघ २ गते काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका राउतले विमानस्थलको सुरक्षामा खटिएका प्रहरीमाथि दुव्र्यहार गर्नुका साथै सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै प्रहरी संगठनविरुद्ध लाञ्छना लगाएकी थिइन्। त्यसैलाई आधार बनाउँदै सुरक्षार्थ खटिएको प्रहरीको किटानी जाहेरीको आधारमा राउतलाई पक्राउ गर्न प्रहरीले माघ ५ गते पुर्जी जारी गरेको थियो।

प्रहरी जवान रमिता श्रेष्ठले ड्युटीका क्रममा आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिएकी थिइन्। त्यसलगत्तै गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पुर्जी दिएको थियो। राउतले विमानस्थलभित्र प्रहरीले चेकिङ गरेको सामान्य विषयलाई लिएर प्रहरी संगठनको चरित्रमाथि प्रश्न उठाउँदै अपशब्द बोलेकी थिइन्। प्रहरीमाथि आक्रोस पोख्दै फेसबुक लाइभमा आएकी राउतले प्रहरीको सर्वत्र आलोचना पनि गरेकी थिइन्। प्रहरीका तल्लो दर्जाका कर्मचारीलाई होच्याउँदै राउतले प्युसो, प्युपा, सिपाही, हल्दार, जम्दार, डन्ठे र बन्दुके जस्ता अपशब्द प्रयोग गरेकी थिइन्।

प्रकाशित: १४ माघ २०७६ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App